वाइडबडी प्रकरणमा सर्वोच्च पुग्यो अख्तियार

हिमाल प्रेस १६ मंसिर २०८२ २०:५४
8
SHARES
वाइडबडी प्रकरणमा सर्वोच्च पुग्यो अख्तियार

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

उक्त मुद्दामा केहीलाई मात्र दोषी ठहर गरेको र धेरैलाई सफाइ दिएको भन्दै विशेष अदालतको फैसलाविरुद्ध आज (मंगलबार) आयोगले सर्वोच्चमा पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उक्त मुद्दामा तत्कालीन पर्यटनमन्त्री जीवनकुमार शाहीसहित नेपाल वायुसेवा निगम सञ्चालक समितिका पदाधिकारी र १४ जना कर्मचारीलाई सफाइ दिइएको थियो। विशेष अदालतले आरोपी ११ जनालाई भने दोषी ठहर गरेको थियो।

उक्त फैसला त्रुटिपूर्ण रहेको जनाउँदै अख्तियारले त्यसलाई बदर गरी सबैलाई सजाय हुनुपर्ने मागसहित आज पुनरावेदनपत्र दर्ता गरेको प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

२०८० चैत २२ गते अख्तियारले आरोपपत्र दायर गरेको थियो भने गत मंसिर २० गते विशेष अदालतले फैसला सुनाएको थियो।

विमान खरिद प्रकरणमा पूर्वमन्त्री शाही, पूर्वसचिव शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगानासहित २४ जना नेपाली तथा ६ विदेशी र विमान आपूर्तिकर्ता दुई विदेशी कम्पनीविरुद्ध विरुद्ध मुद्दा चलाइएको थियो। मुद्दामा एक अर्ब ४७ करोड १० लाख ८५ हजार मागदाबीसहित मुद्दा दायर भएको थियो।

प्रकाशित: १६ मंसिर २०८२ २०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast