शिक्षक सरुवा निर्देशिका ‘तानाशाहजस्तै’ भएको गिरीको टिप्पणी (भिडियो कुराकानी)

हिमाल प्रेस ३ मंसिर २०८२ ११:१२
96
SHARES
शिक्षक सरुवा निर्देशिका ‘तानाशाहजस्तै’ भएको गिरीको टिप्पणी (भिडियो कुराकानी)

काठमाडौँ- नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले शिक्षक सरुवा निर्देशिका २०८१ विद्यालयमैत्री हुन नसकेको टिप्पणी गरेका छन्। आइतबार हिमालप्रेससँगको कुराकानीमा उनले जेष्ठताका आधारमा मात्र सरुवा गर्दा विद्यालयको वास्तविक आवश्यकता पूरा नहुने र शिक्षकको मानवीय पक्ष बेवास्ता भएको बताए।

अध्यक्ष गिरीका अनुसार निर्देशिकाले विद्यालयमा विषयअनुसारको शिक्षक व्यवस्थापनमा समस्या बढाएको छ। ‘जेष्ठताको आधारमा सरुवा हुँदा एउटै विद्यालयमा विज्ञान वा अरू विषयका पाँच–पाँच जना पुग्ने तर कतै एक जनासम्म नपुग्ने स्थिति बनेको छ,’ उनले भने, ‘विद्यालयमा अत्यावश्यक विषयका शिक्षक नपुग्दा गुणस्तरमै असर परेको छ।’

गिरीले शिक्षक पनि ‘मान्छे’ भएको र उनीहरूको पारिवारिक तथा व्यक्तिगत परिस्थितिलाई ध्यान दिनुपर्नेमा बताए। ‘कोही अपांगता भएका, कोही गर्भवती वा सुत्केरी, कोहीको परिवारमा बिरामी, कोही श्रीमान–श्रीमती टाढाटाढा कार्यरत। यस्ता विशिष्ट अवस्थालाई निर्देशिकाले समेट्नैपर्छ,’ उनले भने।

उनका अनुसार सरकारले दरबन्दी नदिँदा धेरै विद्यालयले निजी स्रोतबाट शिक्षक राख्न बाध्य भएका छन्। तर जेष्ठतामै आधारित सरुवाले विद्यालयले आवश्यक विषयका शिक्षक ल्याउने अवसर समेत खोसिएको गुनासो उनले गरे।

‘विद्यालयले चाहिने विषयका शिक्षक मागिरहेको हुन्छ तर जेष्ठताको कारण फेरि उही विषयका शिक्षकहरू नै क्रमिक रूपमा आउँछन्’ उनले भने,‘यसरी निर्देशिकाले विद्यालयको आवश्यकता र शिक्षाको गुणस्तर दुवैमा नकारात्मक असर पारेको छ।’

अध्यक्ष गिरीले विद्यालयको आवश्यकता र शिक्षकको विशिष्ट परिस्थितिलाई प्राथमिकतामा राखेर सरुवा व्यवस्था लचिलो बनाउन सरकारसँग आग्रह गरे। ‘अहिलेको निर्देशिका तानाशाहजस्तै भयो। जहाँ नियुक्ति भयो त्यहीँ अनिवार्य बस्नुपर्छ जस्तो। शिक्षामा मानवता र व्यवहारिकता दुवै आवश्यक छ,’ उनले भने।

भिडियो

प्रकाशित: ३ मंसिर २०८२ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast