एसईईमा ४ जीपीए ल्याउने छात्रालाई एक लाख नगदसहित सम्मान

हिमाल प्रेस २ जेठ २०८३ ६:४० | Saturday, May 16, 2026
8
SHARES
एसईईमा ४ जीपीए ल्याउने छात्रालाई एक लाख नगदसहित सम्मान

गुल्मी- माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चार जीपीए ल्याउने विद्यार्थीलाई गुल्मीमा नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ। रेसुङ्गा नगरपालिका–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयले एसइईमा चार जिपिए ल्याउने विद्यार्थी अस्मिता पाण्डेलाई नगद एक लाखसहित सम्मानपत्रले सम्मान गरेको हो।

शुक्रबार विद्यालयमा आयोजित विद्यार्थी सम्मान कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीलगायतले पाण्डेलाई चेक र सम्मानपत्र प्रदान गरे। गत चैतमा भएको एसइईमा महेन्द्र माविबाट ८० विद्यार्थी सहभागी थिए। जसमध्ये ६८ जना उत्तीर्ण भएका सहायक प्रधानाध्यापक लक्ष्मी पन्थी अर्यालले जानकारी दिइन्।

गुल्मी जिल्लाभरबाट कुल छ जना विद्यार्थीले चार जिपिए ल्याएका छन्। जसमा पाण्डेसहित रेसुङ्गा माविकी दीक्षा पोखरेल, रुरुक्षेत्र गाउँपालिकाको रिडी माविकी मर्यादा पौडेल, रेन्बो इङ्लिस बोर्डिङ स्कुलका आरुसा श्रेष्ठ र खोमराज पन्थी एवं चन्द्रकोट गाउँपालिका दिब्रुङस्थित शारदा माविकी रीतिका गौतम रहेका छन्।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख थानेश्वर गौतमका अनुसार गुल्मीबाट साधारण धारतर्फ तीन हजार ३३९ विद्यार्थी सहभागी भएकामा २९३ अर्थात् ६८।६८ प्रतिशत उत्तीर्ण भएका छन्। साधारण धारमा ३।६ देखि ४ जिपिए ल्याउने विद्यार्थी २२१ जना छन्।  प्राविधिक धारतर्फ २५९ विद्यार्थी सहभागी भएकामा १८२ जना उत्तीर्ण भएका छन्। जुन कुल सहभागी सङ्ख्याको ७०।२८ प्रतिशत हो।

महेन्द्र माविका प्रधानाध्यापक मरासिनीका अनुसार विद्यार्थी एवं शिक्षकको कडा मिहिनेत, अभिभावकको पूर्ण सहयोग एवं सरकारी पक्षबाट पनि आवश्यक सहयोगको कारण सफलता हासिल गरेको बताए।

प्रकाशित: २ जेठ २०८३ ६:४० | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast