यी हुन् विश्वकप क्वार्टरफाइनलका चार रोमाञ्चक भिडन्त

हिमाल प्रेस २४ असार २०८३ १७:२९ | Wednesday, July 8, 2026
70
SHARES
यी हुन् विश्वकप क्वार्टरफाइनलका चार रोमाञ्चक भिडन्त

जारी फिफा विश्वकपले अहिलेसम्म थुप्रै अविस्मरणीय खेलहरू दिएको छ। अब प्रतियोगिता क्वार्टरफाइनलमा प्रवेश गर्दा अन्तिम आठ टोलीबीचको प्रतिस्पर्धा झन् रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

युरोपका ६ टोली तथा अफ्रिका र दक्षिण अमेरिकाका एकएक टोली गरी आठ राष्ट्रले सेमिफाइनल पुग्ने लक्ष्यसहित बिहीबार सुरु हुने चार रोमाञ्चक खेल खेल्नेछन्।

चारै खेलमा आआफ्नै आकर्षण छ। चारै खेल अमेरिकाका विभिन्न सहरमा हुनेछन्। त्यसो भए, क्वार्टरफाइनलका यी चार खेलमा के-कस्ता भिडन्त हेर्न पाइनेछ?

२०२२ को सेमिफाइनलको पुनरावृत्ति, फ्रान्स र मोरक्को [बोस्टन स्टेडियम, शुक्रबार बिहान पौने २ बजे]

कतार विश्वकप २०२२ मा मोरक्कोको सेमिफाइनल यात्रा धेरैका लागि आश्चर्य थियो। तर अमेरिकामा जारी विश्वकपमा यो टोली अब ‘अन्डरडग’ मात्र छैन, बलियो दाबेदारका रूपमा उभिएको छ।

अफ्रिका कप अफ नेसन्सको विजेता मोरक्कोले क्यानडाविरुद्धको खेलमा चार वर्षअघि फ्रान्ससँग सेमिफाइनल हार्ने टोलीका चार खेलाडीलाई मात्र मैदानमा उतारेको थियो।

गति, आत्मविश्वास र आक्रामक शैलीमा खेल्ने मोरक्को फ्रान्सका लागि अहिलेसम्मकै सबैभन्दा कठिन प्रतिद्वन्द्वी बन्ने अपेक्षा गरिएको छ।

सन् २०२२ को उपविजेता फ्रान्सको टोलीमा पनि ठूलो परिवर्तन आएको छ। डीडीए डेसाँको टोलीमा डिफेन्डर विलियम सालिबा र सिर्जनात्मक मिडफिल्डर माइकल ओलिसेजस्ता नयाँ अनुहारले टोलीलाई थप बलियो बनाएका छन्।

किलियन एमबाप्पे अझै पनि फ्रान्सका मुख्य हतियार हुन्। उनी गोल्डेन बुट र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा अर्जेन्टिनाका लियोनल मेस्सीसँग प्रतिस्पर्धामा छन्।

यस शताब्दीमा फ्रान्सले विश्वकपमा बेहोरेका ६ हारमध्ये ३ हार अफ्रिकी टोलीसँग भएका छन्। मोरक्को पछिल्ला ३४ खेलमा अपराजित छ। यद्यपि मोरक्कोले फ्रान्सलाई अहिलेसम्म कहिल्यै हराउन सकेको छैन। फ्रान्सले लगातार सात तथा पछिल्ला १२ मध्ये ११ खेल जितेको छ।

आक्रमण र रक्षाको रोचक परीक्षा : स्पेन र बेल्जियम [लस एन्जलस स्टेडियम, शनिबार बिहान पौने १ बजे]

बेल्जियमले यस विश्वकपमा १३ गोल गरिसकेको छ, जुन अर्जेन्टिना र फ्रान्स (१४-१४ गोल) पछि तेस्रो उच्च संख्या हो। न्युजिल्यान्ड, सेनेगल र अमेरिकाविरुद्ध बेल्जियमले खुला आक्रमण गर्दै प्रभावशाली प्रदर्शन गरेको छ।

रोमेलु लुकाकुले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै तीन गोल गरिसकेका छन् भने आर्सनलका लिआन्ड्रो ट्रोसार्डले दुई गोल र दुई असिस्ट गरेका छन्।

तर स्पेन बेल्जियमका लागि अहिलेसम्मकै सबैभन्दा कठिन चुनौती हुनेछ।

स्पेनले यस विश्वकपमा एक गोल पनि खाएको छैन। लगातार छ खेल ‘क्लिन सिट’ राख्दै उसले विश्वकप इतिहासकै सबैभन्दा लामो यस्तो शृंखला बनाएको छ।

स्पेनले प्रत्येक खेलमा औसत ०.३ मात्र ‘एक्स्पेक्टेड गोल्स अगेन्स्ट’ अनुमति दिएको छ, जुन सन् १९६६ देखि उपलब्ध तथ्यांकअनुसार सबैभन्दा उत्कृष्ट प्रदर्शन हो।

प्रशिक्षक लुइस डे ला फुएन्टेको नेतृत्वमा स्पेनले विश्वकप वा युरोकपका सबै ६ नकआउट खेल जितेको छ। स्पेन सन् २०१० पछि पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा पुगेको हो।

स्पेन बेल्जियमविरुद्ध पछिल्ला ११ खेलमा अपराजित छ। यसमा नौ जित र दुई बराबरीमा सकिएको थियो।

दुई महान् स्ट्राइकरको भिडन्त : नर्वे र इंगल्यान्ड [मियामी स्टेडियम, आइतबार बिहान पौने ३ बजे]

नर्वेका गोलमेसिन एर्लिङ हालान्डले चार खेलमा सात गोल गर्दै विश्वकपमा सनसनी मच्चाइरहेका छन्।

ब्राजिलविरुद्ध अन्तिम १६ मा दुई गोल गर्दै उनले पाँचपटकको विश्वविजेतालाई बाहिर पठाएका थिए।

म्यानचेस्टर सिटीका यी स्ट्राइकरले अन्तर्राष्ट्रिय फुटबलमा ५४ खेलमा ६२ गोल गरेका छन्। पछिल्ला १४ लगातार अन्तर्राष्ट्रिय खेलमा उनले २७ गोल गरेका छन्।

तर गोल्डेन बुटको दौडमा हालान्डभन्दा एक गोलले पछि छन् इंगल्यान्डका कप्तान ह्यारी केन।

मेक्सिकोविरुद्ध निर्णायक पेनाल्टी गोल गरेका केनले सन् २०२५-२६ मा क्लब र देशका लागि गरी ७३ गोल गरेका थिए।

१४ विश्वकप गोलसहित उनी इंगल्यान्डका सर्वाधिक विश्वकप गोलकर्ता बनेका छन्।

इंगल्यान्ड ११औँ पटक विश्वकप क्वार्टरफाइनल खेल्दै छ। ब्राजिल र जर्मनी (१४-१४ पटक) मात्र उसभन्दा अघि छन्। तर इंगल्यान्डले क्वार्टरफाइनलका केवल तीन खेल मात्र जितेको छ।

नर्वे भने पहिलोपटक कुनै ठूलो प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो। विश्वकपका सबै खेलमा गोल गर्दै र गोल खाँदै सेमिफाइनल पुग्ने उपलब्धि यसअघि सन् १९५४ मा पश्चिम जर्मनीले हासिल गरेको थियो।

अर्जेन्टिनाले फेरि चमत्कार दोहोर्‍याउन सक्ला? [कान्सास सिटी स्टेडियम, बिहान पौने ७ बजे]

साविक विजेता अर्जेन्टिना लगातार तेस्रो नकआउट खेलमा स्पष्ट दाबेदारका रूपमा मैदान उत्रिनेछ। तर उसको यात्रा सहज भने भएको छैन।

अन्तिम ३२ मा कमजोर मानिएको केप भर्डेसँग अतिरिक्त समयमा पुगेको अर्जेन्टिनाले त्यसपछि इजिप्टविरुद्ध विश्वकप इतिहासकै सबैभन्दा ढिलो पुनरागमन गर्दै ३-२ को जित निकालेको थियो। पराजित इजिप्टले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै आफूहरूमाथि अन्याय भएको दाबी गरेको थियो।

मुराट याकिनको नेतृत्वमा स्विट्जरल्यान्ड पनि निकै अनुशासित टोलीका रूपमा देखिएको छ। २० वर्षीय प्रतिभाशाली जोहान माजाम्बी टोलीका आकर्षक खेलाडी हुन्, यद्यपि चोटका कारण उनले कोलम्बियाविरुद्धको पेनाल्टी सुटआउट खेलेनन्।

सन् १९५४ पछि पहिलोपटक विश्वकप क्वार्टरफाइनल पुगेको स्विट्जरल्यान्डले पनि अर्जेन्टिनालाई चुनौती दिने विश्वास राखेको छ।

विश्वकपमा आफ्नो गौरवपूर्ण कीर्तिमानबीच लियोनल मेस्सीले इजिप्टविरुद्ध दुई पेनाल्टी गुमाउने पहिलो खेलाडी बन्ने अवाञ्छित कीर्तिमान पनि बनाए।

यद्यपि सोही खेलमा गरेको गोलसँगै उनले गोल्डेन बुटको दौडमा किलियन एमबाप्पेलाई उछिन्दै आठ गोलसहित शीर्ष स्थानमा आफूलाई स्थापित गरेका छन्। बीबीसीबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast