फाइल तस्बिर
काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले राज्यशक्तिलृ तर्साउने भाषा प्रयोग गरेर सत्ताको दम्भ देखाउन खोजेको आरोप लगाएका छन्।
‘सरकारको काम कानुन कार्यान्वयन गर्ने हो। नागरिकलाई तर्साउने होइन,’ आङदेम्बेले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले राज्यशक्ति जनतालाई तर्साउन प्रयोग भए लोकतन्त्र नरहने जिकिर गरेका छन्।
‘हेक्का रोहस्–राज्यशक्ति जनतालाई तर्साउन प्रयोग भयो भने त्यो लोकतन्त्र हुँदैन,’ आङदेम्बेले भनेका छन्,‘त्यो सत्ताको दम्भ हुन्छ। प्रश्नविनाको राज्य सम्भव छैन। प्रश्नको हत्या गरेर लोकतन्त्र जीवन्त रहन सक्दैन। कांग्रेस जीवन्त प्रश्नमा लोकतन्त्रको जीवन देख्छ, चेतना होस्।’
उनले सरकारको कानुनी भाषा हराउँदै गएको र धम्कीको भाषा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सरकार हिँड्न खोजेको बाटोबारे उनले प्रश्न गरेका छन्।
‘सरकारको कानुनी भाषा हराउँदैछ। धम्कीको भाषा बढ्दैछ। म एकदमै चिन्तित छु। सरकार हिँड्न खोजेको बाटो कुन हो? ठम्याउन सकेको छैन,’ उनले भनेका छन्।
चुनावका बेला वर्तमान प्रधानमन्त्रीले ठेकेदारलाई रुखमा बाँध्ने, बाटोमा सुताउने र खोरमा थुन्ने चेतावनी आएदेखि यस्ता धम्की एकपछि अर्को मन्त्री र सत्तापक्षीय सांसदबाट आइरहेको उनको भनाइ छ।
‘भौतिकमन्त्री ठेकेदारको खुट्टा भाच्ने भन्छन्। तत्कालीन उद्योगमन्त्री ग्यास उद्योगीको पाता कस्ने चेतावनी दिन्छिन्। सत्तापक्षीय केही सांसद प्रहरीका एसपीलाई सडकमा घिसार्ने र प्रश्न गर्ने जनतालाई थुन्ने चेतावनी दिन्छन्,’ आङदेम्बेले भनेका छन्,‘कानुन बनाउन नसकेपछि कानुनमन्त्री राष्ट्रियसभालाई दोष दिनुहुन्छ। विगतमा पटकपटक कानुनी विवादमा परेका व्यक्तिलाई साक्षी राखेर गृहमन्त्री अरू दलका नेताहरूलाई ‘सुध्रिन’ चेतावनी दिन्छन्। आफ्नो कार्यशैलीचाहिँ सुधार्नु पर्दैन?’
उनले भोटेकोशी र त्रिशूलीको बाढीले आफन्त गुमाएका नागरिकले आफ्ना मान्छेको खोजी र उद्धारका लागि सरकारसँग गुहार माग्दा सत्ता समर्थितहरूबाट अपारधिक मानिसकताले भरिएको धम्की आउने गरेको उल्ले गरेका छन्।
‘अर्कोतिर, व्यवसायीमाथि धरपकड हुन्छ। जेनजी अभियन्तामाथि दमन हुन्छ। आलोचना र अहसमतिप्रति सरकार आक्रामक देखिन्छ,’ उनले भनेका छन्।


