शिक्षामन्त्री पुनले बोलीमा लगाम लगाउनुपर्छ : सोमनाथ गिरी  

हिमाल प्रेस २ मंसिर २०८२ १२:५२
182
SHARES
शिक्षामन्त्री पुनले बोलीमा लगाम लगाउनुपर्छ : सोमनाथ गिरी  

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको पछिल्ला अभिव्यक्तिहरूले शिक्षा क्षेत्र नै अस्थिर देखिने भन्दै नेपाल शिक्षक संघका संघीय कार्यसमिति अध्यक्ष सोमनाथ गिरीले आपत्ति जनाएका छन्। हिमालप्रेससँग आइतबारको संवादमा गिरीले मन्त्री पुनको बोली र व्यवहारले देशको प्रतिष्ठामै आँच पुगेको समेत टिप्पणी गरे।

मन्त्रीको पदमा बसेको व्यक्तिले ‘विश्वविद्यालयमा भूकम्प ल्याइदिन्छु’ जस्ता अतिशयोक्तिपूर्ण अभिव्यक्ति शिक्षाकर्मीका लागि लाजमर्दो भएको गिरीले टिप्पणी गरे। ‘शिक्षामन्त्रीले काम गरेर देखाउने हो, भूकम्प ल्याउने होइन,’ गिरीले भने, ‘मन्त्रीले बोल्ने क्रममा करेक्सन गर्नुपर्ने अवस्था आउनु देशको शिर निहुरिने कुरा हो।’ गिरीका अनुसार मन्त्री पुनले पछिल्ला दिनमा पेसागत संगठनहरूलाई खारेजी गर्नेजस्तो अभिव्यक्ति दिएपछि शिक्षकहरू थप असन्तुष्ट भएका छन्।

उनले संविधानको धारा ३४ को उपधारा ३, श्रम ऐन तथा ट्रेड युनियन ऐनले शिक्षकसहित सबै पेसागत समूहलाई संगठन बनाउने, सौदाबाजी गर्ने र पेसागत हकहितका लागि लड्ने अधिकार सुनिश्चित गरेको बताए। ‘यति स्पष्ट व्यवस्था हुँदाहुँदै पनि ‘यी संगठन नरहने’ भनेर एकपक्षीय घोषणा गर्नु मन्त्रीको अज्ञानता हो,’ अध्यक्ष गिरीले भने।

मन्त्रालयको औपचारिक प्रक्रियाबाट नभई व्यक्तिगत लेटरप्याडमार्फत संवेदनशील विषयमा अभिव्यक्ति दिनु कानुनसम्मत नहुने गिरीको तर्क छ। यिनै कारणले नेपाल शिक्षक संघ, नेपाल शिक्षक महासंघलगायत विभिन्न संगठनहरूले प्रतिवादस्वरूप विज्ञप्ति जारी गरेको गिरीले बताए।

शिक्षामन्त्री पुनले कानुनी आधार नबुझीकन बारम्बार गलत अभिव्यक्ति दिने प्रवृत्ति बढ्दै गएको गिरीको आरोप छ। उनका अनुसार मन्त्रीले विषयको वास्तविकता नबुझीकन पत्रकारको क्यामेरा देख्नेबित्तिकै बोलिदिने गरेका छन्। केही समयअघि पत्रकारले अस्थायी तथा करार शिक्षक हटाउने सरकारी निर्णयबारे प्रश्न गर्दा मन्त्री पुनले त्यो निर्णय ‘शिक्षकमा पनि लागु हुन्छ’ भनेर सार्वजनिक रूपमा भनेका थिए। तर त्यसको अघिल्लो दिन शिक्षक संगठनहरूले मन्त्रालयमै गएर ध्यानाकर्षणपत्र बुझाएको जानकारीअनुसार सो निर्णय निजामती सेवाका लागि मात्र थियो।

‘आफ्नै मन्त्रालयबाट पत्र गएर आएको विषय पनि मन्त्रीलाई थाहा नहुनु गम्भीर हो,’ गिरीले भने। उक्त अभिव्यक्तिपछि उत्पन्न विवादका कारण मन्त्री पुनले आफूले दिएको अभिव्यक्ति फिर्ता लिनुपरेको प्रसंग पनि उनले स्मरण गरे।

प्रकाशित: २ मंसिर २०८२ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast