काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा विद्यालय शिक्षा ऐन र शिक्षकसँग पटकपटक गरिएका सहमति कार्यान्वयनका गर्ने विषयमा मौन रहेको पाइएको छ।
ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र (घोषणापत्र) सार्वजनिक गर्दै पार्टीले शिक्षा खर्च होइन राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण लगानी भएको बताएको छ।
पार्टी सभापति गगनकुमार थापा, उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाललगायत नेताहरूको उपस्थितिमा सार्वजनिक गरिएको दस्तावेजमा आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षाबाट वञ्चित नहुने व्यवस्था गर्ने उल्लेख छ।
प्रतिज्ञापत्रअनुसार प्रिप्राइमरीदेखि विश्वविद्यालयसम्मको शिक्षालाई प्रविधि र प्रयोगसँग जोडिनेछ। विद्यार्थीको सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने शिक्षालय विकास गरिने, जीवनोपयोगी ज्ञान र मूल्यमा आधारित शिक्षा प्रणालीमार्फत युवालाई विश्वस्तरमा प्रतिस्पर्धी बनाइने दाबी गरिएको छ।
शिक्षासँगै पोषण कार्यक्रमलाई जोड्ने योजना पनि अघि सारिएको छ। शारीरिक रूपमा स्वस्थ र पोषित बालबालिकामा सिकाइ क्षमता वृद्धि हुने उल्लेख गर्दै राज्यले विद्यालयस्तरमै पोषणको जिम्मेवारी लिने प्रतिवद्धता जनाइएको छ। विद्यालय र खेलमैदानलाई हिंसा तथा शोषणमुक्त बनाउने पनि दस्तावेजमा उल्लेख छ।
तर,प्रतिज्ञापत्रमा प्राविधिक शिक्षाको विस्तार, विद्यालय शिक्षा ऐन जारी, नेपाल शिक्षक महासंघसँग भएका विगतका सहमति तथा शैक्षिक स्तरोन्नतिका ठोस कार्ययोजनाबारे धारणा आएको छैन।