सन् २०२६ फिफा विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डमाथि अर्जेन्टिनाले जित हासिल गरेपछि ब्युनस आयर्सस्थित ओबेलिस्क क्षेत्रमा अर्जेन्टिनी समर्थकहरूले विजय उत्सव मनाउँदै। तस्बिर : लुइस रोबायो/एएफपी
काठमाडौँ- विश्वकप सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि फल्कल्यान्ड (माल्भिनास) द्वीपसमूहसम्बन्धी राजनीतिक सन्देशसहितको ब्यानर प्रदर्शन गरेका कारण अर्जेन्टिनामाथि फिफाले अनुशासनात्मक कारबाही गर्न सक्ने भएको छ।
विश्वकपको साविक विजेता अर्जेन्टिनाले अमेरिकाको एटलान्टामा भएको सेमिफाइनलमा अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २-१ ले पराजित गरेको थियो। यस जितसँगै अर्जेन्टिनाले आइतबार हुने फाइनलमा स्पेनसँग भेट पक्का गरेको छ।
बीबीसीका अनुसार खेल सकिएपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘फल्कल्यान्ड अर्जेन्टिनाकै हो’ भन्ने सन्देश लेखिएको ब्यानर बोकेर विजय उत्सव मनाएका थिए।
दक्षिण-पश्चिम एटलान्टिक महासागरमा रहेको फल्कल्यान्ड द्वीपसमूह बेलायतको विदेशी क्षेत्र भए पनि यसको सार्वभौमिकतालाई लिएर बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि विवाद रहँदै आएको छ।
सन् १९८२ को अप्रिलदेखि जुनसम्म यी दुई देशबीच फल्कल्यान्ड द्वीपसमूहमाथिको नियन्त्रणका लागि ७४ दिनसम्म युद्ध भएको थियो।
अर्जेन्टिनाको पूर्वी तटबाट करिब ३०० माइल टाढा रहेको उक्त द्वीपसमूहको युद्धमा ६५५ अर्जेन्टिनी र २५५ बेलायती सैनिकको मृत्यु भएको थियो भने द्वीपका तीन स्थानीय बासिन्दाले पनि ज्यान गुमाएका थिए।
बीबीसीका अनुसार सन् २०१४ मा पनि स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि अर्जेन्टिनाका खेलाडीहरूले यही सन्देश भएको ब्यानर प्रदर्शन गरेपछि फिफाले अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउण्ड जरिवाना गरेको थियो।
फिफाले त्यसबेला उक्त कार्यलाई राजनीतिक गतिविधि तथा टोलीको आचरणसम्बन्धी नियम उल्लंघन भएको ठहर गरेको थियो।
यसपटकको जितपछि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएलले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा अर्जेन्टिनी सैनिकहरूको भिडियो साझा गर्दै ‘यो केवल अर्को फुटबल खेल थिएन’ भन्ने टिप्पणी गरेकी थिइन्।
उनले आफ्नो पोस्टमा ‘फल्कल्यान्ड अर्जेन्टिनाकै हो। उनीहरूले स्टेडियममा त्यो सन्देश लैजान रोक लगाए तर हामी त्यसलाई आफ्नै रगत र हृदयमा बोकेका छौँ’ भनेर लेखेकी थिइन्।
खेलअघि पनि भिल्लारुएलले सेमिफाइनललाई ‘आक्रमणकारीलाई उनीहरूको स्थान देखाउने अवसर’ को रूपमा व्याख्या गरेकी थिइन्।
यसअघि अन्तिम १६ को खेलमा इजिप्टलाई ३-२ ले पराजित गरेपछि पनि अर्जेन्टिनाका खेलाडीहरूले फल्कल्यान्डसँग सम्बन्धित नारा लगाउनुका साथै अर्जेन्टिनाका फुटबल महानायक डिएगो म्याराडोना र लियोनल मेस्सीको नामसमेत समेटिएका गीत गाएका थिए।
तर सेमिफाइनलअघि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फुटबल र राजनीतिलाई एकै ठाउँमा नमिसाउने बताएका थिए।
स्कालोनीले भनेका थिए,‘यो एउटा फुटबल खेल हो। धेरै वर्षअघि भएको घटनाप्रति सम्मानका कारण पनि म फुटबल र राजनीतिलाई मिसाउन चाहन्न। त्यो हाम्रो इतिहासको अत्यन्त दुःखद अध्याय थियो र त्यसबारे अहिले हामीले धेरै गर्न सक्दैनौँ।’
उनले विश्वका विभिन्न स्थानमा अझै पनि युद्ध भइरहेकाले युद्धको अस्तित्वको आलोचना गर्नुपर्ने बताउँदै ती घटनामा ज्यान गुमाउनेहरूलाई सम्मान गर्नुपर्ने भए पनि फुटबल र राजनीतिक विवादलाई एउटै रूपमा हेर्न नहुने धारणा व्यक्त गरेका थिए।
बीबीसीले उल्लेख गरेअनुसार इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको ऐतिहासिक तनावलाई ध्यानमा राख्दै एटलान्टामा सम्पन्न उक्त सेमिफाइनल खेल कडा सुरक्षा व्यवस्थाबीच आयोजना गरिएको थियो। खेलमा अर्जेन्टिनाले अन्तिम समयमा एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको गोलमार्फत २-१ को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो।


