काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा यही भदौ १० गते आएको भीषण बाढीपछि विद्यालय जान नपाएका बालबालिकाको पढाइ निरन्तर राख्न शिक्षा तथा खेलकुद मन्त्रालयले आश्रयस्थलमै बाल मनोविज्ञानमा आधारित गतिविधि सञ्चालन गरिरहेको छ।
बाढीबाट प्रभावित भई अस्थायी आश्रयस्थलमा बसिरहेका बालबालिकालाई पढाउने, खेलाउने र मनोसामाजिक रूपमा सहयोग गर्ने कार्यक्रम सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।
बालबालिकाको सिकाइ प्रक्रिया अवरुद्ध नहोस् र उनीहरू विपद्को त्रासबाट बाहिर निस्कन सकून् भन्ने उद्देश्यले चित्रकला, खेलकुद तथा अन्य सिर्जनात्मक गतिविधि सञ्चालन गरिएको हो।
मन्त्रालयका अनुसार यस्ता गतिविधिले बालबालिकामा आत्मविश्वास बढाउन, मानसिक तनाव कम गर्न र नयाँ आशा जगाउन सकारात्मक भूमिका खेलेका छन्।
यस्तै, बाढीबाट प्रभावित अन्य नागरिकलाई पनि मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइँदै आएको छ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले दैनिक रूपमा परामर्श सेवा सञ्चालन गर्दै प्रभावितलाई आवश्यक मनोवैज्ञानिक सहयोग उपलब्ध गराइरहेका छन्।
मन्त्रालयले विपद्का कारण प्रभावित बालबालिकाको शिक्षा निरन्तरता र मानसिक स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राखेर स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ।


