बैतडी- बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको संख्या २० पुगेको छ।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो ३ः३० बजे बैतडीको पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो। दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले बताए।
उनका अनुसार पाटन–६ का ३१ वर्षीय दीपक विक, नाम नखुलेका पाटन–८ का अन्दाजी ६० वर्षीय पुरुष र परिचय नखुलेकी अन्दाजी ५५ वर्षीया महिला गम्भीर घाइते भएका छन्। गम्भीर घाइतेको टाउकोमा चोट लागेको उनले जानकारी दिए।
प्रहरी निरीक्षक तिमिल्सेनाले घाइतेमध्ये ९ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाउँदै दुई जनालाई धनगढी पठाइएको उल्लेख गरे।
बाँकी ९ जनालाई उपचारका लागि डडेल्धुरातर्फ लगिएको उनले बताए। दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।




