बुटवलका उद्योगीलाई चुनाव लाग्यो, वडाध्यक्ष पनि उम्मेदवार बन्ने दौडमा

टंकप्रसाद गैरे, दिनेशप्रसाद श्रेष्ठ र नरीश्वर शर्मा पौडेलले  माग्न थाले भोट

विनोद परियार २६ भदौ २०८३ १२:४९ | Friday, September 11, 2026
बुटवलका उद्योगीलाई चुनाव लाग्यो, वडाध्यक्ष पनि उम्मेदवार बन्ने दौडमा

बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी सुरु भएको छ। असोज २१-२३ गते हुने २६ औँ अधिवेशनबाट चयन हुने नेतृत्वका लागि आकांक्षी उद्योगी व्यवसायीहरूले गृहकार्य थालेका हुन्।

बुटवलको अग्रणी संस्थाका रुपमा परचित बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा तीन जना मुख्य आकांक्षी देखिएका छन्। वर्तमान वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले अध्यक्षमा आफ्नो स्वाभाविक दाबी रहेको बताएका छन्। आफ्नो जीवनको १८ वर्ष उद्योग बाणिज्य संघमा बिताएकाले अब आउने अधिवेशनबाट व्यवसायीहरूले सर्वसम्मत रुपमा अध्यक्ष बनाउने उनको विश्वास छ। गैरेले आफू व्यवसायीहरूकै बीचबाट आएको बताउँदै अग्रजहरूको आशीर्वाद र सहकर्मीहरूसँग छलफलमा जुटेको बताए।

यसअघिका उपविजेता दिनेश प्रसाद श्रेष्ठ पनि अध्यक्षका आकांक्षी हुन्। यसअघि भएको अधिवेशनमा वर्तमान अध्यक्ष हरिप्रसाद अर्यालसँग पराजित भएका उनले आफूलाई यसपटक व्यवसायीहरूले न्याय गर्ने विश्वास व्यक्त गरे। ‘म अघिल्लो पटकको उपविजेता हुँ, अब मलाई सबैले सर्वसम्मत नेतृत्व दिनुहुन्छ भन्ने मेरो विश्वास छ’, उनले भने, ‘सकभर साथी नलडौँ, सबैले मिलेर नेतृत्व गरौँ भन्ने छ।’ उनले व्यवसायीहरूले आफूलाई सर्वसम्मत नेतृत्व दिदा यसले सहमतिको संस्कार सुरु गर्ने बताए। अहिले मुलुकको अवस्थाले पनि साथीभाइबीच प्रतिस्पर्धा नगर्दा राम्रो हुने उनले बताए।

त्यसो त श्रेष्ठले सर्वसहमति भने पनि व्यवसायीहरूबीच तीव्र ध्रुवीकरण भइरहेको छ। बुटवल उपमहानगरपालिकाका वडा न. ४ का वडाध्यक्षसमेत रहेका नरीश्वर शर्मा पौडेल पनि अध्यक्षका आकाक्षी हुन्। उज्ज्वल कसजू अध्यक्ष रहेको समितिमा वाणिज्य उपाध्यक्ष भई कार्य गरेका पौडेल वडाध्यक्ष भएकाले वर्तमान समितिमा मनोनित सदस्यका रुपमा रहे। उनले आफू संघका लागि जुनसुकै पदमा बसेर भए पनि सेवा गरेको बताउँदै उद्योगी व्यवसायीको पक्षमा अध्यक्षका रुपमा काम गर्न चाहेको बताए। उनले सबैको साथ रहेको समेत दाबी गरे।

वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराईको आकांक्षा रहेको छ। व्यवसायीहरूको साथ लिएर क्रमशः नेतृत्वको दाबीमा उनी रहेका छन्। त्यसो त वरिष्ठ उपाध्यक्षमा विमल भट्टराईको पनि दावी रहेको छ।

महासचिवमा भने वर्तमान महासचिव मुक्ति अधिकारी र कोषाध्यक्ष बसन्त ढकालको चर्चा छ। यद्यपि महासचिव मुक्ति अधिकारी उपाध्यक्षमा पाए महासचिव छाड्ने योजनामा छन्।

बुटवलको जेठो संस्था भएकाले पनि बुटवल उद्योग वाणिज्य संघको निर्वाचनको चर्चा हुने गर्छ। २०१० फागुन १० गते पदमचन्द्र श्रेष्ठको अध्यक्षता गठन भएको बुटवल व्यापार संघ हालको बुटवल उद्योग वाणिज्य संघ हो। काठमाडौँबाहिर यस संस्थाको नेतृत्वमा बस्नेहरूको सार्वजनिक अहोदा पनि ठूलो हुन्छ। संघमा झन्डै २२ सय सदस्य छन्।

संघमा हालसम्म पदमचन्द्र श्रेष्ठ, रुद्रविलास तुलाचन, किशोरीलाल कसौधन, युक्तप्रसाद प्रधान, द्रोणराज जोशी, सूर्यप्रसाद प्रधान, महेशकुमार राजभण्डारी, हीराकुमार श्रेष्ठ, जीवनप्रसाद ओझा, ज्ञानेन्द्र कसजू, अर्जुनमान सैँजू, कुशप्रसाद मल्ली, निर्मल लाकौल, नवराज श्रेष्ठ, शंकर श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, महेशमान सिंह, खेम हमाल, उज्ज्वलप्रसाद कसजू र हरि अर्यालले नेतृत्व गरेका छन्।

संघका अध्यक्ष हरिप्रसाद अर्यालले अधिवेशनको तयारीमा जुटेको बताए। उनका अनुसार साधारणसभा तथा अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ। अधिवेशन सम्पन्न गर्नका लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast