तनहुँ- दमौलीका दुई युवाले सयपत्री फूलखेती सुरु गरेका छन्। वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढिरहेका बेला उनीहरूले भने स्वदेशमानै केही गर्ने अठोटका साथ फूलखेती सुरु गरेका हुन्।
व्यास नगरपालिका-४ सिमलटारमा स्थानीय गगनसिंह बस्नेत र लक्ष्य अधिकारीले दुई रोपनी जग्गामा सयपत्री फूलखेती गरेर स्थानीयस्तरमै सम्भावना खोज्ने प्रयास गरेका छन्।
तिहार नजिकिँदै गर्दा सिमलटारको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन्। पहेँलपुर फूलले खेतको दृश्य आकर्षक बनेको छ भने दुई युवालाई आफ्नो मेहनतको प्रतिफल बजारमा पुर्याउने चाहना छ।
उनीहरूको उद्देश्य फूल बेचेर आम्दानी गर्नुमा मात्रै सीमित छैन स्थानीय उत्पादनको प्रयोग बढाउनु र बाहिरबाट आउने फूलको निर्भरता घटाउन सन्देश दिनु पनि हो।
बस्नेत र अधिकारीले खाली रहेको जग्गाको सदुपयोग गर्दै पहिलोपटक सयपत्री फूलखेती सुरु गरेका हुन्।
बस्नेतले कार वास सेन्टरसमेत सञ्चालन गरेका छन्। जग्गा खाली रहेको अवस्थामा त्यसलाई उपयोगी काममा लगाउने सोचले फूलखेती सुरु गरिएको बस्नेतको भनाइ छ।
तिहारजस्ता चाडपर्वमा फूलको माग बढ्ने भए पनि बजारमा बाहिरबाट ल्याइएका फूलको प्रयोग हुने गरेको देखेपछि स्थानीयस्तरमै फूल उत्पादन गर्ने सोच आएको बस्नेतले बताए।
आफ्नै ठाउँमा फूल उत्पादन गर्न सकिने सम्भावना देखेर पहिलोपटक खेती सुरु गरेको उनले बताए। ‘बाहिरबाट फूल आउने गरेको देख्यौँ। हाम्रो ठाउँमा पनि फूल उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो’, बस्नेतले भने,‘बाहिरबाट आउने फूलको सट्टा स्थानीयस्तरमै उत्पादन भएको फूल प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि हामीले खेती सुरु गरेका हौँ।’
दुई रोपनी जग्गामा गरिएको खेतीबाट प्राप्त हुने उत्पादन र बजारको माग हेरेर आगामी दिनमा खेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।
पहिलो प्रयास सफल हुँदै गएमा थप जग्गामा सयपत्री फूलखेती गर्ने उनले बताए। यसले खाली जग्गाको उपयोग हुनुका साथै स्थानीयस्तरमा रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना गर्न सक्ने उनको अपेक्षा छ ।
तिहारमा घर, मठमन्दिर र विभिन्न स्थान सजाउन सयपत्री फूलको प्रयोग गरिदै आएको छ। यो समयमा फूलको माग बढ्ने भएकाले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सके किसान तथा उद्यमीलाई लाभ पुग्ने सम्भावना हुन्छ।



