आजदेखि एसईई, ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै

हिमाल प्रेस १९ चैत २०८२ ६:३० | Thursday, April 2, 2026
6
SHARES
आजदेखि एसईई, ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै विद्यार्थी। फाइल तस्बिर।

काठमाडौँ- नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ। परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारेको जनाएको छ ।

यस पटकको एसईईमा देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुँदैछन् । यस वर्षको एसईई परीक्षामा ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ र ‘नतिजामा तीव्रता’ अभ्यास गर्न लागेको बोर्डले जनाएको छ । सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।

सवा ५ लाख विद्यार्थी, जापानमा पनि केन्द्र

बोर्डको तथ्यांक अनुसार कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले परीक्षाका लागि फारम भरेका छन् । छात्राको संख्या २ लाख ५७ हजार ६ सय १३ रहेको छ भने छात्रको संख्या २ लाख ५४ हजार ८ सय १ रहेको छ । यसैगरी, ७ जना अन्य लिङ्गी विद्यार्थीहरूले पनि यस पटकको एसईईमा सहभागी छन् । छात्राको संख्या छात्रको तुलनामा बढी हुनुले नेपालमा महिला शिक्षाको पहुँच बढ्दै गएको सकारात्मक सन्देश दिएको बोर्डले जनाएको छ ।

यस वर्ष पनि जापानमा रहेको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुँदैछन् । जापानमा रहेका नेपाली समुदायका बालबालिकाहरूका लागि त्यहाँको स्थानीय समय र नेपालको समयबिच तालमेल मिलाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । देशभर र जापान समेत गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्रहरू निर्धारण गरिएका छन् ।

प्रकाशित: १९ चैत २०८२ ६:३० | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast