उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साह
काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन वर्तमान सरकार निजी व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री साहले सरकार जनतासँगै निजी क्षेत्रसँग पनि उत्तरदायी रहेकाले सहकार्यका लागि तयार रहेको बताए।
चिनी उद्योगहरु बन्द हुने अवस्थामा रहे पनि कसैको चिन्ता नदेखिएको भन्दै उनले चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादन र कृषि पारिस्थितिकी प्रणालीलाई जोड्न सुझाव दिए।
चिनी उद्योगका लागि जग्गा दिने तर उत्पादनमा ध्यान नदिने प्रवृति पनि नीतिगत भ्रष्टाचार भएको उनको भनाइ छ। उनले ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा हुने अवरोध युक्रेन–रूस र इरान–अमेरिका द्वन्द्व जस्ता बाह्य कारणले भएकाले बाह्य आयातमा मात्र भर नपरी स्वदेशी बिजुली र ब्रिकेटको प्रयोग बढाउनुपर्ने बताए।
उनले आवश्यक नीति बनाएर दिर्घकालीन रुपमा ग्यासको सहज आपूर्ति र वितरण गर्न मन्त्रालयले आवश्यक काम सुरु गरिसकेको जानकारी दिए।
बैठकमा व्यवसायीहरुले औद्योगिक विकास क्षेत्रका जग्गाहरु रहे पनि प्राप्त गर्न असहज भएको गुनासो गरेका थिए।
उनीहरुले उद्योग सञ्चालनका लागि विद्युत् आपूर्ति भरपर्दो बनाउन समेत आग्रह गरेका थिए। बैठकले औद्योगिक करिडोरका लागि जग्गा व्यवस्थापनको समस्या समाधान गर्न उद्योग मन्त्रालयको ध्यानाकर्षण गराएको छ।



