नेपाल-चीन र जापान जोड्ने त्यो सगरमाथा कूटनीति

हिमाल प्रेस १८ जेठ २०८३ २१:४९ | Monday, June 1, 2026
32
SHARES
नेपाल-चीन र जापान जोड्ने त्यो सगरमाथा कूटनीति

चीन र जापानबीच पूर्वी चीन सागरको द्वीप विवाद, इतिहासका पुराना घाउ, सुरक्षा प्रतिस्पर्धा र क्षेत्रीय शक्ति सन्तुलनको खेलले सम्बन्ध बारम्बार तनावपूर्ण बन्ने गरेको छ। विगतमा त  दुई देशबीच झनै  तिक्तता थियो। यदाकदा न्यानो हुन खोज्ने तर पुराना घाउले दुवैलाई तनाव दिने हुँदा अहिलेसम्म सम्बन्ध  राम्रो भएको देखिँदैन।

ती दुई देशबीच विगतको तिक्ततामा नेपालले निर्वाह गरेको भूमिका स्मरणयोग्य छ। सन् १९८८ मा यहाँको नेतृत्वले चीन र जापानका टोलीलाई एकसाथ सगरमाथा आरोहण गराएको थियो। दुई देशका नेताको निजी सम्पर्कबाट राष्ट्रहितमा कुरा हुँदा त्यो सम्भव भएको इतिहासमा पढ्न पाइन्छ।

नेपालले दुई ठूला एसियाली शक्तिलाई सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा एउटै टोली बनाएर ऐतिहासिक र अनुपम कूटनीतिक सफलता हासिल गरेको थियो।  एकअर्कालाई भेट्नसमेत नचाहने जापान र चीनका अधिकारीसँग कुरा गरेर नेपालले दुवैतर्फबाट सगरमाथा चढाउने कार्य अघि बढाएको थियो। त्यो नेपालको कूटनीतिक इतिहासमा अत्यन्त मिठो, सिर्जनात्मक, दूरदर्शी र स्मरणीय घटना बन्न पुग्यो। यद्यपि त्यो  अभियान हिमाल आरोहणको साहसिक कार्यक्रम थिएन।

सानो (भारत र चीनको बीचमा सानो तर विश्वमा तुलना गर्दा मध्यम स्तरको) देश नेपालले आफ्नो भूराजनीतिक संवेदनशील स्थान, अन्तर्राष्ट्रिय विश्वासयोग्य छवि, कल्पनाशील सोच र सक्रिय कूटनीतिक पहलकदमीको प्रयोग गरेर दुई ठूला देशबीच सद्भाव, संवाद र सहकार्यको सुन्दर वातावरण निर्माण गर्न सकिन्छ भन्ने जीवन्त प्रमाण प्रस्तुत गरेको थियो। यसले नेपालको मित्रताको सेतु निर्माण गर्ने कूटनीति र नरम शक्ति कूटनीतिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको थियो। यो घटनालाई विश्व समुदायले साना राष्ट्रले कसरी ठूला शक्तिहरूबीच सन्तुलित भूमिका खेल्न सक्छन् भन्ने उदाहरणका रूपमा हेरेको थियो।

एसियाली शताब्दीको सपना र नेपालको मौका

सन् १९८० को दशकको अन्त्यतिर विश्व राजनीतिमा एउटा नयाँ धारणा बलियो हुँदै थियो। ‘एक्काइसौँ शताब्दी एसियाको शताब्दी हुनेछ’ भन्ने चर्चा चारैतिर फैलिएको थियो। जापान त्यतिबेला आर्थिक महाशक्तिका रूपमा उदाउँदै थियो। जापानी प्रविधि, उद्योग र निर्यातले विश्व बजारलाई प्रभावित पारिरहेको थियो। अर्कोतिर चीनले देङ सियाओपिङको नेतृत्वमा सुधार र खुलापन नीति लागू गरेर तीव्र आर्थिक विकासको बाटो समात्दै थियो। तर यी दुई देशबीच इतिहासका पुराना घाउ थिए।

दोस्रो विश्वयुद्धमा जापानले चीनमाथि गरेको आक्रमण, नान्जिङ हत्याकाण्डजस्ता घटनाले चिनियाँ जनमानसमा गहिरो चोट पुर्‍याएका थिए। पूर्वी चीन सागरमा रहेका द्वीपहरूको विवाद, राष्ट्रियतावादी भावना र क्षेत्रीय सुरक्षा प्रतिस्पर्धाले उनीहरूको सम्बन्धलाई बेलाबेला कठिन बनाइरहेको थियो।

यही बेला नेपालले आफूलाई निष्पक्ष मित्र र पुलका रूपमा प्रस्तुत गर्ने राम्रो अवसर पायो। नेपाल दुवै देशसँग राम्रो सम्बन्ध कायम राख्ने देश थियो। चीनसँग सगरमाथा साझा गर्ने छिमेकी र जापानसँग विकास सहयोगको लामो इतिहास थियो। मित्रताबाट जन्मिएको ऐतिहासिक अवधारणाअनुसार १९८७ मा जापानका यातायातमन्त्री रियोतारो हासिमोतो नेपालको औपचारिक भ्रमणमा आए।

उनी नेपालका पर्यटनमन्त्री रमेशनाथ पाण्डेका पुराना मित्र भएका कारण नेपाल आएको पूर्व परराष्ट्रमन्त्री पाण्डेको पुस्तकमा पढ्न पाइन्छ। दुवै नेताले अन्तर्राष्ट्रिय राजनीति र एसियाली सहकार्यमा गहिरो रुचि राख्थे। काठमाडौँको शान्त वातावरणमा भएको उनीहरूको लामो भेटघाट र छलफलले एउटा रोचक र साहसिक विचार जन्मायो।

‘के चीन, जापान र नेपालले संयुक्त रूपमा सगरमाथा आरोहण गर्न सक्दैन’ यो प्रश्नबाट सुरु भएको यो अवधारणा चाँडै ठूलो योजनामा परिणत भयो। सगरमाथा सर्वोच्च शिखर, मानव आकांक्षाको प्रतीक, नेपाल र चीनको साझा प्राकृतिक सम्पदा र एसियाली एकताको सम्भावनाको जीवन्त प्रतीक हो।

त्यो विचार सामान्य साहसिक अभियानभन्दा धेरै माथि थियो। यसले राजनीतिक मतभेदलाई पार गरेर साझा उपलब्धि निर्माण गर्ने कूटनीतिक दृष्टिकोण बोकेको थियो। पाण्डेले यो अवधारणालाई आफ्नो मन्त्रालयबाट अघि बढाए। उनीहरूले यसलाई पर्यटन प्रवर्द्धनका रूपमा होइन, उच्चस्तरीय कूटनीतिक पहलका रूपमा हेरे। जापानी पक्ष पनि यो विचारप्रति उत्साहित भयो किनकि जापानले एसियामा आफ्नो सकारात्मक छवि निर्माण गर्न चाहन्थ्यो।

नेपालको सक्रिय कूटनीतिक नेतृत्व र तयारी

नेपालले यो विचारलाई कागजी प्रस्तावमा मात्र सीमित राखेन। परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, चीन र जापानस्थित नेपाली दूतावास तथा अन्य सरकारी निकायहरूबीच उत्कृष्ट समन्वय कायम भयो। सानो देशका लागि यस्तो बहुपक्षीय र ठूलो परियोजना व्यवस्थापन गर्नु अत्यन्त चुनौतीपूर्ण थियो।

बजेट, प्राविधिक तयारी, सुरक्षा, स्वास्थ्यजस्ता धेरै पक्ष व्यवस्थापन गर्नुपर्थ्यो। नेपालले यसमा प्रतिक्रियात्मक कूटनीति होइन, पूर्ण रूपमा सक्रिय, रचनात्मक र दूरदर्शी कूटनीति प्रदर्शन गर्‍यो। सामान्यतया साना राष्ट्रहरू ठूला शक्तिका निर्णय पर्खेर बस्ने गर्छन्। तर यस घटनामा नेपाल आफैँ पहलकर्ता, अवधारणा निर्माता, समन्वयकर्ता र सफलताको मुख्य श्रेय पाउने देश बन्यो।

यसले अन्तर्राष्ट्रिय कूटनीतिमा सैन्य शक्ति वा ठूलो आर्थिक आकार मात्र निर्णायक हुँदैन भन्ने महत्त्वपूर्ण पाठ दियो। कल्पनाशीलता, विश्वासयोग्यता, साहस र सही समयमा सही पहलले साना देशलाई पनि ठूलो भूमिका खेल्ने अवसर दिन सक्छ। नेपालको यो सक्रियता चीन र जापान दुवैलाई मन पर्‍यो। उनीहरूले नेपालको निष्पक्ष भूमिका स्वीकार गरे।

बेइजिङमा ऐतिहासिक सम्झौता र अभियानको थालनी

काठमाडौँमा सुरु भएको छलफलपछि जापानी पक्षले चीनसँग औपचारिक कुराकानी अघि बढायो। चीन सकारात्मक भयो। १९८८ को फेब्रुअरीमा बेइजिङको जनताको महान् भवनमा नेपाल, चीन र जापानबीच त्रिदेशीय सगरमाथा आरोहणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

सम्झौतामा नेपालका तर्फबाट तत्कालीन पर्यटनमन्त्री पाण्डे, चीनका उच्च अधिकारी तथा जापानका वरिष्ठ प्रतिनिधिहरू उपस्थित थिए। चिनियाँ जनमुक्ति सेनाका उच्च अधिकृतहरूको सहभागिताले यो कार्यक्रमलाई  उच्च कूटनीतिक र प्रतीकात्मक महत्त्वको परियोजना बनाएको स्पष्ट संकेत दियो।

अभियान अत्यन्त ठूलो थियो। कुल दुई सय ५३ सदस्य सहभागी थिए। जापानले मुख्य आर्थिक सहयोग उपलब्ध गरायो र टेलिभिजन प्रसारणको जिम्मा लिएको थियो। चीनले उत्तरतर्फबाट र नेपालले दक्षिणतर्फबाट आरोहणको व्यवस्था मिलाएको थियो। दुवैतर्फबाट आरोहीहरूले चुचुरोमा भेट्ने र केहीले ‘क्रस ट्राभर्स’ गर्ने योजना थियो।

१९८८ को मे ५ मा यो अभियानले विश्व इतिहासमा नयाँ कीर्तिमान कायम गर्‍यो। नेपालको दक्षिणतर्फ र चीनको उत्तरतर्फबाट आएका आरोहीले एकै दिन सगरमाथाको चुचुरोमा भेट गरे। १२ जना आरोही चुचुरोमा पुगे। उनीहरू नेपाल, चीन र जापानका प्रतिनिधि थिए। जापानी टेलिभिजन टोलीले चुचुरोबाट प्रत्यक्ष प्रसारण गर्‍यो। यो काम अत्यन्त महत्त्वाकांक्षी र प्राविधिक रूपमा चुनौतीपूर्ण थियो।

हिमाली हावाको तीव्र गति, कम अक्सिजन र कठिन मौसम भए पनि उनीहरू शिखरमा चढ्न सफल भए। चुचुरोमा पुगेका आरोहीहरूले एकअर्कालाई हात बढाए, झण्डा फहराए र सहकार्यको खुसी साटासाट गरे। यो दृश्यले विश्वभरिका दर्शकलाई सहकार्यको मिठो सन्देश दियो।

यो अभियानले के पनि देखायो भने राजनीतिक मतभेद र इतिहासका घाउ भए पनि साझा लक्ष्य र प्रतीकात्मक प्रयासले दुई देशबीचको दूरी घटाउन सकिन्छ। नेपालले दुई देशलाई औपचारिक शान्तिवार्तामा बसालेको थिएन तर एउटा साझा उपलब्धिको सुन्दर कथा निर्माण गरेर सकारात्मक भावना बढाउन मद्दत पुर्‍यायो।

दीर्घकालीन प्रभाव र परिणाम

चार वर्षपछि सन् १९९२ मा अकिहितो चीनको भ्रमण गर्ने पहिलो जापानी सम्राट् बने। यो भ्रमण ऐतिहासिक थियो। सगरमाथा अभियानले दुई देशबीच सकारात्मक वातावरण निर्माण गर्न केही योगदान गरेको थियो। त्यसपछि यति उच्च प्रतीकात्मक महत्त्वको अर्को त्रिदेशीय हिमाल आरोहण कार्यक्रम चीन, जापान र नेपालले गरेका छैनन्।

यसैले १९८८ को अभियानले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत पुर्‍यायो। चीन र जापानबीचको सम्बन्ध अझै चुनौतीपूर्ण छ। पूर्वी चीन सागरमा सेन्साकु द्वीपहरूको विवाद, सुरक्षा गठबन्धन, प्रविधि प्रतिस्पर्धा र क्षेत्रीय प्रभावको खेलले उनीहरूलाई भिन्न राखिरहेको छ।

यस्तो तनावपूर्ण अवस्थामा १९८८ को सगरमाथा कूटनीतिले नेपाललाई प्रेरणादायी पाठ दिन्छ। सन्तुलन कायम गर्नु भनेको निष्क्रिय रहनु होइन। नेपालले विश्वासयोग्य छवि र सक्रिय पहलकदमीमार्फत ठूला देशहरूबीच पुल बन्न सक्छ। सगरमाथा कूटनीतिले सानो राष्ट्रले पनि सिर्जनात्मक सोच, साहसिक कदम र सही समयको सदुपयोगबाट अन्तर्राष्ट्रिय मञ्चमा ठूलो प्रभाव पार्न सक्ने देखाएको छ।

सगरमाथाको चुचुरोमा पुगेका आरोहीहरूले केवल हिमाल जितेका थिएनन्। उनीहरूले संवाद, सहकार्य, एसियाली सद्भाव र शान्तिको सम्भावनालाई पनि नयाँ उचाइ दिएका थिए। यो घटना आज पनि नेपालका कूटनीतिज्ञ, राजनीतिक नेतृत्व र युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेर रहेको छ। नेपालले यस्तै रचनात्मक र सक्रिय कूटनीति अघि बढायो भने भविष्यमा पनि ठूला उपलब्धि हासिल गर्न सक्छ।

प्रकाशित: १८ जेठ २०८३ २१:४९ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast