रोए अर्जेन्टिनी प्रशिक्षक स्कालोनी, पत्रकार सम्मेलन बीचमै छाडेर हिँडे

हिमाल प्रेस ४ साउन २०८३ १०:५४ | Monday, July 20, 2026
रोए अर्जेन्टिनी प्रशिक्षक स्कालोनी, पत्रकार सम्मेलन बीचमै छाडेर हिँडे

स्पेनसँग फिफा विश्वकप २०२६ को फाइनलमा पराजित भएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी पत्रकार सम्मेलनमै भावुक बनेका छन्। आफ्नो भविष्यबारे बोल्ने क्रममा उनी आँसु रोक्न नसकी पत्रकार सम्मेलन बीचमै छाडेर बाहिरिएका हुन्।

४८ वर्षीय स्कालोनी सन् २०२२ मा कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएपछि लगातार दोस्रो पटक उपाधि जिताउने इतिहासका दोस्रो प्रशिक्षक बन्ने लक्ष्यमा थिए। तर युरोपेली च्याम्पियन स्पेनले अतिरिक्त समयमा फेरान टोरेसको निर्णायक गोलमार्फत १-० को जित निकाल्दै अर्जेन्टिनाको उपाधि रक्षा गर्ने सपना चकनाचुर बनाइदियो।

डिसेम्बरसम्म मात्र सम्झौता रहेका स्कालोनीलाई पत्रकार सम्मेलनमा भविष्यबारे प्रश्न सोधिएको थियो। त्यसक्रममा उनी निकै भावुक देखिए। उनले भने,‘म अध्यक्षसँग छलफल गर्नेछु। मैले के गर्न चाहन्छु भन्नेबारे मेरो आफ्नै सोच छ। अहिलेका लागि म सम्झौताअनुसारको जिम्मेवारी पूरा गर्छु। यस्तो ठूलो उपलब्धि फेरि सम्भव छ कि छैन भन्नेबारे हामीले गम्भीर रूपमा कुरा गर्नुपर्छ।’

स्कालोनीले अर्जेन्टिना फुटबल संघका अध्यक्षप्रति आभार व्यक्त गर्दै आफूलाई राष्ट्रिय टोलीको जिम्मेवारी दिने अवसर जीवनकै ठूलो सपना भएको बताए।

‘म अध्यक्षप्रति आभारी छु। यहाँसम्म पुग्ने अवसर पाउनु मेरा लागि सपना पूरा हुनुजस्तै थियो। प्रशिक्षक टोली र खेलाडीहरूले अन्तिम क्षणसम्म आफ्नो सम्पूर्ण शक्ति लगाए। अब भने केही समय आफैंका लागि निकालेर भविष्यबारे सोच्ने आवश्यकता महसुस भएको छ,’उनले भने।

बोल्दाबोल्दै भावुक बनेका स्कालोनीले आँसु पुछ्दै भने,‘मलाई साथ दिनुहोस्, मलाई थाहा छैन म यो जिम्मेवारीमा निरन्तर रहन सक्छु कि सक्दिन।’

उनले अर्जेन्टिनी टोलीलाई पुनः यही स्तरमा तयार गर्नु निकै कठिन चुनौती भएको पनि स्वीकार गरे।

‘यो स्थान अद्भुत छ, सपनाजस्तै हो। हामी र हाम्रो प्रशिक्षक टोलीले यहाँसम्म पुग्ने कल्पना पनि गरेका थिएनौं। तर अगाडि बढ्न मन, सोच र ऊर्जा फेरि नयाँ बनाउनुपर्छ। यस्तै टोली फेरि निर्माण गर्नु अत्यन्त कठिन हुन्छ,’ उनले भने।

स्कालोनी पत्रकारहरूसँग माफी माग्दै पत्रकार सम्मेलन बीचमै उठेर बाहिरिए। ‘यो निकै पीडादायी क्षण हो। म साँच्चै दुःखी छु,’ भन्दै उनले पत्रकार सम्मेलन टुंग्याएका थिए।

प्रकाशित: ४ साउन २०८३ १०:५४ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast