काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको खोजी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताए ।
उनले सभामुखलाई प्रधानमन्त्री यो संसद्को सदस्य हो कि होइन? भन्दै प्रश्न सोधेका छन्। हर्कले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने माग दोहोर्याए । उनले भने, ‘मैले १० दिनअघि गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न थिए । त्यसको जवाफ उहाँले दिनुपर्छ । गृहमन्त्रालय पनि उहाँकै जिम्मा भएकाले सुकुमबासी, शान्ति सुरक्षादेखि सीमा समस्याको विषयमा मेरा प्रश्नहरू थिए । रक्षा मन्त्रालय पनि उहाँले सम्हालेको कारणले प्रधानमन्त्रीले हामीले उठाएको प्रश्नको जवाफ दिनुपर्छ ।’
उनले प्रतिनिधिसभाको नियमावलीमा ७ दिनभित्र जवाफ दिनुपर्ने उल्लेख भएपनि आफूले प्रश्न उठाएको १० दिन कटिसकेको बताए । उनले प्रधानमन्त्रीले संसद्को गरिमा जोगाउन नसकेको आरोप लगाए।




