काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उठेका प्रश्नहरूबारे उनले स्पष्टीकरण दिएका छन्।
उनले पारदर्शितालाई प्राथमिकता दिँदै आफ्नो तथा पारिवारिक सम्पत्ति सार्वजनिक गरेको बताएका छन्।
मन्त्री पोखरेलले भने,‘पारदर्शिता, पारदर्शिता, पारदर्शिता। म त्रिभुवन विश्वविद्यालयअन्तर्गत ‘सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको विद्यार्थी पनि हुँ। भ्रष्टाचार निवारणका लागि सबैभन्दा शक्तिशाली अस्त्र पारदर्शिता नै हो भन्नेमा मेरो दृढ विश्वास छ।’
उनले आफ्नो व्यक्तिगत सम्पत्तिमात्र नभई बुवा, आमा तथा मावली पक्षसम्मका सम्पत्तिहरू पनि खुलाएका छन्। ‘प्राविधिक रूपमा हेर्दा आफ्नो व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पनि पर्याप्त हुन्थ्यो, तर मैले पूर्ण पारदर्शिताको अभ्यास गर्दै सबै विवरण सार्वजनिक गरेको हुँ,’ उनले भने।
उनले आफ्नो पारिवारिक पृष्ठभूमिबारे पनि भने,‘मेरो बुवाले नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गर्नुभयो र कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गर्नुभयो। उहाँ अन्तर्राष्ट्रिय मुद्रा कोष, वाशिङ्टन डी.सी.मा कार्यकारी निर्देशकका सल्लाहकारका रूपमा समेत कार्यरत रहनुभएको थियो।’
काठमाडौँमा रहेको जग्गाको मूल्यबारे उठेका जिज्ञासामा उनले बजार मूल्यकै आधारमा विवरण सार्वजनिक गरिएको बताए। ‘हाल ती सम्पत्तिहरूको मूल्य ५० गुणाभन्दा बढीले वृद्धि भएको छ, जुन समग्र बजार प्रवृत्तिको परिणाम हो,’ उनले उल्लेख गरे।
आफ्नो व्यक्तिगत जीवनशैलीबारे पनि उनले स्पष्ट पारे। ‘म एक हिसाबले Privileged पृष्ठभूमिबाट आएको व्यक्ति हुँ। तर आजसम्म आधारभूत शिक्षाबाहेक मैले कहिल्यै पनि बुवाआमाको सम्पत्तिमा निर्भर भएर विलासिता गरेको छैन। मैले आफ्नै आम्दानीबाट आफ्ना खर्चहरू व्यवस्थापन गरेको छु।’
पान नम्बर सार्वजनिक नगर्नुको कारणबारे बाेल्दै उनले उक्त सम्पत्ति विवरण सार्वजनिक रूपमा प्रकाशित गर्ने योजना भएकाले व्यक्तिगत सुरक्षाका कारण पान नम्बर समावेश नगरेको बताए।
यसअघि सार्वजनिक भएको विवरणअनुसार मन्त्री पोखरेलले कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको जनाएका छन्।
उनको भनाइ
पारदर्शिता, पारदर्शिता, पारदर्शिता।
म त्रिभुवन विश्वविद्यालय अन्तर्गत “सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण” विषयको विद्यार्थी पनि हुँ। भ्रष्टाचार निवारणका लागि सबैभन्दा शक्तिशाली अस्त्र पारदर्शिता नै हो भन्नेमा मेरो दृढ विश्वास छ।
यसै मान्यताअनुसार मैले आफ्नो सम्पत्ति विवरण यथासम्भव पूर्ण रूपमा पारदर्शी बनाउने प्रयास गरेको छु। मैले केवल आफ्नो व्यक्तिगत सम्पत्ति मात्र होइन, बुवा, आमा तथा मामाघर (मावली) पक्षसम्मका सम्पत्तिहरू समेत खुलाएर प्रस्तुत गरेको छु। मेरो मात्र होइन, बुवाको सवारीसाधनसमेत उल्लेख गरेको छु। प्राविधिक रूपमा हेर्दा आफ्नो व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पनि पर्याप्त हुन्थ्यो, तर मैले पूर्ण पारदर्शिताको अभ्यास गर्दै सबै विवरण सार्वजनिक गरेको हुँ। किनभने मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमान्दार मेहनतको कमाइ हुन्।
मेरो बुवाको सन्दर्भमा पनि स्पष्ट पार्न चाहन्छु। उहाँले नेपाल राष्ट्र बैंक मा करिब ३० वर्ष सेवा गर्नुभयो र कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गर्नुभयो। साथै, उहाँ अन्तर्राष्ट्रिय मुद्रा कोष, वाशिङ्टन डी.सी. मा Executive Director का सल्लाहकारका रूपमा समेत कार्यरत रहनुभएको थियो। उहाँको उच्च नैतिकता र इमान्दारिताप्रति म सधैं गर्व गर्छु, र यही मूल्यहरूले मलाई पनि मार्गदर्शन गरेका छन्।
काठमाडौंको जग्गा खरिदको विषयमा, त्यो समय आना अनुसारको मूल्य आजको तुलनामा निकै कम थियो। हाल ती सम्पत्तिहरूको मूल्य ५० गुणाभन्दा बढीले वृद्धि भएको छ, जुन केवल हाम्रो मात्र होइन, समग्र बजार प्रवृत्तिको परिणाम हो। पारदर्शितालाई ध्यानमा राख्दै मैले खरिद मूल्य वा सरकारी मूल्य होइन, हालको चलनचल्तीको बजार मूल्य नै उल्लेख गरेको छु।
अन्त्यमा, म यो पनि स्वीकार गर्दछु कि म एक हिसाबले Privileged पृष्ठभूमिबाट आएको व्यक्ति हुँ। तर आजसम्म, आधारभूत शिक्षाबाहेक मैले कहिल्यै पनि बुवा आमा को सम्पत्तिमा निर्भर भएर विलासिता गरेको छैन। म स्नातक दोस्रो वर्षदेखि नै पार्ट टाइम अनलाइन काम गर्न थालेको र स्नातक चौथो वर्षमा फुल टाइम रूपमा काम गरेको व्यक्ति हुँ। मैले आफ्नै आम्दानीबाट आफ्ना खर्चहरू व्यवस्थापन गरेको छु। मेरो विवरणमा देखाइएको ऋणसमेत, बुवा आमा को आर्थिक सहयोग बिना आफ्नै गाडी खरिद गर्नका लागि लिएको हो।
PAN नम्बरको विषयमा पनि स्पष्ट पार्न चाहन्छु, मसँग वैध PAN नम्बर छ। तर उक्त सम्पत्ति विवरण सार्वजनिक रूपमा प्रकाशित गर्ने योजना भएकाले व्यक्तिगत सुरक्षाका कारण PAN नम्बर समावेश नगरेको हुँ।
पारदर्शिता केवल शब्द होइन, व्यवहारमा देखिनुपर्छ भन्ने मेरो विश्वास हो। मैले त्यसै अनुरूप आचरण गर्ने प्रयास गरेको छु, र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछु।