काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल, विराटनगरका तत्कालीन सहपरीक्षा नियन्त्रक तथा हाल डिग्री क्याम्पस विराटनगरमा कार्यरत सहप्राध्यापक डिल्लीराम प्रसाई समेतविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार प्रतिवादीहरूले परीक्षाको नतिजा फेरबदल गरेको, नपाएको ओहदा प्राप्त गरेको तथा गलत प्रतिवेदन दिएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा विशेष अदालत, काठमाडौँले २०८२ माघ २८ गतेको फैसलाबाट आंशिक सफाइ दिएको थियो।
विशेष अदालतको उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले असार ८ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको जनाएको छ। आयोगले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐनको दफा १३, १५ तथा मतियारसम्बन्धी व्यवस्थाअनुसार सजायको माग गर्दै आरोपपत्र दायर गरेको थियो।




