काठमाडौँ- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्।
बिहीबार शितल निवासमा शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरुले मन्त्री साहलाई मन्त्रालयमा स्वागत गरेका थिए।
पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री साहले विगतमा भएका काम र प्रगतिको जानकारी लिएर आफूले काम सुरु गर्ने बताए।
आम नागरिकले ग्यास पाउने/नपाउने विषयमा पत्रकारको प्रश्नमा उनले मन्त्रालयभित्र छलफल गरेर मात्र ठोस निर्णय दिने जवाफ दिए। जनताका आधारभूत आवश्यकता पूरा गर्नैपर्ने र त्यसका लागि मन्त्रालयको पूर्वतयारी र अवस्था बुझेर अगाडि बढ्ने उनको भनाइ छ।
उनले मन्त्रालयका सम्पूर्ण टिमको सहयोगमा ‘राष्ट्र पहिलो’ भन्ने मूल नाराका साथ काम अघि बढाउने प्रतिबद्धता जनाए।


