काठमाडौँ- शिक्षा क्षेत्र सुधार, शिक्षक कर्मचारीको पेसागत स्थायित्व र संगठनात्मक एकतालाई मूल एजेन्डा बनाउँदै नेपाल शिक्षक संगठन घोषणा गरिएको छ। नवगठित संगठनको संयोजक शंकर अधिकारी चयन भएका छन्।
शनिबार राजधानीमा आयोजित एकता घोषणा कार्यक्रमबाट एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठन (विद्रोही) बीच एकता गरी नेपाल शिक्षक संगठन घोषणा गरिएको हो।
संयोजक अधिकारीले संगठनलाई आम शिक्षक कर्मचारीको भरोसायोग्य साझा मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।नयाँ नेतृत्वले शिक्षा क्षेत्रमा देखिएका दीर्घकालीन समस्या समाधानलाई प्राथमिकतामा राख्दै विद्यालय शिक्षा विधेयकलाई नयाँ संसदबाट पारित गराउन दबाबमूलक कार्यक्रम सञ्चालन गरिने जनाएको छ।
राहत, अस्थायी, बालविकास, विद्यालय कर्मचारी तथा साविक उच्च माध्यमिक तहका शिक्षक कर्मचारीको स्थायित्व सुनिश्चित गर्न द्रुत पहल गरिने बताइएको छ।
त्यसैगरी गोल्डेन ह्यान्डसेकमा जान चाहने शिक्षक कर्मचारीका लागि स्थायी शिक्षक सरह अवसर उपलब्ध गराउनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहने शिक्षक कर्मचारीलाई पनि ऐनमार्फत स्पष्ट व्यवस्था गर्नुपर्ने विषयलाई संगठनले प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ।
संयोजक अधिकारीले ९ बुँदे सहमति कार्यान्वयन, गुणस्तरीय शिक्षालाई शिक्षक कर्मचारीको साझा कर्तव्यका रूपमा स्थापित गर्ने कार्ययोजना निर्माण, प्रविधिमैत्री नेतृत्व विकास तथा शिक्षण प्रणालीको आधुनिकीकरणमा संगठन सक्रिय रहने जानकारी दिए।
परिवर्तित राजनीतिक र सामाजिक सन्दर्भमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई अझ प्रभावकारी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्ने, समाजवादी चेत भएका छरिएका शिक्षक कर्मचारी संगठनलाई एकताबद्ध गर्ने तथा तोकिएको समयभित्र संगठनको महाधिवेशन सम्पन्न गरी लोकतान्त्रिक रूपमा नेतृत्व हस्तान्तरण गर्ने लक्ष्यसमेत अघि सारिएको छ।
सम्मेलनबाट सहसंयोजकमा चयन हिक्मत बस्नेतलगायत सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधिहरूलाई बधाई दिँदै साझा उद्देश्य र साझा संकल्पका साथ अघि बढ्न नवनियुक्त संयोजकले आह्वान गरे।
नेपाल शिक्षक संगठन निर्माणका लागि सम्मेलन सफल पार्न योगदान पुर्याउने सम्पूर्ण नेतृत्व, कार्यकर्ता तथा प्रतिनिधिप्रति आभार व्यक्त गरिएको छ।
सम्मेलनमा उपस्थित भई मार्गदर्शन गर्ने नेपाली कम्युनिस्ट पार्टीका नेताहरू अग्नि प्रसाद सापकोटा, जगन्नाथ खतिवडा, प्रेमलाल कुमार खनाल, भोला सापकोटा, पूर्ण दवाडीसहित नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।



