ढाका- बंगलादेशको संसदीय चुनावको मतदान दिन नजिकै जाँदा निर्वाचन अधिकारीहरू तथा उम्मेदवारहरूले अभियान गतिविधि तीव्र बनाएका छन्। बंगलादेश निर्वाचन आयोग सचिवालयका वरिष्ठ सचिव अख्तर अहमदले मतदान अघि सुरक्षा र गलत सूचना सम्बन्धी चिन्ताहरूलाई सम्बोधन गरेका छन्।
अख्तर अहमदलाई उदृत गर्दै एएनआइले अगामी फेब्रुअरी-१२ तारिखको बिहान ७:३० देखि मतदान सुरु गर्ने तयारी भइसकेको जनाएको छ। सुरक्षा सम्बन्धी चिन्तालाई सम्बोधन गर्दै अख्तर अहमदले भने,‘मेरो बुझाइमा त्यहाँ कुनै सुरक्षा खतरा तथा सुरक्षा चिन्ता छैन, सबै कुरा व्यवस्थित छ।’
उनले गलत सूचनासँग सम्बन्धित चिन्ताहरूलाई उजागर गर्दै गलत सूचनाले समस्या सिर्जना गर्न सक्ने बताउदै यो डर नभई चिन्ताको विषय भएको उल्लेख गरेका छन्।
मतदानको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूले घरदैलो अभियान र्याली, सार्वजनिक सम्बोधन, लगाउतका प्रयासहरू तीव्र परेका छन् भने राजनीतिक अभियान अन्तिम चरणमा प्रवेश गरेको छ।
बंगलादेशको निर्वाचन कानुनअन्तर्गत मतदान सुरु हुनु भन्दा ४८ घण्टा अघि आधिकारिक प्रचार अभियान समाप्त हुन्छ। मतदान फेब्रुअरी-१२ बिहान ७ः३० बजे सुरु हुने र प्रचार अभियान फेब्रुअरी-१०को साँझ ७ः३० बजे समाप्त हुने जनाइएको छ।
चुनाव प्रचारको अन्तिम समयमा ढाका-१३ निर्वाचन क्षेत्रका लागि बंगलादेश राष्ट्रवादी पार्टीका उम्मेदवार बबी हजाजले मतदाताको उत्साहजनाक सहभागिताबारे आशा व्यक्त गरेका छन्।
बंगलादेशमा सन् २०२४ जुलाईको विद्रोह पछि व्यापक राजनीतिक अस्थिरताको बीचमा हाल संसदीय चुनाव हुन गइरहेको छ।



