सोमबार एटलान्टामा भएको विश्वकप समूह एच फुटबल खेलमा स्पेनका पाउ कुबार्सीले केप भर्डे विरुद्ध गोल गर्ने प्रयास गर्दै। तस्बिर : एपी/रासस/कोलिन हबर्ड
विश्वकप फुटबलमा पहिलोपटक सहभागी भएको केप भेर्डेले सोमबार युरोपियन च्याम्पियन स्पेनलाई ०–० को बराबरीमा रोक्दै ठूलो उपलब्धि हासिल गरेको छ। अटलान्टामा भएको खेलमा अनुभवी गोलरक्षक भोजिन्हाको उत्कृष्ट प्रदर्शनले केप भेर्डेलाई ऐतिहासिक एक अंक दिलायो।
खेलका केही रोचक कुरा
१. ४० वर्षको उमेरमा विश्वकप डेब्यु
पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेसबाट खेल्ने भोजिन्हाले जुन ३ मा ४० वर्ष पूरा गरेका थिए। उनी विश्वकपमा डेब्यु गर्ने दोस्रो सबैभन्दा वृद्ध खेलाडी बने।
यसअघि सन् २०१८ मा इजिप्टका गोलरक्षक एसाम एल हदारीले ४५ वर्ष १६१ दिनको उमेरमा विश्वकप डेब्यु गरेका थिए।
स्पेनले खेलभर २७ प्रहार गर्दा भोजिन्हाले सात उत्कृष्ट बचाउ गरे। सन् १९६६ यता ४० वर्ष वा सोभन्दा माथिका गोलरक्षकमध्ये विश्वकप खेलमा यसभन्दा बढी बचाउ गर्ने एक मात्र खेलाडी उत्तरी आयरल्यान्डका प्याट जेन्निङ्स हुन्। उसले १९८६ मा ब्राजिलविरुद्ध आफ्नो ४१औँ जन्मदिनमा १० बचाउ गरेका थिए।
२. एक फाउल
केप भेर्डेको अनुशासित प्रदर्शनको अर्को उदाहरण भनेको उनीहरूले खेलभर केवल एक फाउल मात्र गरेका थिए। सन् १९६६ यता विश्वकप इतिहासमा कुनै टोलीले यति कम फाउल गरेको यो पहिलो घटना हो। पहिलो हाफमा सिड्नी लोपेस काब्रालले गरेको त्यो एक मात्र फाउलका लागि पहेँलो कार्डसमेत पाए।
३. वरीयताले केही निर्धारण गर्दैन
फिफा विश्व वरीयतामा स्पेन र केप भेर्डेबीच ६५ स्थानको अन्तर छ। तर विश्वकप इतिहासमा यति ठूलो वरीयता अन्तर भएको खेलमा उच्च वरीयताप्राप्त टोलीले जित्न नसकेको यो पहिलो घटना बनेको छ।
४. पास धेरै, गोल शून्य
स्पेनले विश्वकपमा पछिल्लोपटक गोल गरेको क्षण कतार विश्वकपमा जापानविरुद्धको समूह चरणको खेलको ११औँ मिनेट थियो जहाँ अल्भारो मोराटाले हेडरमार्फत गोल गरेका थिए। त्यसयता स्पेनले ४९ प्रहार गरेको छ र २,५०० भन्दा बढी पास पूरा गरेको छ तर गोल गर्न सकेको छैन।
जापानविरुद्धको उक्त खेलपछि स्पेन मोरक्कोसँग अन्तिम १६ मा ०–० को बराबरीमा रोकिएको थियो र पेनाल्टीमा पराजित भएको थियो। अहिले केप भेर्डेविरुद्ध पनि गोलरहित बराबरीमा रोकियो।
५. स्पेनको कमजोर सुरुवाको इतिहास
विश्वकपमा स्पेनले सुरुवाती खेलमा राम्रो नतिजा निकाल्न नसक्ने पुरानो प्रवृत्ति दोहोरिएको छ। पछिल्ला १५ विश्वकप सहभागितामध्ये स्पेनले पहिलो खेल केवल तीन पटक मात्र जितेको छ। पाँच खेल बराबरी र सात खेलमा हार बेहोरेको छ।
यद्यपि ती सात हारमध्ये एक सन् २०१० मा आएको थियो जुन वर्ष स्पेनले पहिलो पटक विश्वकप उपाधि जितेको थियो। तर त्यसयता विश्वकपमा स्पेनको यात्रा प्रभावशाली रहन सकेको छैन। २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ र २०२२ दुवै विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो।
सन् २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई हराएयता विश्वकपमा स्पेनले १२ खेल खेलेको छ। उसमा तीन खेल मात्र जित्न सकेको छ।




