‘असफल’ चार पूर्वशिक्षामन्त्री चुनावी मैदानमा

हिमाल प्रेस १९ माघ २०८२ १२:१९ | Monday, February 2, 2026
90
SHARES
‘असफल’ चार पूर्वशिक्षामन्त्री चुनावी मैदानमा

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालिसकेका चार जना पूर्वमन्त्री प्रत्यक्षतर्फ चुनावी मैदानमा छन्। मन्त्रीकालको उपलब्धिभन्दा राजनीतिक पहिचान र दलगत आधार कै भरमा पुनः जनमत माग्दै उनीहरू चुनावी मैदानमा होमिएका हुन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट देवेन्द्र पौडेल (पश्चिम नवलपरासी-२), गिरिराजमणि पोखरेल (महोत्तरी-१) र शिशिर खनाल (काठमाडौँ-६) उम्मेदवार बनेका छन् भने महावीर पुन म्याग्दी-१ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन्।

यी चारै जनाको कार्यकाललाई सफल मानिएको छैन। बारम्बार मन्त्री फेरिनु, नीतिगत स्थिरता नहुनु, सार्वजनिक शिक्षाको गुणस्तरमा अपेक्षित सुधार नआउनु र ठोस सुधार कार्यक्रम कार्यान्वयन नहुनुले उनीहरूको कार्यकाल आलोचित भयो। शिक्षा सुधारका ठूला एजेन्डा घोषणा भए पनि व्यवहारमा देखिने गरी परिवर्तन आउन सकेन।

मन्त्री पदमा हुँदा पटकपटक सहमति गर्ने तर कार्यान्वयन नगर्ने उनीहरूको प्रवृत्तिसँग नेपाल शिक्षक महासंघ, सरोकालवाला, पेसागत संघसंगठन सन्तुष्ट छैनन्।

जेनजी आन्दोलनपछि बनेको गैरदलीय सरकारमा शिक्षामन्त्री बनेका महावीर पुन मन्त्री पद सम्हाल्दा नै मिश्रित प्रतिक्रिया पाएका थिए। उनीबाट सुधारको अपेक्षा उच्च भए पनि कार्यकाल छोटो र परिणाम कमजोर मानिएको थियो।

प्रत्यक्षतर्फ उम्मेदवारी दिनु अघि उनले माघ ५ गते मन्त्री पदबाट राजीनामा दिएका थिए। हाल म्याग्दीमै रहेर प्रचारमा जुटेका पुन फरक र अनौठो शैलीका कारण चर्चामा छन्। तर शिक्षामन्त्रीका रूपमा ठोस उपलब्धि नदेखिएको आलोचना पनि भइरहेको छ।

दुई पटक शिक्षामन्त्री बनेका गिरिराजमणि पोखरेल यसपटक पनि महोत्तरी-१ बाट चुनावी मैदानमा छन्। २०७२ सालमा ९ महिना र २०७४ सालमा ३२ महिना गरी लामो समय मन्त्रालय सम्हाले पनि उनको कार्यकालमा शिक्षा क्षेत्रमा संरचनात्मक सुधार हुन सकेन। २०६४, २०७० र २०७४ मा यही क्षेत्रबाट निर्वाचित पोखरेल २०७९ मा भने एमालेका लक्ष्मी महताे कोइरीसँग पराजित भएका थिए।

२०७८ सालमा शिक्षामन्त्री बनेका देवेन्द्र पौडेलले पनि शिक्षा क्षेत्रमा दीर्घकालीन प्रभाव छोड्न सकेनन्। नीति छलफल र घोषणामै सीमित रहनु र कार्यान्वयन पक्ष कमजोर हुनु उनको कार्यकालको मुख्य आलोचना हो। यसपटक उनी पश्चिम नवलपरासी-२ बाट नेकपाको उम्मेदवार बनेर चुनावी प्रचारमा छन्।

त्यस्तै, करिब एक महिना शिक्षामन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि काठमाडौँ-६ बाट पुनः उम्मेदवार बनेका छन्। नयाँ सोच र सुधारको अपेक्षा गरिए पनि उनको कार्यकालमा पनि शिक्षा क्षेत्रमा उल्लेखनीय नतिजा आएन। शिक्षा सुधारका योजना बनाउँदा बनाउँदै उनी पदमुक्त भएका थिए। रास्वपाका प्रभावशाली नेतामध्ये एक मानिने खनाल अहिले मतदाताबीच सक्रिय प्रचारमा जुटिरहेका छन्।

प्रकाशित: १९ माघ २०८२ १२:१९ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast