होल्डिङ सेन्टर डुबेपछि कांग्रेस नेता आङ्देम्बेको प्रश्न-प्रधानमन्त्रीको प्रतिबद्धता कहाँ हरायो?

हिमाल प्रेस २८ असार २०८३ १३:२१ | Sunday, July 12, 2026
8
SHARES
होल्डिङ सेन्टर डुबेपछि कांग्रेस नेता आङ्देम्बेको प्रश्न-प्रधानमन्त्रीको प्रतिबद्धता कहाँ हरायो? प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे।फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले कीर्तिपुरस्थित होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारले सुकुम्बासीलाई जोखिमबाट मुक्त नगरी एउटा जोखिमबाट निकालेर अर्को अझ भयावह जोखिममा धकेलेको यथार्थ उजागर भएको बताएका छन्।

आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले यसअघि गरेको सार्वजनिक प्रतिबद्धताप्रति प्रश्न उठाउँदै लेखेका छन्, ‘प्रधानमन्त्रीजीले गरेको एउटा सार्वजनिक प्रतिबद्धता आज पनि सम्झिन्छु- ‘ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ।’ आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु- त्यो प्रतिबद्धता कहाँ हरायो? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन?’

उनले सुरक्षित आश्रयको आश्वासन पाएका सुकुम्बासी नागरिक अहिले पनि भोक, पानी, हिलो, अभाव र असुरक्षाबीच पीडादायी जीवन बिताउन बाध्य भएको उल्लेख गरेका छन्।

आङ्देम्बेका अनुसार यो घटना सुकुम्बासी नागरिकसँग गरिएको सार्वजनिक प्रतिबद्धता पूरा गर्न नसकेको राज्यको गैरजिम्मेवारी, संवेदनहीनता र असफल शासनको ज्वलन्त उदाहरण हो।

उनले सरकारले प्रश्न उठाउने अधिकारसमेत निषेध गर्न खोजेको आरोप पनि लगाएका छन्। ‘झन् दुःखद् र लज्जास्पद कुरा, त्यही होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरू माजिद अन्सारीसहितलाई बलपूर्वक नियन्त्रणमा लिइयो। म सोध्न चाहन्छु- लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो?’ उनले लेखेका छन्।

प्रधानमन्त्रीले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेपछि आत्मसमीक्षा गर्नुको सट्टा प्रश्न गर्ने नागरिकमाथि दमन गरेको आरोप लगाउँदै आङ्देम्बेले यो लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको आक्रमण भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री बालेनलाई सुकुम्बासीसँग गरेको वाचाको जवाफ दिन आग्रह गर्दै उनले लेखेका छन्,‘प्रधानमन्त्रीजी, सुकुम्बासी नागरिकसँग गर्नुभएको वाचाको जवाफ दिनुहोस्। किनभने इतिहासले तपाईंका खोक्रा भाषणलाई होइन नागरिकसँग गरिएका प्रतिबद्धता पूरा भए कि भएनन् भन्ने कुराको हिसाब राख्नेछ।’

प्रकाशित: २८ असार २०८३ १३:२१ | Sunday, July 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast