मधेशमा ‘बालेन कार्ड’ खेल्दै रास्वपा!

गोपाल झा २८ पुष २०८२ २१:१३
16
SHARES
मधेशमा ‘बालेन कार्ड’ खेल्दै रास्वपा!

‘अब नयाँ र युवा पुस्ता’ अनि ‘नो नट अगेन’ जस्ता नारासहित उदाएका एउटा राजनीतिक दलमा पनि एकपछि अर्को गरी पुराना पार्टीहरू मिसिने र पुरानै अनुहार थपिने क्रम जारी छ। पुराना दलहरू र तिनका नेताहरूलाई कामै नलाग्ने र विगत तीन दशकसम्म मुलुकमा कुनै विकास नभएको भाष्य खडा गरेर आफूहरू मात्र देशको मुहार फेर्न सक्छौँ भन्ने दाबी गर्नेहरूको पनि एकपछि अर्को चरित्र उदांगो हुँदै गइरहेको छ। अनि भएका विकासलाई छोप्ने र केही नभएको भाष्य निर्माण गर्नेहरू अहिले अलमलमा देखिएका छन्।

उनीहरूको गतिविधि नियाल्दा वास्तविक लक्ष्य सत्ता र शक्तिमा रमाउनुबाहेक अरू केही नभएको प्रस्ट हुन्छ। तर एउटा तप्का जसले विगत पढेकै छैन त्यसलाई मलमलमा पार्न उनीहरू केही हदसम्म सफल देखिएका छन्। यसका साथै उनीहरू कसको इसारामा नाँच्दै छन् भने पनि बुझ्न सजिलै छ। कुरा प्रस्ट छ- नेपाललाई एक रणभूमि बनाउने र पहिला उत्तरको छिमेकी चीनलाई अप्ठ्यारोमा धकेल्ने अनि दक्षिणको भारतलाई पनि अस्थिर बनाई राख्ने । किनभने यी दुवै मुलुक एसियामा मात्र हैन विश्वमै महाशक्तिका रुपमा उदाइरहेका छन, जुन आफूलाई पहिलो विश्व ठान्ने पश्चिमा शक्तिहरूको प्रभुत्वविरुद्धमा एक चुनौती बनेको छ। पश्चिमाहरूमा यी दुई उदीयमान सुपर पावरप्रति ईर्ष्या रहेको बुझ्न कठिन छैन।

यही पृष्ठभूमिबाट यहाँ अनेकन् प्रयास नभएका होइनन्।  मधेश आन्दोलनको इतिहास याल्दा यो स्पष्ट हुन्छ कि तराई/मधेशका बासिन्दाहरूले लामो समयदेखि पहाडी अभिजात वर्गबाट भोगेको बहिष्करण र भेदभावविरुद्ध लडाइँ लडेका छन्। १९८३ मा गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना परिषद् गठन गरेर सांस्कृतिक र भाषिक अधिकारको आवाज उठाएदेखि नै यो आन्दोलनको जग बस्न थालेको थियो।

२००७ मा मधेशी जनअधिकार फोरम (एमजेएफ) को नेतृत्वमा भएको पहिलो ठूलो आन्दोलनले नागरिकता, प्रतिनिधित्व र संघीयताको मागलाई जोड दियो, जसले सयौँको ज्यान लियो र हजारौँ घाइते भए। २०१५ को आन्दोलन र सीमा बन्दले संविधानमा मधेशीहरूको समावेशीकरणको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍यायो, तर पहाडी नेतृत्वले यसलाई ‘भारतीय प्रभाव’ भनेर बदनाम गर्दै दबाउने प्रयास गरे।

यो आन्दोलनले संघीयता र गणतन्त्र बलियो बनाए पनि वास्तविक उपलब्धि भने सीमित रह्यो- मधेशीहरू अझै पनि आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि छन्। आलोचनात्मक रूपमा हेर्दा यो आन्दोलनलाई मधेशी नेताहरूले नै बारम्बार आफ्नो व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गरेका छन्, जसले गर्दा साँचो परिवर्तन हुन सकेन र मधेशका जनता ठगिएका मात्र छन्।

यो युवा पुस्ता भन्नेमा झन् देखएिको छ। उनीहरूको गतिविधि हेर्दा वास्तविक लक्ष्य सत्ता र शक्तिमा रमाउने बाहेक अरू केही देखिँदैन। यसका साथै उनीहरू कसको इसारामा नाचिरहेका छन् भन्ने कुरा बुझ्न त्यति असहज पनि छैन्। कुरा प्रस्ट छ- नेपाललाई एक रणभूमि बनाउँदै सुरुमा उत्तरी छिमेकी चीनलाई अप्ठ्यारोमा धकेल्ने, अनि दक्षिणी छिमेकी भारतलाई पनि अस्थिर बनाउने खेलमा अधिक युवा सामेल भइसकेका छन्।

किनभने दुवै देश एसियामा मात्र होइन, विश्वकै महाशक्ति बन्ने होडमा अघि बढेका छन्, जसले पश्चिमा शक्तिहरूको प्रभुत्वलाई चुनौती दिइरहेका छन्। पश्चिमाहरूमा यी दुई उदीयमान सुपरपावरहरूप्रति ईर्ष्या पनि झल्किन्छ। उनीहरूलाई चीन विश्वकै एक आर्थिक महाशक्ति बन्न लागेको कुरा किमार्थ स्वीकार्य लाग्दैन। साथै, नेपालका दुई नजिकका छिमेकी भारत र चीनलाई एक ठाउँमा उभिन दिनु हुँदैन भन्ने अघोषित लक्ष्य पनि लिएको देखिन्छ, जसलाई विभिन्न घटनाक्रमहरूले उजागर गरिसकेका छन्।

ती शक्तिहरूको लक्ष्य एकातिर छ भने यसको प्रारम्भिक निसाना भने एक सुन्दर र शान्त देशको रूपमा चिनिएको नेपाल नै हो, जहाँबाट उनीहरूलाई आफ्ना रणनीतिक गतिविधिहरू सञ्चालन गर्न सजिलो छ। केही कथित सभ्रान्त र तरकारी फलफूल बेच्ने अर्थात गुजारा गर्ने वर्गका पैसाको लागि जे पनि गर्ने चरित्रका कारण नेपाल उनीहरूका लागि उर्वरभूमि बनेको भन्दा गलत नहोला। यो कुरा अहिले नयाँ आएका शक्तिले या त बुझेको छैन वा यसमा उपयोग भएका छन वा उनीहरूलाई देशको भविष्यप्रति सरोकार छैन।

उही सत्ता र शक्तिका लागि जेसुकै पनि गर्ने प्रवृत्ति एकपछि अर्को देखिन थालेको छ उनीहरूमा पनि। यसमा अलिक गहिरिएर बुझ्ने हो भने यस उद्देश्यका लागि पात्रहरूको खोजी एकदुई वर्षदेखि मात्र होइन, यो वर्षौँ अघिको खोजी र उनीहरूमा गरिएको लगानीबाट आएको देखिन्छ। किनभने विभिन्न पात्रहरूले उनीहरूबाट विभिन्न बहानामा ठूलै आर्थिक सहयोग पाइरहेको बुझिएको छ, जसका एकपछि अर्को प्रमाणहरू उजागर भइरहेका छन्।

यस्तै पात्रहरूमध्ये एक हुन् काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ (बालेन शाह), जो मधेशी मूलका त हुन् तर आत्मामा मधेशप्रति थोरै पनि कदर नभएका व्यक्ति। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक रणनीति हेर्दा यो दलले २०२२ मा भ्रष्टाचारविरोधी र सुशासनको नारासहित युवा र डायस्पोराको समर्थनमा उल्लेखनीय सफलता हासिल गरेको थियो। तर आलोचनात्मक रूपमा विश्लेषण गर्दा, यो रणनीति अब पुराना दलहरूको जस्तै देखिन थालेको छ- विवेकशील साझा, नागरिक उन्मुक्ति र उज्यालो नेपाल जस्ता दलहरूसँग मर्जर गर्दै पुराना अनुहारहरूलाई भित्र्याउने, जेन-जी आन्दोलनको गति क्यास गर्ने र मधेश कार्ड खेल्ने।

यस्ता मर्जरहरूले दललाई बलियो बनाउने दाबी गरिए पनि वास्तवमा यसले मूल उद्देश्यलाई धुमिल पार्दै छ, नेतृत्व संकट र पहिचानको द्वन्द्वले दललाई ‘पुरानो राजनीति’ कै लाइनमा लैजान लागेको देखिन्छ। मधेशजस्ता संवेदनशील मुद्दालाई रणनीतिक रूपमा प्रयोग गर्दा यो दलले साँचो परिवर्तन ल्याउने होइन, मात्र सत्ता कब्जा गर्ने खेल खेलिरहेको जस्तो देखिन्छ, जसले मधेशी जनताको आन्दोलनको इतिहासलाई नै मजाक बनाउन सक्छ।

पात्र चयन गर्ने रणनीतिकारहरूलाई राम्रोसँग थाहा छ कि काठमाडौँमा आएर बसेका अधिकांश मधेशीहरूमा एउटा अनौठो मनोविज्ञान उत्पन्न भएको देखिन्छ। उनीहरू सभ्रान्त देखिन नेपाल देशको स्थापना कालदेखि नै शासन गर्दै आएका शासक वर्गजस्तै आफूलाई देखाउने र व्यवहार पनि गर्ने। यसका लागि उनीहरू आफ्नो वास्तविक पहिचान लुकाउन प्रयत्नरत रहन्छन्। यस मनोविज्ञानबाट ग्रसित अनेकौँ उदाहरण मध्ये एक यस पंक्तिकार स्वयंले अनुभूत गरेको घटना यहाँ राखिएको छ, जो बालेनको व्यवहारसँग मेल खान्छ।

२०४५ सालतिरको कुरा हो। यस पंक्तिकार एक उच्च सरकारी ओहदामा कार्यरत एक मधेशी कर्मचारीको निवासमा कुनै काम विशेषले भेट्न गएको थियो। बैठककोठामा बसिरहेको यस आगन्तुकबारे एकजना महिलाले— सम्भवतः उनकी पत्नीले— को भेट्न आएको सोध्दा, एक बालकले ‘एउटा मदिसे आएको’ भनेर जवाफ दिँदा पंक्तिकार आश्चर्यचकित पर्‍यो। किनभने एक मधेशी परिवारमा पनि बच्चाहरूलाई आफ्नो पहिचान लुकाउन त्यतिबेला नै सिकाइएको देखियो, नत्र त्यो बालक आफ्नो घरमा आएका आगन्तुकप्रति शब्द जे भए पनि त्यस्तो अपमानजनक ढंगले प्रयोग गर्ने थिएनन्। र विडम्बना के छ भने उनी २०६२-०६३ को आन्दोलनबाट स्थापित नयाँ संविधानअन्तर्गत मधेशकेन्द्रित दलको कोटामा एक उच्च संवैधानिक ओहदा पनि प्राप्त गरे।

काठमाडौँमा मधेशीलाई हेय गरी प्रयोग गर्ने शब्द ‘मदिसे’ हो, तर यसमा अचेल निकै परिवर्तन भएको देखिन्छ। यस्ता शब्दहरू प्रायः प्रयोग गरिँदैनन्। तर बालेनजस्ता कैयौँ यस्ता मधेशी छन् जो आफूलाई मधेशी कहलाउन सहज मान्दैनन्। बालेनले टोपी लगाउँदैमा उनीमाथि प्रश्न गरेको कदापि होइन, किनभने त्यो उनको रोजाइ हो र हाम्रो साझा टोपीलाई सम्मान गर्नु पनि पर्छ। तर उनले यहाँ काठमाडौँमा रहेका साइकलमा तरकारी बेच्ने र कवाडी व्यापारीहरू — जो अधिकांश मधेशी छन् — लाई गरेको व्यवहारबाट उनमा मधेशी आत्मा या त मरिसकेको देखाउँछ वा उनी आफ्नो पहिचान लुकाएर राजनीतिक लाभ लिन रहस्यमय रूपमा रणनीति लिएर बसेका हुन सक्छन्।

बालेनको मधेशप्रतिको लगाव तत्काल एक ढोंग हो, जुन माध्यमबाट उनलाई राजनीतिक अभीष्ट पूरा गर्नु छ। उनले आफ्नो संरक्षकको उद्देश्य पूरा गर्नु छ, जो एक खास उद्देश्यका साथ नेपाललाई एक रणभूमिमा परिणत गर्न उद्यत छन्। बालेन आफैँमा राजनीतिक संस्कार बोकेको नेता भएको भए उनी सबै तपकाका मानिसहरूसँग घुलमिल भइसकेका हुन्थे, तर उनी केही समूहबाट मात्र परिचालित भएकाले कहिल्यै आमजनतासँग संवाद गर्दैनन्।

काठमाडौँका केही अभिजात वर्गका सीमित व्यक्तिको संगत गर्ने नेता हुन् बालेन।  उनलाई मधेशसँगको सरोकार न्यून नै छ। उनमा राजनीतिक चेतको अभाव मात्र होइन, उनमा समाजको तल्लो वर्गका मानिसप्रति कुनै समवेदना छैन। उनले काठमाडौँमा कवाडी र दैनिक सडकपेटीमा व्यापार गरेर गुजारा गरिरहेकाहरूप्रति गरेको व्यवहारबाट प्रस्ट हुन्छ। उनको गरिब निमुखासँग कुनै मतलब छैन। उनी प्रवेश गरेको पार्टी पनि संघीयता र गणतन्त्रप्रति प्रस्ट छैन।

बुझ्नुपर्ने कुरा के छ भने देशमा कसैलाई संघीयता बढी चाहिएको हो भने त्यो मधेशी समुदाय नै हो। यसले आफ्नो उपादेयता सावित गर्न सक्यो कि सकेन, त्यो एउटा बहसको विषय हुन सक्छ, तर यथार्थमा देशको सार्वभौम अखण्डता राख्न पनि यो आवश्यक छ, जसप्रति बालेन स्वयं पनि ढुलमुल विचार राख्छन्।

यतिबेला फागुन २१ मा हुने भनिएको आम चुनावका लागि राजनीतिक हलचल बढ्न थालेको छ र बालेन अहिले रास्वपाको प्रचारका लागि मधेश घुम्न लागेको सुनिएको छ। उनीमाथि दाउ लगाएर रास्वपाले मधेश कार्ड खेल्ने रणनीति लिएको पनि हुन सक्छ। र यसैअन्तर्गत बालेन टोपी उतारेर भोटका लागि धोती–कुर्ता नलगाए पनि गम्छा अवश्य धारण गर्नेछन्। तर आफ्नो थरमा पातलो ‘स’ को स्थानमा मोटो ‘श’ राखेर उनी शाहज्यादा बन्न खोजेको देखिन्छ। हुन त त्यो उनको व्यक्तिगत विषय हो । तर सार्वजनिक व्यक्ति भएकाले यति कुरा भन्न परेको हो।

यस्ता नक्कली पहिचान बनाउने व्यक्तिको छद्म नाटक मञ्चनबाट मधेशी जनता भूलभुलैयामा पर्ने वाला छैन, किनभने यस्ता थुप्रै मञ्चन विगतमा पनि भएका छन्, जसबाट मधेश ठगिएको छ। मधेशी जनताहरू मधेशी अनुहार होइन, मधेशी आत्मा भएको नेताको खोजीमा छन्, जसले उनीहरूको आर्थिक, सामाजिक र राजनीतिक हैसियतलाई बढाओस् र उनीहरूको स्वाभिमानको कदर गरोस्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast