पालिकास्तरीय बाल कचहरीः बालविवाह अन्त्य गर्न माग

हिमाल प्रेस २९ मंसिर २०८२ ८:०६
6
SHARES
पालिकास्तरीय बाल कचहरीः बालविवाह अन्त्य गर्न माग

म्याग्दी- धवलागिरि गाउँपालिका-३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवर्द्धन र बालविवाह न्यूनीकरणका लागि १० बुँदे घोषणापत्र जारी भएको छ। बाल क्लबका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक सम्बद्ध संघसंस्था र सरोकारवालाहरूबीच गाउँपालिकामा बालबालिकासम्बन्धी समस्या र समाधानका उपायमा छलफल गरेर घोषणापत्र जारी गरिएको हो।

घोषणापत्रमा बालविवाह, विभेद, बाल मजदुर जस्ता सामाजिक कुसंस्कारका विरुद्ध सामूहिक आवाज उठाउन र त्यस्ता घटनाको न्यूनीकरणमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको परिपालनामा संवेदनशील र कार्यान्वयनमा प्रतिबद्ध रहने उल्लेख छ। घोषणापत्रका मुख्य प्रतिबद्धताहरू :

-विद्यालयमा बालमैत्री वातावरण र भौतिक संरचनालाई बालमैत्री बनाउने।
-विद्यालयमा सरकारले उपलब्ध गराउने सेनेटरी प्याडको गुणस्तरीयतामा ध्यान दिने।
-बालविवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याउने।
-गुणस्तरीय शिक्षा कायम गराउने।
-बालबालिकामा अन्तर्निहित प्रतिभा प्रस्फुटनको अवसर दिलाउने।
-विद्यालयमा दिवा खाजालाई पोषणयुक्त र आत्मनिर्भर बनाउन विद्यालयमै करेसाबारी बनाउने।
-विद्यालय तथा समुदायमा हुने सबै किसिमका विभेद तथा भेदभावविरुद्ध शून्य सहनशीलताको रणनीति अपनाइने।
-गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ३ का अध्यक्ष देवेन्द्र रोकाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बालअधिकारको संरक्षण र बालविवाह न्यूनीकरणमा जोड दिएको बताए। उनले दिवाखाजा र छात्राबासका लागि आवश्यक तरकारी विद्यालयमै उत्पादन गर्ने अभ्यास सुरु भएको जानकारी दिए।

प्रकाशित: २९ मंसिर २०८२ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast