बाल शिक्षकलाई एक महिनासम्म तालिम, तोकियो कोटा

हिमाल प्रेस २७ जेठ २०८३ १४:४५ | Wednesday, June 10, 2026
986
SHARES
बाल शिक्षकलाई एक महिनासम्म तालिम, तोकियो कोटा बाल विकास शिक्षक । प्रतिनिधिमूलक तस्बिर ।

सुनसरी- कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा तालिम केन्द्र, इनरुवा, सुनसरीले सामुदायिक विद्यालयका बालविकास शिक्षकहरूका लागि एक महिने शिक्षक व्यावसायिक विकास प्रमाणीकरण तालिम सञ्चालन गर्ने भएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरबाट स्वीकृत वार्षिक कार्यक्रमअनुसार शैक्षिक जनशक्ति विकास परिषदद्वारा स्वीकृत पाठ्यक्रम, २०८२ बमोजिम उक्त तालिम सञ्चालन गर्न लागिएको हो।

तालिम १५ दिन केन्द्रमा आधारित र १५ दिन विद्यालयमा आधारित गरी कुल १ महिनाको हुने जनाइएको छ। तालिम २०८३ असार ४ गतेदेखि असार १८ गतेसम्म शिक्षा तालिम केन्द्र, इनरुवा, सुनसरीमा सञ्चालन हुनेछ। तालिम प्रत्येक दिन बिहान १०:०० बजेबाट सुरु हुने बताइएको छ।

तालिममा हालसम्म टीपीडी प्रमाणीकरण तालिम नलिएका बालविकास शिक्षकहरूलाई जिल्लागत कोटाका आधारमा सहभागी गराइनेछ। कोटाअनुसार झापाबाट ६ जना, मोरङबाट ७ जना, सुनसरीबाट ७ जना, धनकुटाबाट ५ जना र उदयपुरबाट ५ जना शिक्षक सहभागी हुनेछन्।

सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमार्फत योग्य शिक्षकहरू छनोट गरी तालिममा पठाउन अनुरोध गरिएको छ।

तालिमका लागि सम्पर्क व्यक्तिका रूपमा रेवन्तबहादुर बस्नेत तोकिएको छ।

प्रकाशित: २७ जेठ २०८३ १४:४५ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast