बंगलादेशमा अवामी लिगका सात वरिष्ठ नेतालाई मृत्युदण्ड

हिमाल प्रेस ३० भदौ २०८३ १६:०३ | Tuesday, September 15, 2026
बंगलादेशमा अवामी लिगका सात वरिष्ठ नेतालाई मृत्युदण्ड बंगलादेशमा सन् २०२४ मा भएको सरकारविरोधी प्रदर्शन फाइल तस्बिर : रासस/एएफपी

काठमाडौँ- बंगलादेशको विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमै मंगलबार मृत्युदण्ड सुनाएको छ। पूर्वप्रधानमन्त्री सेख हसिनाको दलका ती नेतामध्ये पूर्वमहासचिव ओबैदुल कादर र पूर्वमन्त्री मोहम्मद अली अराफात पनि रहेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूमाथि सन् २०२४ को जनआन्दोलन दबाउने प्रयासमा संलग्न भएको आरोप लागेको थियो।

न्यायाधीश नजरुल इस्लाम चौधरीको अध्यक्षतामा रहेको तीन सदस्यीय न्यायाधिकरणले उनीहरूलाई हिंसा भड्काउनेलगायत मानवताविरुद्धका अपराधमा दोषी ठहर गरेको हो। फैसलापछि सरकारी अभियोजक एमडी अमिनुल इस्लामले खुसी व्यक्त गर्दै भने, ‘हामी यो फैसलाबाट निकै सन्तुष्ट छौँ।’

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ जुलाई र अगस्टमा विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शन दबाउने क्रममा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो। त्यसपछि सेख हसिनाले १५ वर्ष लामो शासन छाडेर भारतमा शरण लिनुपरेको थियो।

यस मुद्दामा राज्यद्वारा नियुक्त प्रतिरक्षा वकिल एम हसन इमामले ती नेता प्रत्यक्ष रूपमा हत्यामा संलग्न नभएको र उनीहरूलाई मृत्युदण्डभन्दा कम सजाय दिन सकिने बताएका छन्। अदालतले पाँच नेताको आधा सम्पत्ति जफत गरी पीडितका परिवारलाई उपलब्ध गराउन पनि आदेश दिएको छ।

सन् २०२४ को हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा हालसम्म ६८ जना दोषी ठहरिएका छन्। तीमध्ये २२ जनालाई मृत्युदण्ड दिइएको छ।

यसैबीच, फेब्रुअरीमा सत्तामा आएको प्रधानमन्त्री तारिक रहमान नेतृत्वको नयाँ सरकारले भारतमा रहेकी सेख हसिनालाई बंगलादेश फिर्ता पठाउन माग गरेको छ। तर मृत्युदण्डको सामना गरिरहेकी ७८ वर्षीया हसिनाले अदालतको अधिकार क्षेत्र अस्वीकार गर्दै आफू डिसेम्बरमा स्वदेश फर्किने दाबी गरेकी छन्।

प्रकाशित: ३० भदौ २०८३ १६:०३ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast