बुटवल- भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमाथि राज्यले डोजर आतंक मच्चाएको भन्दै बिहीबार बुटवलमा विरोध प्रदर्शन भएको छ।
राज्यले डोजर आतंक मच्चाएको भन्दै नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघर्ष समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागीहरुले ‘हाम्रो कर वैध, हाम्रो मत वैध, हामी कसरी अवैध बालेन सरकार’ भन्दै नाराबाजी गरेका थिए। बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको विरोध ¥याली ट्राफिक चोक पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले कर र मत दिने नागरिकलाई अवैध बनाउने कार्य वर्तमान सरकारले गरेको बताए। उनले आफूहरुलाई अवैध भन्ने वालेन सरकार पनि वैध हुन नसक्ने जिकिर गरे। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीमाथि डोजर चलाउन मत नदिएको भन्दै उनले आफूहरुको विषयमा गम्भीर हुन माग गरे।
त्यस्तै संघर्ष समितिका संयोजक खड्कबहादुर पौडेलले संघीय सरकारको निर्देशनमा रुपन्देहीमा सुकुम्बासी र अव्यवस्थित बस्ती खाली गराउन लागिएकोप्रति आपत्ति जनाए। उचित विकल्पविना बस्ती खाली गराउने कार्य भए सशक्त प्रतिकार हुने चेतावनी संघर्ष समितिले दिएको छ।
बुटवलका देवीनगर, बुद्धनगर, मजुवा, रानीगन्जलगायतका एक दर्जन स्थानका अव्यवस्थित बस्तीका झण्डै १ सय टोल विकास संस्थामा आबद्ध भएका सुकुम्बासी र अव्यवस्थित बसोवासीले प्रदर्शन गरेका हुन्। प्रर्दशनमा उनीहरूले सरकारदे सुकुम्बासीमाथि डोजर आतंक नरोके बुटवलबाट निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन्। केही दिनअघि बुटवल १७ रानिगञ्जका सुकुम्बासीहरूले विरोध गरेका थिए।



