काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा लुम्बिनी प्रदेशको सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। शनिबार नयाँ नेतृत्वका लागि ६ जनाका बीचमा प्रतिस्पर्धा भएको थियो। पार्टीको विधानअनुसार शनिबार भएको मतदानबाट कसैले पनि आवश्यक बहुमत अर्थात ५१ प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन्। त्यसैले ६ प्रतिस्पर्धीमध्ये बढी मत प्राप्त गर्ने दुई जनाका बीचमा फेरि आइतबार दोस्रो चरणको मतदान गर्ने तयारी थालिएको थियो।
मतदानबाट ६ प्रतिपस्र्धीमध्ये सबैभन्दा बढी मत १९९ शालिकराम घिमिरेले प्राप्त गरेका थिए। उनीपछि बढी मत प्राप्त गर्ने व्यक्ति गोपाल घिमिरे थिए। गोपालले ८७ मत प्राप्त गरेका थिए। आइतबार गोपालले सबै भन्दा बढी मत प्राप्त गरेका शालिकरामलाई नै नेतृत्व मान्न तयार भएपछि फेरि निर्वाचन गर्नु नपरेको निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए।
शालिकराम यसअघि पनि प्रदेश उपसभापति थिए भने गोपाल केन्द्रीय संगठन विभाग सदस्य हुन्। शनिबार बेलुकी अबेर भएको मतदान बाट रूपन्देहीकै गणेश पौडेल तेस्रो स्थानमा थिए। उनले ८४ मत प्राप्त गरे। पौडेल २०७९ मा एमाले नेता विष्णु पौडेलसँग चुनावमा भिडेका व्यक्ति हुन्। उनी केन्द्रीय मानवअधिकार विभाग सदस्य पनि हुन्। चौथो स्थानमा डा। राजकुमार सुबेदीको मत थियो। उनले ८० मत प्राप्त गरे। सुबेदी प्रदेश प्रशिक्षण विभाग प्रमुखपनि हुन्। ७१ म प्राप्त गरि मञ्जु भुसाल ५औं स्थानमा आइन्। रूपन्देहीकी उनी समानुपातिक सांसद पनि हुन्।
रुपन्देही– ३ का क्षेत्रीय सभापति र भौतिक पूर्वाधार मन्त्रालयका सल्लाहकार अर्यालले जम्मा १९ मत प्राप्त गरेका थिए। दाङको घोराहीस्थित उद्योग वाणिज्य संघमा शनिबार भएको मतदानमा कुल ५५२ मत खसेको थियो।
निर्वाचनबाट समावेशी समूह थारू सदस्यतर्फ २७५ मत प्राप्त गरी बिहारी चौधरी, २८३ मत प्राप्त गरी गोविन्दबहादुर थारू निर्वाचित भएका छन्। प्रतिस्पर्धीमध्ये गयाप्रशाद थारूले २०५ मत प्राप्त गरे पनि विजयी हुन सकेनन्।
समावेशी समूह मधेसी सदस्यतर्फ गौतमप्रसाद पाण्डे २२३ र सञ्जयकुमार गुप्ता २१५ मत प्राप्त गरी निर्वाचित भएका छन्। प्रतिस्पर्धीमध्य आनन्दप्रशाद बर्मा १७३, सत्यनारायण बर्मा १३२ र बाबुराम यादवले ९३ मत प्राप्त गरेका थिए। समावेसी समूह मधेसी सदस्यमा नौसिन खातिमा भने निर्विरोध निर्वाचित भएकी थिइन्।
त्यस्तै समावेशी समूह खस आर्य सदस्यमा ८ जना भने निर्विरोध निर्वाचित भएका थिए। क्षेत्रगत सदस्यतर्फ अधिकांश पदमा मतदानमार्फत निर्वाचित भएका छन्।




