काठमाडौँ- नेकपा एमालेको एघारौँ महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध ईश्वर पोखरेल र योगेश भट्टराई मैदानमा उत्रन तत्पर देखिएका छन्। पार्टी विधान आफू अनुकूल संशोधन गरेर तेस्रोपटक अध्यक्ष बन्न लागेका ओलीविरुद्ध पोखरेलले अध्यक्षमा लड्ने तयारी गरेको उनी निकट नेताहरूले जानकारी दिएका हुन्। भट्टराईले भने महासचिवमा उठ्न छलफल थालेका छन्।
नेकपा एमालेको ११ औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुँदै छ। गत भदौमा विधान महाधिवेशन गरेर विधानका विषय टुंग्याएको एमालेले मंसिरमा नेतृत्व चयन गर्न लागेको हो।
नेतृत्वका आकांक्षी एमाले नेताहरू आफू निकट नेता र प्रतिनिधिसँग भेट्न व्यस्त भएका छन्। केन्द्री नेतृत्व चयनमा दुई प्यानल बन्ने प्रस्ट रहेको दाबी नेताहरूको छ।
अध्यक्षमा केपी शर्मा ओलीले उम्मेदवारी दिने निश्चित छ। दुई कार्यकाल एमाले अध्यक्ष चलाइसकेका ओलीले आफू तेस्रो पटक अध्यक्ष बन्नकै लागि पार्टी विधान संशोधन गरेका छन्। ओली सर्वसम्मत अध्यक्ष बन्न नपाउने निश्चित छ।
एमाले नेताहरूका अनुुसार अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिने भएका छन्। पोखरेललाई पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थन रहेको दाबी नेताहरू गर्छन्।
‘म वातावरण बुझिरहेको छु। हेरौँ के हुन्छ!’, पोखरेलले हिमालप्रेससँग भने। उपाध्यक्ष युवराज ज्ञवालीले भने अध्यक्षमा पोखरेलकै सम्भावना रहेको बताए। पछिल्लो समय ज्ञवाली पनि भण्डारीका पक्षमा खुलेका छन्।
‘महाधिवेशन आउन बाँकी छ। त्यसैले नयाँ टिम बन्दै छ’, ज्ञवालीले भने। पोखरेल अहिले जिल्लास्तरका नेताहरूसँग संवादमा छन्।
ओलीको शैलीको विरोध गरिरहेकाको समर्थन लिने दाउमा पोखरेल पक्ष छ। यसपटक एमालेमा पदाधिकारीको संख्या कम छ। विधान महाधिवेशनले १९ पदाधिकारीबाट घटाएर १५ मा पु¥याएको छ। यसले पनि एकै पदमा धेरै प्रतिस्पर्धी बन्ने सम्भावना छ। अहिलेसम्म अध्यक्षबाहेक अन्य पदमा उम्मेदवारी कसले दिने निश्चित छैन।
महासचिवमा योगेशको तयारी
अध्यक्षपछि महासचिव पदमा ककसले उम्मेदवारी दिएलान् भन्ने चासो छ। एमाले वृत्तमा महासचिव पदमा हालका महासचिव शंकर पोखरेल नै दोहोरिने सम्भावना छ। संस्थापनबाट शंकर एक्ला आकांंक्षी भने होइनन्। ओली खेमाबाटै उपमहासचिव प्रदीपकुमार ज्ञवालीले महासचिवमा आकांक्षा देखाएका छन्। त्यसो त, पूर्वसञ्चारमन्त्री एवं हालका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पनि महासचिवकै आकांक्षी रहेको स्रोतको दाबी छ।
कुनै बेला विद्या भण्डारी निकट मानिएका उनी ओली नेतृत्वकै सरकारमा सामेल थिए। त्यसबेला ओली निकट रहेका गुरुङ अहिले भने ओलीको गतिविधिसँग असन्तुष्ट रहेको नेताहरू बताउँछन्। तर अहिले उनी महासचिव हत्याउने दाउमा लागेको उनी निकट एक नेताले बताए। पोखरेल पक्षबाट हालका सचिव योगेश भट्टराईले महासचिवमा उम्मेदवारी दिने तयारी गरेका छन्। इतरपक्षबाट उनले उम्मेदवारी दिने लगभग निश्चित रहेको बताउँछन्। भट्टराईले भने अहिले नै निश्चित नभएको बताए। ‘म सरसल्लाहमै छु। म के हुन्छ,’ उनले भने।
‘विष्णु कमरेडले ईश्वर कमरेडलाई नै सहयोग गर्नुहुन्छ’
एमाले केन्द्रबाटै दुई खेमामा विभक्त छ। एकातिर ओली र अर्कातिर ईश्वर छन्। हालसम्म ओली पक्षमा उपाध्यक्ष गुरु बरालसहितका नेता छन्। यता इतरपक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेसहितका नेता छन्। केही नेता अहिले पनि मौन छन्।
माओवादीबाट एमाले प्रवेश गरेका नेताहरू मौन रहेको नेताहरू सुनाउँछन्। यसअघि ओली नेतृत्वकै सरकारमा रहेका विष्णु पौडेल पनि विपक्षी खेमामै रहेको इतरपक्षधर नेताको दाबी छ। अघिल्लो सरकारमा अर्थमन्त्री रहेका पौडेल नै यसअघि ओलीका निकटस्थ थिए। गएको विधान सम्मेलनमा ओलीको पक्षधरता देखाउँदै दुई कार्यकाल पद्धति हटाउन उनकै अग्रसरता थियो।
विधान महाधिवेशनको विधान संशोधन प्रस्ताव नै पौडेलले लगेका थिए। अब भने विष्णु इतरपक्षमै खुलेको नेताहरू बताउँछन्। ‘ओलीजीलाई म विष्णु कमरेडले सहयोग गर्नुहुन्न। उहाँको सहयोग ईश्वर कमरेडलाई नै रहन्छ’, इतरपक्षका एक नेताले भने। एमाले उपाध्यक्ष ज्ञवाली भने महाधिवेशन प्रतिनिधि छनोट पछि महाधिवेशनको माहोल बन्दै जाने बताउँछन्। एमालेले आगामी मंसिर १३ गते देशभर महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ।
जेनजी आन्दोलनपछि एमाले अध्यक्ष ओली पार्टीभित्रै आलोचित छन्। भदौ २३ गते जेनजी आन्दोलनका काठमाडौँ र इटहरीमा भएको प्रदर्शनमा स्कुलको पोसाकमा रहेका किशोरसहित १९ जनाको युवाको ज्यान गएको थियो। उक्त घटना ओलीकै कारण भएको आन्दोलनकारीले लगाइरहँदा पार्टीभित्र पनि ओलीमाथि घटनाको जिम्मेवारी लिन दबाब बढेको छ। यद्यपि उनी उक्त घटनाको जिम्मेवारी लिन तयार छैनन्। साथै प्रधानमन्त्री पदबाट राजीनामा दिएर भदौ २४ गते हेलिकोप्टरमा भागेका ओली आफूलाई देशमा कसैको भय नरहेको बताउँदै आएका छन्।
ओलीमाथि बढ्दो असन्तुष्टि
एमालेमा ओलीको पछिल्लो गतिविधिबारे पनि टिप्पणी भइरहेको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डेले धरहरा बनाएको जिम्मा लिने सरकारले आन्दोलनमा गोली कसले चलायो थाहा छैन भन्न नमिल्ने भन्दै ओलीमाथि भदौ २३ र २४ गतेको घटनाको जिम्मेवारी लिन दबाब दिएका छन्।
चितवनमा बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘भदौ २३ गते १९ जना मान्छे मार्नेगरी गोली चलाइयो, त्यो कुरा गलत हो। एमाले सरकारले गरेकाले तत्कालीन सरकार दोषी हुन्छ।’पाण्डेले ओलीले धरहरा आफूले बनाएको भनेर जिम्मेवारी लिने गरको तर गोली चलाएको जिम्मेवारी लिन नसकेको बताए। ‘धरहरा कसले बनाएको – मैले बनाएको, फलानो कसले बनाएको – मैले बनाएको भन्ने। गोली कसले चलायो, त्यो त थाहा छैन, त्यसो भन्न मिल्दैन, उनले भने।
साथै उनले भदौ २३ गते भएको मानवीय क्षति रोक्न नसकेको विषयमा तत्कालीन ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरूमा छानबिन गर्नुपर्ने बताए।




