कसैलाई नेताको नजिक हुन परेको होला, कतिलाई पार्टीको नजिक हुन परेको होला। तर स्वतन्त्र विचार राख्नेहरूलाई कसैप्रति भन्दा पनि सुशासनकै पिरलो हुँदो रहेछ। नेपालका राजनीतिक पार्टीहरूले संविधान र आफ्ना विधानलाई अक्षरशः कार्यान्वयन गरून्, आन्तरिक लोकतन्त्रको जगेर्ना गरून् र राष्ट्रिय राजनीतिमा राष्ट्रियता, लोकतन्त्र तथा सामाजिक न्यायप्रति प्रतिबद्ध रहून्- स्वतन्त्र नागरिकको अपेक्षा यत्ति नै हो।
देशमा न्यायको प्रत्याभूति होस्, भ्रष्टाचार अन्त्य होस्, सभ्य समाज निर्माण होस्, नैतिकवान् नागरिक तयार होऊन्, सन्तुलित परराष्ट्र नीति अवलम्बन होस् र कल्याणकारी राज्य निर्माण होस् भन्ने चाहना हुनु कुनै दलविशेषप्रतिको आग्रह होइन। यो सुशासन र लोकतन्त्रप्रतिको सामान्य नागरिक अपेक्षा हो।
नेपालको अग्रणी राजनीतिक पार्टी नेपाली कांग्रेसमा राष्ट्रिय अधिवेशनलाई लिएर २०८२ भदौदेखि सुरु भएको विवाद नियमित महाधिवेशन र विशेष महाधिवेशनको बहस हुँदै झन् जटिल बन्दै गएको छ। पार्टीभित्रको यो किचलोले संगठनलाई मात्र कमजोर बनाएको छैन, जनतामाझ पार्टीको छविमाथि पनि प्रश्न उठाएको छ।
नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन पक्षधरले महाधिवेशन गरेर नेतृत्वसमेत परिवर्तन गर्यो। त्यसपछि निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस सहभागी भयो। एकाधबाहेक अधिकांश नेता नयाँ नेतृत्वलाई स्वीकार गर्दै टिकट लिएर निर्वाचनमा होमिए। तर पार्टीभित्रको लामो किचलो र तत्कालीन राजनीतिक परिस्थितिको असर निर्वाचन परिणाममा पनि देखियो। प्रतिनिधिसभामा दोस्रो दल बने पनि कांग्रेस झिनो संख्यामा सीमित हुन पुग्यो।
प्रजातन्त्रको हिमायती र समाजवादको पक्षधर भनेर गर्व गर्ने नेपाली कांग्रेस आफ्नै आन्तरिक समस्या समाधान गर्न नसकेर एकले अर्कालाई गालीगलौज र आरोपप्रत्यारोप गर्ने अवस्थामा पुग्नु आफैँमा विडम्बना हो।
नेतृत्व कि अभिभावकत्व?
पार्टीभित्रको यो अवस्था किन आयो? यसको एउटा प्रमुख कारण नेतृत्वमा पुस्तान्तरणको अभाव र गुटगत स्वार्थ हुन सक्छ। हिजो पार्टीमा योगदान गरेको भन्दैमा आजको बदलिँदो परिवेशमा पनि आफू नै नेतृत्वमा रहिरहनुपर्छ भन्ने सोचलाई मात्र योगदान भन्न मिल्छ? योगदानको एउटा महत्त्त्वपूर्ण रूप अभिभावकत्व लिनु पनि होइन र?
आफ्ना बाउआमा र आफन्तको आडमा राजनीति गर्ने ‘नेपो बेबी’ प्रवृत्तिविरुद्ध आवाज उठिरहेको समयमा राजनीतिक दलहरूले पनि नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने वातावरण बनाउनुपर्ने होइन र? एक्काइसौँ शताब्दीको डिजिटल युगमा देशलाई हाँक्न सक्ने नयाँ नेतृत्वको विकास गर्नु राजनीतिक दलहरूको जिम्मेवारी होइन?
वयोवृद्ध नेताले अभिभावकत्व लिने र नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउन सकिएमा पुस्तान्तरण पनि हुन्छ र अनुभव तथा ऊर्जाबीचको सन्तुलन पनि कायम हुन्छ।
दशकौँदेखि एउटै व्यक्ति वा समूह नेतृत्वमा हाबी भइरहने, नेतृत्व अनुकूल हुने गरी क्रियाशील सदस्यता वितरणमा विवाद उठ्ने, सक्रिय कार्यकर्ता ओझेलमा पर्ने र आफूअनुकूल परिस्थिति नबनेसम्म अधिवेशन टार्ने प्रवृत्तिले पार्टीको संगठनात्मक लोकतन्त्र कमजोर बनाउँछ।
स्थानीय तहमा कार्यकर्तासँग जोडिनुभन्दा नेताको चाकरीबाट नेतृत्वमा पुग्ने प्रवृत्ति र त्यस्ता व्यक्तिको कुरा सुन्ने नेतृत्वले पार्टीलाई जनताबाट टाढा पुर्याउँछ। पार्टी नेतृत्वको मूल्यांकनको आधार व्यक्तिगत निकटता होइन, संगठनप्रतिको योगदान र जनतासँगको सम्बन्ध हुनुपर्छ।
संस्थापन र संस्थापनइतरको राजनीति कहिलेसम्म?
कार्यकर्तालाई ‘संस्थापन कांग्रेस’ र ‘संस्थापनइतर कांग्रेस’मा विभाजन गरेर राख्ने परम्परा लोकतान्त्रिक पार्टीको चरित्रसँग कति मेल खान्छ? पराजित पक्षले समानान्तर गतिविधि गर्ने र विजयी पक्षले त्यसलाई निषेध गर्ने प्रवृत्तिको इतिहास नेपाली कांग्रेसभित्र नयाँ होइन। तर इतिहासमा भएको अभ्यासलाई निरन्तरता दिनु नै त्यसको औचित्य पुष्टि हुनु पनि होइन।
पार्टीभित्र विचारका आधारमा बहस हुनु लोकतन्त्र हो। तर व्यक्ति र समूहका आधारमा स्थायी गुट निर्माण हुनु संगठनात्मक कमजोरी हो।
साँच्चिकै पार्टीलाई जनपक्षीय र समाजसेवी बनाउने हो भने नेपाली कांग्रेसले कृष्णप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर जबरा, गणेशमानसिंह श्रेष्ठ, कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधिजस्ता अग्रज नेताहरूको आदर्शबाट प्रेरणा लिनुपर्छ।
बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई भाषणको विषय बनाएर पुग्दैन। त्यसलाई व्यवहारमा उतार्नुपर्छ। प्रजातन्त्रको कुरा गर्ने पार्टी आफैँभित्र प्रजातान्त्रिक संस्कार देखिनुपर्छ। संविधान, पार्टी विधान र निर्देशिकालाई व्यवहारमा उतार्नुपर्छ।
अधिवेशन नियमित हुनुपर्छ
नेपाली कांग्रेसले आफ्नो आन्तरिक लोकतन्त्र बलियो बनाउने हो भने पार्टीको विधानअनुसार स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मका अधिवेशन नियमित रूपमा गर्नुपर्छ। भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पनि लामो समयसम्म नेतृत्वविहीन राख्नु हुँदैन।
टीका लगाएर नेतृत्व चयन गर्ने परिपाटी निरुत्साहित गरी गोप्य, निष्पक्ष र प्रतिस्पर्धात्मक मतदान प्रणालीलाई संस्थागत गर्नुपर्छ। आआफ्ना समूह खडा गरेर संगठन कब्जा गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।
पार्टीको संरचना समावेशी र समतामूलक हुनुपर्छ। महिला, युवा तथा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। आवश्यक परे निश्चित तहमा युवा सहभागिताको कोटा निर्धारण गर्न सकिन्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, पार्टीलाई व्यक्ति र गुट केन्द्रित होइन, विचार, नीति र एजेन्डा केन्द्रित बनाउनुपर्छ।
भ्रष्टाचारविरुद्ध पार्टीभित्रै सुशासन
देशमा भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाउने राजनीतिक दलले आफ्नै संगठनमा आर्थिक पारदर्शिता र सुशासनको अभ्यास गर्न नसके त्यसको नैतिक बल कमजोर हुन्छ।
पार्टीको आर्थिक स्रोत, खर्च र निर्णय प्रक्रियामा पारदर्शिता आवश्यक छ। आर्थिक अनियमिततामार्फत पार्टीभित्र प्रभाव विस्तार गर्न खोज्ने प्रवृत्तिबाट संगठनलाई जोगाउनुपर्छ। सत्ता प्राप्त गरेपछि सुशासन कायम गर्छु भन्ने दलले त्यसको अभ्यास पार्टीभित्रैबाट सुरु गर्नुपर्छ।
नेपाली कांग्रेसभित्र सबैभन्दा खट्किएको अर्को विषय योग्यताको कदर हो। पार्टीले टिकट वितरणदेखि विभिन्न जिम्मेवारी तथा नियुक्तिसम्म योग्यता र क्षमतामा आधारित प्रणाली विकास गर्नुपर्छ। नेतृत्वसँगको निकटता, गुटगत सम्बन्ध वा व्यक्तिगत पहुँचभन्दा क्षमता, योगदान र जनसम्बन्धलाई प्राथमिकता दिने संस्कार विकास हुनुपर्छ।
जब योग्यताको कदर हुँदैन, पार्टी कमजोर हुन्छ। पार्टी कमजोर हुँदा सरकार कमजोर हुन्छ। सरकार कमजोर हुँदा सार्वजनिक प्रशासन र संवैधानिक संस्थाहरूको प्रभावकारितामाथि पनि प्रश्न उठ्छ।
त्यसैले योग्यताको कदर केवल पार्टी संगठनको विषय होइन, राज्य सञ्चालनको विषय पनि हो।
भ्रातृ संगठनलाई गुटको छायाबाट मुक्त गरौँ
पार्टीका नेताहरूको गुटगत प्रवृत्तिले भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई समेत प्रभावित गरेको देखिन्छ। पार्टी तथा नेतृत्वलाई खबरदारी गर्ने, आवश्यक पर्दा वैचारिक दिशानिर्देश दिने र समाजसँग पार्टीको सम्बन्ध बलियो बनाउने संगठनहरू आफैँ नेतृत्वविहीन र दिशाहीन हुनु दुःखद् हो।
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालजस्ता बौद्धिक संगठनको भूमिका त झन् महत्त्वपूर्ण हुन्छ। विश्वविद्यालय, शिक्षा, कानुन, चिकित्सा, इन्जिनियरिङ, विज्ञान, कृषि, वन, समाजशास्त्र, सार्वजनिक प्रशासन र परराष्ट्रजस्ता विविध क्षेत्रका विज्ञ तथा बौद्धिक व्यक्तिहरू जोडिएको यस्तो संस्थाले पार्टी र देशका संकटका बेला बहसको मञ्च निर्माण गर्न सक्नुपर्छ।
तर विधानले तोकेको समयभन्दा कैयौँ गुणा बढी समयसम्म पनि आन्तरिक निर्वाचन हुन नसक्नु आफैँमा गम्भीर प्रश्न हो। प्रजातन्त्रवादी संगठनभित्रै आन्तरिक लोकतन्त्र कमजोर भयो भने त्यसले बाहिर लोकतन्त्रको पक्षमा गर्ने वकालत कति प्रभावकारी होला?
त्यसैले भ्रातृ तथा शुभेच्छुक संगठनलाई नेताको गुटको छायाबाट मुक्त गरी स्वतन्त्र, वैचारिक र व्यावसायिक बनाउन आवश्यक छ।
संवादबाट निष्कर्षतर्फ
नेपाली कांग्रेसका लागि अहिले सबैभन्दा आवश्यक कुरा आरोपप्रत्यारोप होइन, संवाद हो। ‘वादेवादे जायते तत्त्वबोधः’ भनेझैं बहसबाट निष्कर्षमा पुग्ने लोकतान्त्रिक संस्कृति विकास गर्नुपर्छ। असहमति पार्टीको कमजोरी होइन। असहमतिलाई व्यवस्थापन गर्न नसक्नु कमजोरी हो।
नेतृत्वमा अभिभावकत्व र नयाँ पुस्तामा नेतृत्व विकास सँगसँगै अघि बढ्नुपर्छ। अग्रजको अनुभव र युवाको ऊर्जा जोड्न सकियो भने मात्रै पार्टीले बदलिँदो समयलाई सम्बोधन गर्न सक्छ।
नेपाली कांग्रेसले अब अनिर्णयको बन्दी भएर बस्ने होइन, आफ्ना कमजोरीको निर्मम समीक्षा गर्नुपर्छ। नियमित अधिवेशनको ग्यारेन्टी गर्नुपर्छ। क्रियाशील सदस्यताको विवादलाई पारदर्शी बनाउनुपर्छ। उम्मेदवार छनोटमा योग्यता र जनस्वीकृतिलाई आधार बनाउनुपर्छ। आर्थिक पारदर्शिता कायम गर्नुपर्छ। भ्रातृ संगठनलाई चलायमान बनाउनुपर्छ। पुस्तान्तरणलाई स्वीकार गर्नुपर्छ।
नेपालका ठूलाठूला राजनीतिक आन्दोलनको नेतृत्व गरेको र संकटका बेला देशलाई निकास दिएको नेपाली कांग्रेस दिशाहीन भयो भने त्यसको क्षति कांग्रेसले मात्र व्यहोर्ने छैन, मुलुकले पनि व्यहोर्नुपर्नेछ। त्यसैले कांग्रेसको पुनर्जागरण केवल नेतृत्व परिवर्तनको प्रश्न होइन। यो आन्तरिक लोकतन्त्र, वैचारिक स्पष्टता, पुस्तान्तरण, सुशासन र राजनीतिक संस्कारको पुनर्निर्माणको प्रश्न हो।
चोइटिएका मनलाई जोड्ने पहल अब आवश्यक छ। गुटका पर्खाल भत्काएर संवादको ढोका खोल्नुपर्छ। अग्रजले अभिभावकत्व र नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउनुपर्छ। इतिहासको गौरवमा मात्र रमाएर भविष्य निर्माण हुँदैन। इतिहासबाट शिक्षा लिएर वर्तमान सुधार्न र भविष्य निर्माण गर्नुपर्छ। कांग्रेस बलियो हुनु भनेको एउटा पार्टी बलियो हुनु होइन; नेपालको लोकतान्त्रिक अभ्यास थप बलियो हुनु हो। नेपाली कांग्रेसले इतिहासबाट प्राप्त जिम्मेवारी बोक्न सक्यो भने लोकतन्त्र थप बलियो बनाउन सक्छ।



