बंगलादेशमा सन् २०२४ मा भएको सरकारविरोधी प्रदर्शन फाइल तस्बिर : रासस/एएफपी
जुलाई महिना बंगलादेशका लागि अत्यन्त व्यस्त समय हो। यो राष्ट्रका लागि आत्मसमीक्षा र हिसाब-किताब गर्ने महिना पनि हो। सन् २०२४ को जुलाईमा देशभर डढेलोजस्तै फैलिएको विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री सेख हसिनाको सरकारलाई अगस्ट थालनीमै सत्ताच्युत गराएको थियो।
त्यसयताका दुईवटा जुलाई महिनाहरू राष्ट्रिय स्मरण दिवस, सरकारका उच्च पदाधिकारीद्वारा श्रद्धाञ्जलि अर्पण तथा सहिद मिनारजस्ता ऐतिहासिक स्थलमा आयोजित सभाहरूका कारण चर्चामा रहे। २०२४ को आन्दोलनबाट जन्मिएको विद्यार्थी नेतृत्वको नयाँ दल नेसनल सिटिजन पार्टी (एनसीपी) लगायतका राजनीतिक दलहरूले पनि यस अवसरमा प्रदर्शन र सभा आयोजना गर्दै आएका छन्।
तर यस वर्षको जुलाई केही भिन्न देखिएको छ। अहिले ‘जुलाई’ शब्द आफैँ विभाजनकारी गालीका रूपमा प्रयोग हुने ‘जुलाई सीडीआई भन्ने अभिव्यक्तिको उपसर्ग बनेको छ। एनसीपी र बंगलादेशको सबैभन्दा ठूलो इस्लामवादी दल जमात-ए-इस्लामी घनिष्ठ राजनीतिक साझेदारीमा छन्। यस्तो अवस्थामा बंगलादेश ‘सेख हसिना’ को प्रश्नसँग मात्र जुधिरहेको छैन, बरु एउटा गम्भीर अस्तित्ववादी प्रश्नसँग पनि जुधिरहेको छ- २०२४ को जुलाईमा बगेको यति धेरै रगतको अन्तिम उपलब्धि आखिर के रह्यो?
‘जुलाई सीडीआई’ र सेख हसिनाप्रतिको मोह
यस वर्ष जुलाई १ मा चर्चित बंगलादेशी अभिनेत्री तथा निर्देशक मेहर अफरोज साउनले सामाजिक सञ्जालमा २०२४ को विद्यार्थी आन्दोलनलाई ‘जुलाई सीडीआई’ भनेर विवादास्पद टिप्पणी गरिन्। ‘सीडीआई’ बंगाली भाषामा प्रयोग हुने एउटा अश्लील गाली हो, जुन बंगलादेश र भारतको पश्चिम बंगाल दुवैमा प्रचलित छ।
जुलाई ४ मा द डेली स्टारले साहबाग प्रहरी कार्यालयमा मेहर अफरोज साउन, अभिनेत्री माहिया माही र शान्ता फरजानाविरुद्ध उजुरी दर्ता भएको समाचार प्रकाशित गर्यो। उनीहरूमाथि सामाजिक सञ्जालमार्फत जुलाई आन्दोलनको उपहास गरेको तथा त्यसको स्मारकको अपमान गरेको आरोप लगाइएको थियो।
उजुरीअनुसार शान्ता फरजानाले जुलाई स्मारकतर्फ जुत्ता प्रहार गरेकी थिइन्। साउनले आन्दोलनलाई ‘पूर्वनियोजित नाटक’ भनेर चित्रण गरेको र माहिया माहीले आन्दोलनमा सहभागी व्यक्ति तथा संस्थाको खिल्ली उडाएको आरोप पनि लगाइएको थियो।
त्यसयता बंगलादेशी सामाजिक सञ्जालमा ‘जुलाई सीडीआई’ भन्ने शब्दावली व्यापक रूपमा प्रयोग हुन थालेको छ। भाइरल बनेको एउटा फेसबुक भिडियोमा प्रयोगकर्ता जयतुर्ज चौधरीले ‘जुलाई आन्दोलन’ लाई ‘अपवित्र आन्दोलन’ भन्दै त्यसका समर्थकहरूप्रति अश्लील इसारा गरेका छन्। उनले १९७१ को स्वतन्त्रता युद्धलाई बेवास्ता गर्ने, जमात-ए-इस्लामीका समर्थक तथा अन्य कट्टरपन्थी शक्तिको आलोचना गर्दै ‘जुलाई सीडीआई’ भन्ने अभिव्यक्ति दोहोर्याएका छन्।
यसको प्रतिक्रियास्वरूप अर्को पक्षले ‘मुझिब सीडीआई’ भन्ने शब्द निर्माण गरेको छ। चर्चित युट्युबर एलियास हुसेनले ‘जुलाई सीडीआई’ भन्नेहरूलाई जवाफ दिन अबदेखि ‘मुझिब सीडीआई’ र ‘हसिना सीडीआई’ भन्ने शब्द प्रयोग गरिने बताएका छन्।
‘जुलाई सीडीआई’ को लोकप्रियता किन बढ्दै छ?
बंगलादेशका पूर्वकूटनीतिज्ञ मोहम्मद हारुन अल रसिदका अनुसार सामाजिक सञ्जालमा ‘जुलाई आन्दोलन’प्रति बढ्दो निराशा र त्यसलाई व्यंग्य गर्दै नयाँनयाँ गाली शब्दको प्रयोग हुनुको मुख्य कारण विद्यार्थी आन्दोलनको आवरणमा इस्लामवादी शक्तिहरू सशक्त बनेको भन्ने जनधारणा हो।
उनले भने, ‘पहिले मोहम्मद युनुसले जमात-ए-इस्लामीलगायतका कट्टरपन्थी शक्तिलाई खुला रूपमा अघि बढ्न दिए। अहिले तारिक रहमानले पनि इस्लामवादी शक्तिलाई खुसी पार्ने उही नीति निरन्तरता दिइरहेका छन्। स्वाभाविक रूपमा देशको ठूलो हिस्सा बंगलादेश कुन दिशातर्फ गइरहेको छ भन्ने विषयमा चिन्तित छ।’
बंगलादेशका राजनीतिक पत्रकार साहिदुल हसन खोकोनका अनुसार जुलाई आन्दोलनको दोस्रो वर्ष पूरा भइसक्दा पनि देश अझै ‘सेख हसिना’को प्रश्नबाट मुक्त हुन सकेको छैन।
उनले भने, ‘सेख हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेपछि देश फेरि विभाजित भएको छ। तारिक रहमान नेतृत्वको सरकार दबाबमा परेको छ। अदालतले हसिनालाई मृत्युदण्डको फैसला सुनाइसकेको भए पनि सामाजिक सञ्जालदेखि जनस्तरसम्म उनको उल्लेखनीय समर्थन अझै कायम छ।’
खोकोनका अनुसार ‘जुलाई सीडीआई’ भन्ने अभिव्यक्तिको लोकप्रियताले एउटा स्पष्ट सन्देश दिएको छ- देशको ठूलो जनसमूहले हसिनालाई हटाएपछि बंगलादेश स्वतः राम्रो हुनेछ भन्ने विश्वास गुमाइसकेको छ।
उनले थपे, ‘सरकारी दमन भए पनि अहिले देशभर सेख हसिनाको समर्थनमा खुला जुलुस निस्किरहेका छन्। अर्कोतर्फ तारिक रहमान सरकारले अवामी लिगलाई फेरि निर्वाचन राजनीतिमा फर्कने कानुनी बाटो लगभग बन्द गरिदिएको छ।’
जुलाई आन्दोलनले बंगलादेशलाई एकताबद्ध गर्न नसक्नुको एउटा प्रमुख कारण यसको नेतृत्व कसले गर्यो र किन गरियो भन्ने प्रश्न अझै अनुत्तरित रहनु हो।
हरेक क्रान्तिलाई एउटा अनुहार चाहिन्छ। २०२४ को जुलाई आन्दोलनका लागि त्यो अनुहार अबु सइद बने।
जुलाई १६ मा रंगपुरस्थित बेगम रोकैया विश्वविद्यालयअगाडि प्रदर्शन गरिरहेका आन्दोलित विद्यार्थीमध्ये अबु सइद पनि थिए। उनी प्रदर्शनकारीहरूको सबैभन्दा अगाडि उभिएका थिए, ठिक प्रहरीको बन्दुकको सोझो निसानामा।
त्यसपछि भएका घटनाका भिडियो विभिन्न सञ्चारमाध्यमले कैद गरेका थिए। ती भिडियोमा प्रहरीले अबु सइदमाथि रबरका गोली प्रहार गरेको देखिन्छ। उनी घाइते भएर ढले। साथीहरूले तत्काल उनलाई रंगपुर मेडिकल कलेज अस्पताल पुर्याए। तर चिकित्सकहरूले अस्पताल पुग्नुअघि उनको मृत्यु भइसकेको घोषणा गरे।
दुवै हात फैलाएर प्रहरीलाई गोली चलाउन चुनौती दिइरहेको उनको तस्बिर विद्यार्थी आन्दोलनको प्रतीक बन्यो। त्यो तस्बिर बंगलादेशको सीमाभन्दा बाहिर भारतको कोलकातासम्म पुग्यो र विद्यार्थी, कलाकार तथा चर्चित व्यक्तिहरूमाझ पनि आन्दोलनप्रति ऐक्यबद्धता जगायो।
तर एउटा प्रश्न भने बाँकी रह्यो- अबु सइद वास्तवमा को थिए?
अबु सइदको मृत्यु भएको करिब एक महिनापछि त्यतिबेलासम्म सेख हसिनाको सरकार ढलिसकेको थियो। उनका पिता तथा बंगलादेशका संस्थापक नेता सेख मुजिबुर रहमानका सालिकहरू पनि उग्र भीडद्वारा ढालिएका थिए। अवामी लिग र त्यसको विचारसँग जोडिएका प्रतीकहरू तोडफोड र आगजनीको निसानामा परिरहेका थिए। त्यही बेला नयाँ दिल्लीस्थित एक प्रतिष्ठित रणनीतिक अध्ययन संस्थाले बंगलादेशको विकसित घटनाक्रमबारे बन्द-कक्ष छलफल आयोजना गरेको थियो।
‘चाथम हाउस नियम’ अन्तर्गत सञ्चालन भएको उक्त छलफलमा बंगलादेशका लागि भारतका दुई पूर्वराजदूत, भारतीय सेनाका दुई अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल तथा एक वरिष्ठ पूर्व गुप्तचर अधिकारी सहभागी थिए। छलफलका क्रममा ती पूर्व गुप्तचर अधिकारीले भारतले अबु सइद वरिपरि विकसित भइरहेको व्यक्तिपूजाको संस्कृतिप्रति गम्भीर चासो राख्नुपर्ने बताए।
उनले भने, ‘अबु सइदका फेसबुक पोस्टहरू हेर्दा उनी आफूलाई एउटा विशेष मिसनमा रहेको व्यक्ति ठान्थे। उनले इस्लामी इतिहास, जिहाद र सहादतबाट प्रेरणा लिएका थिए। उनी जमात-ए-इस्लामीका नेता तथा प्रचारक मौलाना देलवार हुसेन सईदीका प्रशंसक थिए। सईदी सन् १९७१ को स्वतन्त्रता युद्धका क्रममा युद्ध अपराधमा दोषी ठहर भएका व्यक्ति हुन्। २०१३ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हत्या, बलात्कार र धार्मिक उत्पीडनलगायत २० मध्ये ८ वटा अभियोगमा उनलाई दोषी ठहर गरेको थियो।’
अबु सइदको फेसबुक गतिविधिमाथि किन निगरानी राखिएको थियो भन्ने जिज्ञासामा ती अधिकारीले जवाफ दिए, ‘भारतको गुप्तचर संयन्त्रले हसिनाविरुद्धको भनिएको विद्यार्थी आन्दोलनका प्रमुख पात्रहरूमाथि निरन्तर निगरानी राखिरहेको थियो। आन्दोलनपछि अबु सइद एकाएक ‘चे ग्वेभारा’ जस्तै क्रान्तिको प्रतीक बने। त्यसैले उनको पृष्ठभूमि गहिरिएर अध्ययन गर्नु आवश्यक थियो। अनुसन्धानले उनी बंगलादेश इस्लामी छात्रशिविरका सदस्य रहेको देखायो, जुन जमात-ए-इस्लामीको विद्यार्थी संगठन हो। उनी मात्र होइन, आन्दोलनमा संलग्न धेरै व्यक्ति त्यही पृष्ठभूमिबाट आएका थिए।’
ती अधिकारीका अनुसार यो आन्दोलन सुरुदेखि नै जमात-ए-इस्लामीको समर्थनमा अघि बढेको थियो। आरक्षण (कोटा) विरोधी आन्दोलन त एउटा बहाना थियो। वास्तविक उद्देश्य सेख हसिनालाई हटाएर उनको विरोधमा रहेका कट्टरपन्थी शक्तिलाई फेरि सत्तामा फर्काउनु थियो। यसबारे हसिनालाई चेतावनी दिइएको थियो।
अबु सइदको प्रसंग मात्र होइन, आन्दोलनपछि जन्मिएको नयाँ पुस्ताबारे पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ। जुलाई आन्दोलन र त्यसपछिका घटनाक्रममाथि आधारित आफ्नो पुस्तक Inshallah Bangladesh: The Story of an Unfinished Revolution लेख्ने क्रममा मैले बंगलादेशका स्वतन्त्र चलचित्र निर्देशक तथा लेखक एफएम साहिनसँग पनि कुरा गरेको थिएँ। उनले भनेका थिए, ‘यो आन्दोलनले अन्ततः ‘डिजिटल रजाकार’ को एउटा नयाँ पुस्ता जन्माएको छ। सामाजिक सञ्जालमार्फत कट्टरपन्थी विचार फैलाउने युवा अहिले देशभर सक्रिय छन्।’
साहिनका अनुसार डिजिटल रजाकारहरू अहिले जताततै छन्- विश्वविद्यालयका क्याम्पसमा, कफी पसलमा, निजी तथा सरकारी कार्यालयमा नयाँ नियुक्त कर्मचारीका रूपमा, सञ्चारमाध्यममा र गैरसरकारी संस्थाहरूमा समेत। उनीहरूबाट उम्किने ठाउँ छैन।
उनले थपे, ‘कहिले उनीहरू सेख मुजिबको घर भत्काउन सडकमा निस्किन्छन्, कहिले अवामी लिगमाथि प्रतिबन्ध लगाउन प्रदर्शन गर्छन्। त्यसपछि आफ्नो दैनिकीमा फर्किन्छन् र सामाजिक सञ्जाल तथा ह्वाट्सएप समूहमा इस्लामवादी सर्वोच्चताको प्रचार गर्न थाल्छन्। यो बंगलादेशका लागि निकै भयावह नयाँ यथार्थ हो।’
रोचक कुरा के छ भने जुलाई आन्दोलनबाट जन्मिएको राजनीतिक दल नेसनल सिटिजन पार्टी (एनसीपी) ले सन् २०२६ फेब्रुअरीको आमनिर्वाचनअघि जमात-ए-इस्लामीसँग चुनावी गठबन्धन गर्यो।
यस निर्णयले एनसीपीभित्रै ठूलो असन्तोष पैदा गर्यो। पार्टीका धेरै शीर्ष नेताले पदबाट राजीनामा दिए र दल गम्भीर आन्तरिक संकटमा फस्यो। यस घटनाले आन्दोलनबारे पहिलेदेखि उठ्दै आएको एउटा आशंकालाई झन् बलियो बनायो-के जुलाई आन्दोलन वास्तवमै सुरुदेखि नै इस्लामवादी शक्तिलाई सत्तामा पुर्याउने योजनाको हिस्सा थियो?
जुलाई आन्दोलनको दोस्रो वार्षिकोत्सवमा आइपुग्दा बंगलादेश एउटा गम्भीर अस्तित्ववादी प्रश्नसँग जुधिरहेको छ- यति धेरै रगत बगाएर अन्ततः के प्राप्त भयो?
बंगलादेशी लेखक सफिकुल इस्लामले डेली वाडामा लेखेका छन्, ‘ढाकाका सडकमा नागरिकहरूले एउटा शोषक अभिजात वर्गलाई हटाएर अर्को शोषक समूहलाई सत्तामा पुर्याउन आफ्नो ज्यान जोखिममा राखेका थिएनन्।’ उनका अनुसार आन्दोलनकारीहरूको आकांक्षा सरकार परिवर्तन गर्ने थिएन।
‘उनीहरूको चाहना संरचनागत परिवर्तन थियो। उनीहरू बंगलादेशलाई वर्षौँदेखि चलिरहेको राजनीतिक प्रतिशोधको दुष्चक्रबाट मुक्त गराई उत्तरदायी राज्य निर्माणको कठिन तर आवश्यक यात्रातर्फ लैजान चाहन्थे’, इस्लामले लेखेका छन्। वास्तविकता फरक देखियो।
सफिकुल इस्लाम लेख्छन्, ‘जुलाई आन्दोलनले एउटा सरकार त हटायो, तर शासन सञ्चालनको आधारभूत चरित्र भने खासै परिवर्तन भएन।’
यसरी हेर्दा सन् २०२४ को जुलाई आन्दोलनले करिब १,४०० जनाको ज्यान लियो, २० हजारभन्दा बढी मानिस घाइते भए, तर त्यसको प्रतिफल भने अपेक्षाअनुसार रूपान्तरणकारी बन्न सकेन।
यति ठूलो रक्तपातपछि बंगलादेशले अझ धेरै उपलब्धि हासिल गर्नुपर्ने अपेक्षा स्वाभाविक थियो।
जुलाई २०२४ को विद्यार्थी आन्दोलन बंगलादेशको इतिहासमा एउटा निर्णायक मोड थियो। त्यसले सेख हसिनाको लामो शासनको अन्त्य गर्यो र नयाँ राजनीतिक युगको ढोका खोल्यो। तर दुई वर्षपछि फर्केर हेर्दा आन्दोलनले बोकेका आशा, आदर्श र अपेक्षामाथि गम्भीर प्रश्नहरू उठ्न थालेका छन्।
विद्यार्थी आन्दोलनको नेतृत्व कसले गर्यो? त्यसको वास्तविक उद्देश्य के थियो? आन्दोलनले लोकतान्त्रिक रूपान्तरणको बाटो खोल्यो कि इस्लामवादी शक्तिको प्रभाव विस्तार गर्यो? यी प्रश्नहरूको उत्तर अझै स्पष्ट छैन।
द प्रिन्टमा प्रकाशित दीप हल्दरको यो सामग्री अंग्रेजीबाट भावनानुवाद गरिएको हो।


