विदेशमा सिकेको सीप र पुँजी स्वदेशमै लगानी गर्न आह्वान

हिमाल प्रेस २३ साउन २०८३ २१:१९ | Saturday, August 8, 2026
24
SHARES
विदेशमा सिकेको सीप र पुँजी स्वदेशमै लगानी गर्न आह्वान

काठमाडौँ- रिटर्नी माइग्रेन्ट नेपालले विदेशमा सिकेको सीप, अनुभव र कमाएको पुँजीलाई स्वदेशमै उपयोग गर्दै उद्यमशीलता र रोजगारी सिर्जनामा जोड दिन आह्वान गरेको छ। विदेशमा काम गरेर स्वेदश फर्केर समूह बनएर काम गरिरहेकाहरुको संस्था  हो रिटर्नी माइग्रेन्ट नेपाल।

संस्थाको आठौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष कृष्ण न्यौपानेले विदेशबाट फर्किएका नेपालीको सीप, प्रविधि, अनुशासन र व्यवस्थापकीय क्षमता स्वदेशको विकासमा उपयोग गर्ने अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको बताए।

संस्थाले पछिल्ला आठ वर्षमा देशका विभिन्न स्थानमा रिटर्नीलाई संगठित गर्दै उद्यमशीलता, वित्तीय साक्षरता, सीप विकास, सहुलियतपूर्ण कर्जा, कृषि, पशुपालन, पर्यटन तथा उत्पादनका क्षेत्रमा काम गर्दै आएको पनि उनले जानकारी दिए।

संस्थागत विकासतर्फ पनि महत्वपूर्ण काम भएको बताउँदै २०७९ सालदेखि हालसम्मका हिसाबकिताब पुनरावलोकन गरी आर्थिक पारदर्शिता र अनुशासन कायम गरिएको तथा कार्यालयका लागि आवश्यक दुई कठ्ठा जग्गा पास गर्ने ऐतिहासिक सम्झौता भएको उल्लेख गरिएको छ।

आवश्यक पूर्वाधार सुधार गरी संस्थाको कार्यालयलाई व्यवस्थित बनाइएको पनि जनाइएको छ। प्रदेश सरकारसँग ५० प्रतिशत लागत साझेदारीमा ३ करोड रुपैयाँ अनुदानका लागि सम्झौता हुने प्रक्रिया अघि बढेको तथा संघीय मन्त्रालयबाट ट्रान्सफर्मर र विद्युतीय जडानका लागि करिब ३२ लाख बराबरको पूर्ण अनुदान प्राप्त हुने पनि त्यहाँ जानकारी दिइएको थियो।

आगामी दिनमा रिटर्नीको सीप र अनुभवको व्यवस्थित तथ्यांक निर्माण गर्ने, गाउँगाउँमा सीप विकास विस्तार गर्ने, सहुलियतपूर्ण कर्जामा पहुँच बढाउने तथा कृषि, पर्यटन, प्रविधि र उत्पादनका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने संस्थाको योजना रहेकाे जानकारी पनि त्यहाँ दिइएको थियो।

कार्यक्रममा राष्ट्रिय युवा परिषद् भक्तपुरका माधव ढुंगेल, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान त्रिपुरेश्वरका कार्यकारी निर्देशक उमेश कुमार गुप्ता र काठमाडौँ महानगरपालिका वडा ७ का अध्यक्ष विमल कुमार होडाको उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा विदेशबाट फर्केर उद्यमीका रूपमा सक्रिय रहेकी गोमा खनालले सकेसम्म स्वदेशमै उद्योग सञ्चालन गरी युवाहरूलाई विदेशिन बाध्य नपार्नुपर्ने विषयमा जोड दिँदै सबैलाई स्वागत गरेकी थिइन्। विदेशबाट सीप र सानो पूजी समेत लिएर आएकालाई सरकारले पनि प्रोत्साहन गर्ने र सरकार त्यस्ताको सहयोगी बन्ने धारणा स्थानीय जन प्रतिनिधी र सरकारी अधिकारीको थियो।

रिटर्नी कृषि अभियानलाई विशेष प्राथमिकता दिँदै विदेशबाट फर्किएका युवाले सिकेको आधुनिक कृषि प्रविधि नेपालमा प्रयोग गर्ने र कृषि व्यवसायमार्फत रोजगारी, आत्मनिर्भरता तथा स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य संस्थाले लिएको छ।

‘विदेशमा सिकेको सीप नेपालमा, विदेशमा कमाएको पुँजी मातृभूमिमा’ भन्ने अवधारणासहित रिटर्नीलाई आफ्नै गाउँठाउँमा उद्यम र रोजगारी सिर्जनामा जोड्ने संस्थाले जनाएको छ। कार्यक्रममा सानासाना उद्यममा जोडिएका र काम गरिरहेका रिटर्नी तथा सरकारी निकायमा अधिकारीहरुको उल्लेख्य उपस्थिति थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast