काठमाडौँ– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव रहने जनाएको छ।
हाल कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लागेको छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ। देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्कासम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति देशभर साधारणतया बादल लागेर कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुने अनुमान छ। साथै बागमती र गण्डकीका हिमाली भू-भागका थोरै स्थान तथा कोशी र बागमतीका पहाडी, मधेस र कोशीको तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
भोलि बिहीबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमतीका हिमाली भू-भागका केही स्थान र बाँकी हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी, मधेस, बागमतीका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
बिहीबार राति कोशी, मधेस, बागमती र गण्डकी लगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागमा अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णालीका केही स्थान तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।



