सामुदायिक विद्यालय सुधारमा उदाहरणीय भूमिका खेलेका प्रधानाध्यापक गौतम सम्मानित

हिमाल प्रेस २५ माघ २०८२ १३:०४ | Sunday, February 8, 2026
50
SHARES
सामुदायिक विद्यालय सुधारमा उदाहरणीय भूमिका खेलेका प्रधानाध्यापक गौतम सम्मानित

काठमाडौँ- सामुदायिक विद्यालयलाई आकर्षक बनाउँदै शैक्षिक नतिजा सुधार र विश्वस्तरीय शिक्षाको आधार तयार गर्न उल्लेखनीय भूमिका खेलेका रानीदेवी माध्यमिक विद्यालय, रानीबारी, काठमाडौँका प्रधानाध्यापक नारायणप्रसाद गौतम उत्कृष्ट प्रधानाध्यापकका रूपमा सम्मानित भएका छन्।

नेपाल शिक्षक संघ काठमाडौँ महानगर कार्यसमितिको छैटौँ प्रतिनिधिसभाको अवसरमा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट योगदान पुर्‍याएको मूल्यांकनका आधारमा गौतमलाई सम्मान गरिएको हो।

शिक्षण पेसालाई केवल पेसा नभई सेवाका रूपमा ग्रहण गर्ने प्रधानाध्यापकको रूपमा परिचित गौतमले असल प्रधानाध्यापक भए विद्यालय शिक्षा सुधार सम्भव हुन्छ भन्ने मान्यतालाई व्यवहारमा उतारेको उदाहरण प्रस्तुत गरेका छन्।

सम्मानपछि प्रतिक्रिया दिँदै प्रधानाध्यापक गौतमले आफूलाई प्रदान गरिएको सम्मान सम्पूर्ण विद्यालय परिवार र सरोकारवालाको साझा योगदानको परिणाम भएको बताए।

उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रशन्न नरसिंह राणालगायत सम्पूर्ण समिति, काठमाडौँ महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रेम थापा तथा वडा समिति, विद्यालयका निवर्तमान प्रधानाध्यापक रामजी गौतम, शिक्षक, कर्मचारी, काठमाडौँ महानगरपालिका र शिक्षा विभाग परिवार, अभिभावक, विद्यार्थी तथा परिवारजनप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

नेपाल शिक्षक संघ काठमाडौँ महानगर कार्यसमितिद्वारा आयोजित ‘स्थानीय प्रतिनिधि सभा, सम्मान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम’ महर्षि कलेज, गोंगबुमा सम्पन्न भएको थियो।

कार्यक्रममा विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो। जसअन्तर्गत उत्कृष्ट विद्यालय, उत्कृष्ट प्रधानाध्यापक, नव नियुक्त प्रधानाध्यापक, एसईई २०८१ मा ४.० जीपीए प्राप्त विद्यार्थीहरू, शिक्षक, विद्यार्थी हितकारी अक्षयकोष २०८० मा सहयोग गर्ने दाताहरू तथा उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको थियो।

कार्यसमितिका सचिव विनोद कुमार ओझाले कार्यक्रमको सफलताले सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रकाशित: २५ माघ २०८२ १३:०४ | Sunday, February 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast