काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशनपछि पार्टीभित्र दुई लाइन संघर्ष देखा परेको छ। पार्टीमा देखा परेको दुई लाइन संघर्षले अध्यक्ष केपी शर्मा ओलीको मनोमानी कम हुने विश्वास एमाले नेताहरूले गरेका छन्। यसबाट पार्टी संगठन चुस्तदुरुस्त बन्ने उनीहरू बताँछन्। अघिल्लो कार्यकालमा दुई लाइन नहुँदा अध्यक्ष केपी शर्मा ओलीमाथि मनलाग्दी रूपमा पार्टी चलाएको आरोप लागेको थियो। अब भने त्यस्तो नहुने नेताहरू बताउँछन्।
एउटा लाइनको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् भने अर्को लाइनको संघर्ष ईश्वर पोखरेलले गरेका छन्। अध्यक्षमा चुनाव जितेर ओली फेरि शक्तिमा पुगेका छन्। पोखरेल पक्ष भने कमजोर देखिएको छ।
ओली पदाधिकारीमा अत्यधिक बहुमतसहित तेस्रोपल्ट पार्टी अध्यक्ष बनेका हुन्। १९ सदस्यीय पदाधिकारीमा पोखरेल समूहबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकामध्ये दुई नेताले मात्रै आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन्। यसपटक ओलीसहित उनको बहुसंख्यक टिम एमाले नेतृत्वमा आएको छ।
केन्द्रीय सदस्यमा पनि ओली समूहकै दबदबा देखिएको छ। ओलीले सूचीमा राखेका अधिकांश नेताहरूले चुनाव जित्दा पोखरेल समूहको हार भयो। पोखरेल समूहले शनिबार महाधिवेशनको समीक्षा गरेको छ। पोखरेल पक्षीय नेताहरूका अनुसार महाधिवेशन स्वच्छ र निष्पक्ष नबनेको निष्कर्ष छ।
‘महाधिवेशन प्रतिनिधिहरूलाई दबाबमा राखियो। आफ्ना समूहका नेताहरूलाई मत हाल्न दबाब दिइयो’, पोखरेल समूहका एक नेताले भने, ‘सामान्य कुरामा त सहमति हुन्छ। निर्णायक कुरामा फरक मत राख्ने प्रयत्न चल्नेछ।’
नेकपा एमालेमा नवौँ महाधिवेशन २०७१ यता ओलीको मनोमानी चल्दै आएको छ। त्यसअघि पनि पार्टीमा दुई लाइन संघर्ष थियो। ओलीको एकछत्र राजपछि भने इतर पक्ष बिस्तारै किनारा लाग्दै आएको छ।
आठौँ महाधिवेशनमा ओली र झलनाथ खनाल प्रतिस्पर्धामा उत्रिएका थिए। खनालले जित्दा ओलीको हार भयो। ओलीले निरन्तर पार्टीभित्र संघर्ष गरे। उनी नवौँ महाधिवेशनमा अध्यक्ष बने। तत्कालीन समयमा माधवकुमार नेपालसँग ओलीले चुनाव जितेका थिए।
एघारौँ महाधिवेशनसम्म आइपुग्दा माधव–झलनाथ पार्टीबाटै निस्किए र ओलीको राज चल्यो। दसौँ महाधिवेशनमा पनि ओलीले चाहेकै नेताहरूको जित भएको थियो। ओलीसँग भीम रावलले प्रतिस्पर्धा गरे पनि नतिजा ओलीकै पक्षमा आएको थियो। रावलले प्यानल बनाएर नभई व्यक्तिगत रूपमा मात्र प्रतिस्पर्धा गरेका थिए। रावललाई ओलीले पार्टीबाटै निकालिदए। अब भने पोखरेल पक्षले ओलीका गतिविधिमा अंकुश लगाउने रणनीति लिएको छ।
एघारौँ महाधिवेशन ओलीको चाहनाअनुसार हुन पाएन। ओलीविरुद्ध टिम खडा भयो। पोखरेल निकट नेताहरूका अनुसार ओलीविरुद्ध टिम खडा गर्नु उनीहरूको जित हो। ‘आन्तरिक लोकतन्त्र कमजोर बन्न दिनुहुन्न भन्नेमा हाम्रो जित भयो।चुनावमा जित जसको भए पनि एजेन्डा हाम्रो जित भयो’, पोखरेल पक्षीय नेत्री उषाकिरण तिम्सेनाले भनिन्।
नेताहरूका अनुसार ११ औँ महाधिवेशनले एमालेको नवौँ महाधिवेशनको झल्को दिएको छ। नवौँ महाधिवेशनमा एकातिर ओली र अर्कातिर माधव नेपालको प्यानल खडा भएको थियो। ११ औँ महाधिवेशनमा ओलीसँग पराजय भोग्नु परे पनि इतरपक्षीय नेताहरूको मनोबल उच्च देखिएको छ। पार्टीभित्र आफ्नो विरोध गर्नेलाई ‘भित्ता’ मा पुर्याउने ओली-प्रवृत्तिका बाबजुद नेताहरू प्यानलै बनाएर चुनावी मैदानमा होमिए। ओलीसँग पराजित भएका नेताहरूले महाधिवेशनका बेला उठाएका मुद्दाहरूलाई निरन्तरता दिने प्रस्ट संकेत दिएका छन्।
महाधिवेशनमा ओलीसँग पराजय भोगेका ईश्वर पोखरेल पक्षको शनिबार भएको भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरणलगायतका मुद्दालाई पार्टीको विधि विधानभित्र बसेर निरन्तर उठाउने निर्णय गर्यो। पोखरेल समूहबाट उपमहासचिवमा निर्वाचित योगेश भट्टराईले पार्टीका विभिन्न तहमा आफ्ना विचारहरुलाई छलफलमा लैजाने बताए।
उनले पार्टीको मतपरिणामका कारण विचलित नहुन नेताहरुलाई आग्रह गरिएको र पार्टीलाई थप एकता र सुदृढ बनाउन भूमिका खेल्ने अठोट गरिएको धारणा राखे।
भट्टराईले पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने निर्णय गरिएको जानकारी दिए। त्यस्तै उनले पार्टीभित्र कुनै अराजनीतिक बार्गेनिङ नगर्ने स्पष्ट पारे।
‘अब इतर पक्षले आफ्नो एजेन्डा अघि सार्ने, निर्णय प्रक्रियामा एकलौटी हुन नदिने, खास मुद्दामा फरक मत पनि राख्ने काम गर्छन् जस्तो लाग्छ’, राजनीतिक विश्लेषक झलक सुवेदीले भने, ‘फरक धार बनाउने काम निरन्तर लाग्ने अनुमान छ।’
पोखरेल पक्षको गतिविधिबाट ओली सन्तुष्ट छैनन्। ओलीले महाधिवेशनपछि गुटको बैठक राखेको भन्दै पोखरेल पक्षमाथि प्रश्न उठाएका छन्। ‘अहिले त्यसरी ईश्वरजीले बैठक किन राख्नुभयो, थाहा भएन,’ ओलीले एक टेलिभिजन अन्तरवार्तामा भनेका छन्, ‘बैठक राख्दा पनि सोध्न सकिन्थ्यो। के हाम्रो बोलीचाली नै बन्द भा हो र?’ ओलीले भनेका छन्।
इतरपक्षबाट महासचिवमा पराजित सुरेन्द्र पाण्डेले ओलीलाई गरेको अपिलबाट पनि बुझ्न सकिन्छ कि इतर पक्ष निरन्तर सक्रिय हुनेछ। पाण्डेले सामाजिक सञ्जालमा ओलीलाई अनुरोध गर्दै आफूलाई केन्द्रीय सदस्य मनोनीत नगर्न अनुरोध गरेका छन्। ‘मलाई केन्द्रीय सदस्यमा मनोनीत नगर्नुहोला।
म फिल्डमै खटिन्छु’, पाण्डेले लेखेका छन्। इतरपक्षले महाधिवेशनबारे देशव्यापी समीक्षा गर्ने बताएको छ। ‘अध्यक्ष (ओली)ले ल्याउने सकारात्मक प्रस्तावहरूलाई हामी समर्थन गर्नेछौँ। तर पार्टी एकता भङ्ग गर्ने, पक्षपात देखाउने, गुटबन्दी र विभाजन सिर्जना गर्ने वा व्यक्तिहरूलाई आंशिक व्यवहार गर्ने प्रस्ताव आएमा पार्टीभित्रै रहेर त्यसको प्रतिरोध गर्नेछौँ’, पोखरेल पक्षबाट उपमहासचिव बनेका योगेश भट्टराईले भनेका छन्।
‘ग्रासरुट’मा दरिलो भएको दाबी
इतरपक्षले निरन्तर संघर्ष गर्ने बताउनुको प्रमुख कारण हो, ओलीसँग असन्तुष्ट जनता। ओली जेनजी आन्दोलनका बेला निसानामा परेपछि बालुवाटारबाटै हेलिकप्टरमा चढेर सुरक्षित स्थानमा भागेका थिए।
जानकारहरुका अनुसार ओली भदौ २३ को नरसंहारको जिम्मा लिनुपर्ने बाध्यकारी अवस्थामा छन्। उनका पछिल्ला अभिव्यक्तिले पनि उनको हतासपन देखाउँछ। अध्यक्ष चुनिएपछि ओलीले एमाले नेतृत्वलाई छोए सरकार ढाल्दिने चेतावनी दिएका छन्। इतपरपक्षले ओलीको आक्रोश बुझेको छ। इतरपक्षको निष्कर्ष के छ भने ओलीले चुनाव जिते तापनि भूगोलमा कमजोर बन्दै गएका छन्।
‘प्रतिनिधि वितरणमा ओलीले शक्ति लगाए। उनीहरूको दिमागमा पनि प्रहार गरे। तर भूगोलमा कमजोर बन्दै गएका छन्’, पोखरेल पक्षका एक नेता भन्छन्। पोखरेल पक्ष तत्काल रणनीतिक रूपमा अघि नबढे पनि १२ औँ महाधिवेशनमा बलियो बन्ने दाउमा छ। ‘हामी भूगोलको राजनीति गर्छौँ। असन्तुष्ट मत फर्काउने प्रयत्न गर्नेछौँ,’ पोखरेल पक्षका ती नेता भन्छन्, ‘अब आन्तरिक राजनीतिमा अस्तित्वको लडाइँ सुरु हुन्छ।’





