बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा

हिमाल प्रेस २३ असोज २०८३ ९:४५ | Friday, October 9, 2026
8
SHARES
बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा

बुटवल- बुटवल उद्योग वाणिज्य संघको ७३औँ साधारणसभा तथा २६औँ अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। संघको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदका प्रत्याशी नरिश्वर शर्मा पौडेल र टंकप्रसाद गैरेले छुट्टाछुट्टै प्यानल घोषणा गरी चुनावी प्रचारप्रसार र भेटघाटलाई तीव्रता दिएका छन्।

शुक्रबार उद्घाटन सत्र सकिएलगत्तै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ। अध्यक्ष पदमा बुटवल उपमहानगरपालिका-४ का वडाध्यक्षसमेत रहेका व्यवसायी पौडेल र संघका वर्तमान वरिष्ठ उपाध्यक्ष गैरे प्रतिस्पर्धामा छन्।

पौडेल संघका पूर्ववाणिज्य उपाध्यक्ष हुन् भने गैरे वर्तमान वरिष्ठ उपाध्यक्ष हुन्। दुवै समूहले आफ्नो प्यानललाई विजयी गराउन व्यवसायी तथा विभिन्न समूहसँग भेटघाट गर्दै मत मागिरहेका छन्। दुवै पक्षले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन्।

पौडेल र गैरे दुवैले आफ्नो प्यानलमा विभिन्न विचार समूहको सहभागिता र समावेशितालाई प्राथमिकता दिएको बताएका छन्। बुटवलको आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा व्यापार विस्तारलाई मुख्य एजेन्डा बनाएर आफूहरू चुनावी मैदानमा उत्रिएको उनीहरूको भनाइ छ।

उम्मेदवार पौडेलले स्थानीय सरकारसँग सहकार्य गर्दै उद्यमशीलता प्रवर्द्धन र व्यापारमैत्री वातावरण निर्माण गर्ने योजना बनाएको बताए। संघको नेतृत्वमा पुगेपछि व्यवसायीका समस्या समाधान र आर्थिक गतिविधि विस्तारका लागि योजनाबद्ध रूपमा काम गर्ने उनको भनाइ छ।

त्यस्तै, गैरेले उद्योग वाणिज्य संघलाई भरोसायोग्य व्यावसायिक संस्थाका रूपमा विकास गर्ने बताए। पर्यटन तथा स्थानीय अर्थतन्त्रको विकास गर्दै बुटवललाई आर्थिक गन्तव्यका रूपमा स्थापित गर्न पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

पौडेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा र महासचिवमा बसन्तप्रसाद ढकाल उम्मेदवार बनेका छन्।

त्यस्तै, गैरे प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी र महासचिवमा जमुना पौडेल उम्मेदवार छन्।

पौडेल लाली करेन्ट चाउचाउ उद्योग तथा पाँचतारे होटल ह्यात प्रालिका सञ्चालक हुन्। गैरे पनि गैरे प्रतिष्ठानमार्फत अटो व्यवसायमा लामो समयदेखि संलग्न व्यवसायी हुन्।

संघमा दुई हजारभन्दा बढी उद्योगीव्यवसायी मतदाता रहेका छन्।

संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलको ऐतिहासिक संस्थामा नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताए। उनका अनुसार शुक्रबार साँझदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ भने मतदान २६ गते हुनेछ।

प्रकाशित: २३ असोज २०८३ ९:४५ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast