प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेश विजयी

हिमाल प्रेस २ वैशाख २०८३ २१:१० | Wednesday, April 15, 2026
8
SHARES
प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेश विजयी तस्बिर : क्यान

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको खेलमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

बुधबार वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा मधेश प्रदेशले चार विकेटले नेपाल पुलिस क्लबलाई हराएको हो। नेपाल पुलिस क्लबले ४० दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १३० रन जोडेको थियो।

नेपाल पुलिस क्लबका कुशल भुर्तेलले ४२ बलमा ३९ रन जोडेका थिए। त्यस्तै नेपाल पुलिस क्लबका शंकर रानाले ६१ बल खेल्दै २७ रन जोडेका थिए। मधेश प्रदेशका आशिक बैठा र पवन सर्राफले समान तीन–तीन विकेट लिएका थिए।

मधेश प्रदेशले २४ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै एक सय ३१ रन जोडेको थियो। मधेश प्रदेशका अरनिको यादवले ४४ बल खेल्दै ६५ रन जोडेका थिए भने रूपेश सिंहले पनि २९ बलमा २७ रन जोडेका थिए। नेपाल पुलिस क्लबका गुल्सन झाले तीन विकेट र सागर ढकालले दुई विकेट लिएका थिए।

खेलमा मधेश प्रदेशका अरनिको यादव प्लेयर अफ दि म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाएका छन्। प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल वैशाख ४ गते हुँदैछ।

प्रकाशित: २ वैशाख २०८३ २१:१० | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast