अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय समिति गठन

हिमाल प्रेस ५ भदौ २०८३ १७:५४ | Friday, August 21, 2026
अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय समिति गठन

काठमाडौँ- विभिन्न ९ राजनीतिक दल सम्मलित अग्रगामी मोर्चाले मधेश प्रदेश समिति गठन गरेको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा शुक्रबार जनकपुरधाममा बसेको बैठकले अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय समिति गठन गरेको हो।

विभिन्न ९ राजनीतिक दलहरू सम्मिलित बैठकले मोर्चाको प्रदेश समिति गठन, जिल्ला समिति गठनको जिम्मेवारी बाँडफाँट तथा आगामी रणनीतिक भेला र कार्यक्रम तय गरेको हो।

बैठकले मोर्चा आवद्ध घटक दलहरूबाट प्रतिनिधित्व रहने गरी मधेश प्रदेश समन्वय समिति गठन गरेको नेताहरूले बताएका छन्।

मधेश प्रदेश समितिमा जसपा नेपालबाट बालकिशोरप्रसाद यादव र रामविनोद चौधरी, जनमत पार्टीबाट गजानन्द यादव र रामप्रसाद मण्डल, आम जनता पार्टीबाट उमेश कुशवाहा र राधेश्याम साह, नागरिक उन्मुक्ति पार्टीबाट पृथ्वीनारायण सिंह थारू र रामएकवला मण्डल, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट अमिताभ बच्चन दास र किशोरी यादव, नेपाल संघीय समाजवादी पार्टीबाट विमला अंसारी र सैदर अंसारी तथा बहुजन एकता पार्टीबाट प्रकाश महरा र सुजित महरा रहेका छन्।

त्यस्तै बैठकले आगामी भदौ १० गतेभित्र मधेशका आठवटै जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। जिल्ला समन्वय समिति गठन गर्न घटक दलहरूलाई जिम्मेवारीसमेत तोकिएको छ।

जसअनुसार सप्तरीमा जनमत पार्टी, सिरहामा बहुजन एकता पार्टी, महोत्तरीमा नेपाल जनमुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी, सर्लाहमिा नागरिक उन्मुक्ति पार्टी, रौतहटमा आम जनता पार्टी, बारामा जसपा नेपाल र आजपा, धनुषामा जसपा नेपाल र पर्सामा प्रलोपालाई जिम्मेवारी दिइएको छ।

मोर्चाले संगठन विस्तार र जनपरिचालनका लागि क्षेत्रीय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ। जसअन्तर्गत आगामी भदौ २७ गते जनकपुरधाममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही गरी पाँच जिल्लाको संयुक्त भेला गर्ने निर्णय भएको छ।

त्यस्तै रौतहट, बारा र पर्सा जिल्लालाई समेटेर असोज ३ गते वीरगञ्जमा मोर्चाको वृहत् भेला आयोजना गरिने भएको छ।

प्रकाशित: ५ भदौ २०८३ १७:५४ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast