आज काग तिहार, किन दिइन्छ कागलाई खानेकुरा?

हिमाल प्रेस २१ कार्तिक २०८३ ६:२७ | Saturday, November 7, 2026
आज काग तिहार, किन दिइन्छ कागलाई खानेकुरा?

काठमाडौँ- यमपञ्चकको पहिलो दिन  अर्थात् आज काग तिहार मनाइँदैछ। यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर काग तिहार मनाउने प्रचलन छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज कागको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति स्रोतको भनाइ छ।

काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ ।

हाम्रो नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ ।

कागले विशेषगरी अशुभ सन्देश छिटो ल्याउने जनविश्वास रहेको छ । त्यसैले अझै पनि आफ्नो घरआँगनमा आएर काग कराउन थाल्यो भने राम्रो खबर सुनाओस् भनेर ‘सुबोल‘ सुबोल‘’ अर्थात शुभ बोल भनेर भनिन्छ ।

हिन्दू धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजान सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ ।

यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापकोभागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ ।

यस दिनमा विहानैदेखि कागको पूजा गरिन्छ, घरवाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आँउदो वर्षभरि कागले आफ्नो घरआगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस भनेर कामना गरिन्छ ।

त्यस्तै प्रकृतिको लागि पनि काग एउटा नभई नहुने पन्छी हो । यसले हाम्रो ‘इकोसिस्टम’मा पनि ठूलो योगदान दिन्छ । हामीले लगाएको बालीनालीलाई हानी गर्ने किरा फट्याङ्ग्राहरुलाई खाइदिएर कागले अन्न उत्पादन बढाउन सहयोग गर्छ ।

यसले पर्यावरण स्वच्छ राख्न पनि महत्वपूर्ण भूमिका निभाउँछ । मानवसभ्यता र प्रकृतिसँग जोडिएको पन्छी कागको पूजा गर्नुलाई मानिसले प्रकृतिमा रहेका जीवजन्तुलाई गर्ने प्रेम र सम्मानको रुपमा पनि बुझ्न सकिन्छ ।

 

प्रकाशित: २१ कार्तिक २०८३ ६:२७ | Saturday, November 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast