नयाँ शक्ति स्थापनाको १० वर्ष, आत्मसमीक्षा र आगामी कार्यदिशा

कृष्ण शर्मा ३० जेठ २०८३ ७:१३ | Saturday, June 13, 2026
22
SHARES
नयाँ शक्ति स्थापनाको १० वर्ष, आत्मसमीक्षा र आगामी कार्यदिशा

आज नयाँ शक्ति पार्टी नेपालको स्थापना भएको दस वर्ष पूरा भएको छ। २०७३ जेठ ३० गते डा. बाबुराम भट्टराईको अगुवाइमा देशका विभिन्न कुनाकाप्चाबाट काठमाडौँको दशरथ रंगशालामा उपस्थित विशाल जनसमुदायबीच प्रगतिशील, लोकतान्त्रिक तथा वैकल्पिक राजनीतिको पक्षमा दृढतापूर्वक समर्पित रहने संकल्पसहित नयाँ शक्ति पार्टी नेपालको उद्घोष गरिएको थियो। नयाँ शक्ति स्थापना हुँदा ‘अबको निकास-आर्थिक विकास’ ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने मूल नारा थियो। नेपालको राजनीतिमा यो एउटा महत्त्वपूर्ण र युगान्तकारी राजनीतिक परिघटना थियो, जसले नयाँ, अग्रगामी तथा वैकल्पिक राजनीतिक शक्तिको निर्माण र विकासका लागि नयाँ सम्भावनाको ढोका खोलेको थियो। यो नेपाली राजनीतिमा एक नयाँ खुडकिलो थियो अर्थात् वैचारिक राजनीतिक क्षेत्रमा नया छलाङ थियो।

संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको थियो। राजनीतिक परिवर्तन र रूपान्तरणका दृष्टिले यो ऐतिहासिक उपलब्धि थियो। तर राजनीतिक उपलब्धि दिगो र सुरक्षित बनाउन आर्थिक तथा सामाजिक रूपान्तरण अपरिहार्य थियो। जबसम्म देशलाई गरिबी, बेरोजगारी, पिछडिएको उत्पादन प्रणाली,राजनीतिक अस्थिरता र सुशासनको अभावबाट मुक्त गर्न सकिँदैन, तबसम्म राजनीतिक उपलब्धि पनि स्थायी हुन सक्दैनन् भन्ने निष्कर्ष नयाँ शक्तिको वैचारिक आधार थियो।

वास्तवमा नयाँ शक्ति पार्टीको स्थापना २००७ देखि २०७२ सालसम्मको लोकतान्त्रिक आन्दोलन, संघर्ष र विद्रोहको चरणबाट उत्पादन, विकास, रोजगारी र समृद्धिको नयाँ चरणमा देशलाई प्रवेश गराउने ऐतिहासिक आवश्यकताको परिणाम थियो। पुराना राजनीतिक शक्तिहरूले राजनीतिक परिवर्तनको नेतृत्व गरे तापनि आर्थिक रूपान्तरणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न असफल भएको निष्कर्षसहित नेपालको राजनीतिक प्रणालीको पुनर्गठन,राजनीतिक शक्तिहरूको रूपान्तरण, नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र नवनिर्माणका लागि नयाँ, अग्रगामी तथा वैकल्पिक शक्तिको निर्माण गर्ने प्रयास गरिएको थियो।

वैकल्पिक राजनीतिको वैचारिक आधार

नयाँ शक्तिको अवधारणामा २१औँ शताब्दीको आवश्यकताअनुरूप नयाँ राजनीतिक दृष्टिकोणको खोजीमा अन्तर्निहित थियो। पुँजीवाद र राज्य-नियन्त्रित साम्यवादका परम्परागत मोडेलहरूले मानव समाजका समकालीन चुनौतीहरूको समुचित समाधान दिन नसकेको यथार्थलाई आत्मसात् गर्दै व्यक्तिको स्वतन्त्रता, सामाजिक न्याय, वैज्ञानिक मानवतावाद तथा समतामूलक समृद्धिमा आधारित नयाँ राजनीतिक दृष्टिकोणको विकास गर्ने प्रयत्न गरिएको थियो।

यसै आधारमा राष्ट्रिय स्वाधीनता, समावेशी लोकतन्त्र, सुशासन, समतामूलक समृद्धि र समुन्नत समाजवादलाई राजनीतिक कार्यदिशाका रूपमा अघि सारिएको थियो। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक प्रतिनिधित्व तथा राष्ट्रिय एकताको नयाँ अवधारणाले यही वैचारिक दिशालाई प्रतिनिधित्व गर्दथ्यो।

देशका मूलभूत समस्याको समाधानका लागि स्वाधीनता, सुशासन,समृद्धि, सहभागितामूलक समावेशि लोकतन्त्र/संघीयता र समुन्नत समाजवाद यी पाँच ‘स’ लाई आधार बनाइयो। यही उद्देश्यका साथ २०७४ सालमा लुम्बिनी संकल्प पारित गरियो तथा मध्यपहाडी पदयात्रामार्फत विचार, राजनीति र संगठनलाई जनस्तरसम्म पुर्‍याउने प्रयास गरियो।

उपलब्धि, संघर्ष र सीमाहरू

स्थापनाको एक दशकपछि फर्केर हेर्दा नयाँ शक्ति गठनदेखि प्रगतिशील लोकतान्त्रिक पार्टी पुनर्गठनसम्म आऊदा वैकल्पिक राजनीतिको आवश्यकता र औचित्यलाई राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्न महत्वपूर्ण योगदान गरेको देखिन्छ। सुशासन, उत्पादन, रोजगारी, नेतृत्व हस्तान्तरण, पुस्तान्तरण, समावेशी लोकतन्त्र तथा राजनीतिक दलहरूको पुनर्गठनजस्ता विषय आज राष्ट्रिय राजनीतिक बहसका प्रमुख एजेन्डा बनेका छन्।

तर राजनीतिक विचारलाई संगठनात्मक शक्ति र जनाधारमा रूपान्तरण गर्न भने हामी सफल हुन सकेनौँ।

२०७४ सालको स्थानीय निर्वाचनमा आफ्नै चुनाव चिह्न प्राप्त गर्न नसक्नु नयाँ शक्तिका लागि प्रारम्भिक ठूलो धक्का थियो। त्यसपछि विभिन्न राजनीतिक शक्तिसँग हतारमा गरिएको एकीकरण, ध्रुवीकरण र सहकार्यका प्रयासहरूले पनि अपेक्षित परिणाम दिन सकेनन्। जनजाति आन्दोलन, मधेश केन्द्रित शक्तिहरू तथा पछि माओवादीसँग गरिएको सहकार्यले वैकल्पिक राजनीतिको स्वतन्त्र पहिचानलाई बलियो बनाउनुभन्दा उल्टै धुमिल र कमजोर बनायो।

अग्रगामी शक्तिहरूको व्यापक ध्रुवीकरणमार्फत नयाँ राजनीतिक शक्ति निर्माण गर्ने हाम्रो प्रयास सकारात्मक उद्देश्यबाट प्रेरित भए पनि त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न सकेनौँ। यथास्थितिवादी सोच, सत्तामुखी प्रवृत्ति तथा वैचारिक विचलनका कारण ती प्रयासहरू असफल भए। समयमै यो यथार्थलाई सही रूपमा मूल्याङ्कन गर्न नसक्नु र गलत राजनीतिक निष्कर्षहरूबाट पर्याप्त शिक्षा लिन नसक्नु हाम्रो कमजोरी थियो।

आत्मसमीक्षाका प्रश्न

आज नयाँ शक्ति स्थापनाको दसौँ वर्षगाँठ मनाइरहँदा हामीले केही गम्भीर प्रश्नहरूको सामना गर्नुपर्छ।

के हामीले नयाँ विचारलाई स्पष्ट र व्यवस्थित वैचारिक रूपरेखामा विकास गर्न सक्यौँ?
* संगठनात्मक स्थायित्व र संस्थागत क्षमता किन निर्माण हुन सकेन?
* विचारअनुसारको जनआधार किन विस्तार हुन सकेन?
* नया शक्ति गठन देखी प्रलोपा सम्म आऊदा हामी क्रमशः किन साँघुरिँदै गयौँ?
* नेतृत्व तहमा वैचारिक स्पष्टता, नीतिगत स्थिरता र लोकतान्त्रिक संस्कार अपेक्षित रूपमा किन विकास हुन सकेन?
* नयाँ राजनीतिक संस्कृति निर्माण गर्ने हाम्रो दाबी व्यवहारमा किन पूर्ण रूपमा स्थापित हुन सकेन?

यी प्रश्नहरूको उत्तर अब भाषण, घोषणा र सेमिनारबाट मात्र होइन; व्यवहार, आचरण, कार्यशैली र परिणामबाट दिनुपर्ने समय आएको छ।

वर्तमान राजनीतिक सन्दर्भ

निर्वाचनमार्फत नया दल सत्तामा आए पनी नेपाल आज पनि गंभीर भु राजनीतिक समस्या,आर्थिक संकट, बेरोजगारी, भ्रष्टाचार तथा कमजोर सुशासनका समस्याबाट ग्रसित छ। पुराना राजनीतिक दलहरूप्रति जनविश्वास क्रमशः कमजोर हुँदै गएको छ। यद्यपि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता दलहरू अझै पनि राज्यका प्रमुख संस्थाहरूमा प्रभावशाली छन्। त्यसैले उनीहरू पूर्ण रूपमा इतिहासको गर्तमा विलीन भइसकेका छन् भन्ने निष्कर्ष वस्तुगत हुँदैन।
राजनीतिक मूल्यांकन भावनात्मक होइन, यथार्थपरक हुनुपर्छ।

तर यो पनि उत्तिकै सत्य हो कि वर्तमान संकटको समाधान पुरानै सोच,शैली र अभ्यासबाट सम्भव देखिँदैन। यसको समाधान अझ उन्नत विचार, नयाँ नेतृत्व, नयाँ राजनीतिक संस्कृति र परिणाममुखी लोकतान्त्रिक अभ्यासबाट मात्र सम्भव छ।

लोकतन्त्रको विकल्प अझ उन्नत, जनउत्तरदायी, सहभागितामूलक र परिणाममुखी लोकतन्त्र हो।

भावी कार्यदिशा

आजको आवश्यकता वैकल्पिक राजनीतिको पुनर्संरचना र पुनर्गठन हो। यसका लागि सम्पूर्ण अग्रगामी, लोकतान्त्रिक तथा परिवर्तनकारी शक्तिहरूबीच नयाँ सहकार्य आवश्यक छ।

हामीले निम्न कार्यसूचीलाई राष्ट्रिय बहसको विषय बनाउनुपर्छ ।

• राजनीतिक अस्थिरताको दीर्घकालीन समाधानका लागि शासकीय स्वरूपमा सुधार गर्ने।
• संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा मुख्यमन्त्री प्रणालीबारे बहस अघि बढाउने।
• भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली तथा अधिकारसम्पन्न जनलोकपाल स्थापना गर्ने।
• उत्पादन, रोजगारी र समतामूलक समृद्धिलाई राष्ट्रिय प्राथमिकता बनाउने।
• सहभागितामूलक लोकतन्त्रलाई संस्थागत गर्ने।
• सार्वजनिक सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने।
• संघीयताको कार्यान्वयनमा देखिएका विकृति र विसंगतिहरू सुधार गर्ने।
• नयाँ राजनीतिक संस्कृति, नयाँ नेतृत्व र नयाँ कार्यशैलीको विकास गर्ने।

निष्कर्ष

नयाँ शक्तिको एक दशकको यात्रा उपलब्धि, संघर्ष, प्रयोग, सफलता र असफलताहरूको मिश्रित अनुभव हो। वैकल्पिक राजनीतिको आवश्यकता समाप्त भएको छैन; बरु देशको वर्तमान अवस्थाले यसको आवश्यकता झन् बढाएको छ।

तर वैकल्पिक शक्ति बन्न केवल नयाँ विचार पर्याप्त हुँदैन। त्यसलाई संगठन, नेतृत्व, राजनीतिक संस्कार, जनविश्वास र परिणाममा रूपान्तरण गर्न सक्नुपर्छ।

आजको दिनमा हामीले आफ्नै कमजोरीहरूको इमानदार समीक्षा गर्दै वैचारिक, संगठनात्मक तथा नेतृत्वगत पुनर्गठनमार्फत नयाँ शक्तिलाई पुनर्स्थापित गर्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीलगायत उदाउँदा राजनीतिक शक्तिहरूको उदयलाई पूर्वाग्रहविहीन ढङ्गले मूल्याङ्कन गर्दै आवश्यकताअनुसार रचनात्मक सहयोग तथा तथ्यमा आधारित आलोचना गर्नु नै लोकतान्त्रिक परिपक्वताको परिचायक हुनेछ।

नयाँको विकल्प पुरानो होइन; अझ परिष्कृत, परिमार्जित र उन्नत नयाँ शक्ति हो।

विगतबाट शिक्षा लिऔँ, वर्तमानलाई यथार्थपरक दृष्टिले बुझौँ र भविष्यप्रति आशावादी रहँदै नयाँ ऊर्जा, नयाँ नेतृत्व, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कृतिसहित अगाडि बढौँ।

भविष्य उज्ज्वल छ, यदि हामी रूपान्तरणकारी राजनीतिलाई आत्मसात गरेर विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने क्षमता पनि निर्माण गर्न सफल हुन्छौँ भने।

[शर्मा  प्रगतिशील लोकतान्त्रिक पार्टीका  निर्वाचन आयोग प्रमुख हुन्।]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast