फाइल तस्बिर/ अल नेपाल हाइकिङ
                                            दोलखा– गौरीशंकरर गाउँपालिका–९ स्थित गौरीशंकर तथा रोल्वालिङ हिमशृंखलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै हिमपहिरोमा परेका छन्। हिमपहिरोमा परेर पाँच विदेशीसहित दुई नेपालीको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले हिम पहिरोमा परेर ७ जनाको मृत्यु भएको जानकारी दिए। वेपत्ताको खोजी कार्य जारी रहेको उनले बताएका छन्। यसअघि १५ जना रहेको बताइए पनि आरोहण दलमा १२ रहेको थापाले बताए।
‘ड्रिमर डेस्टिनेसन’ आरोहण कम्पनिको नेतृत्वमा विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह सोमबार बिहान ९ः०० बजेतिर यलुङरीनजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।
महतोका अनुसार चार घाइतेलाई उद्धार गरेर बेस क्याम्पमा ल्याइएको उनले जानकारी दिए। उनले हिम पहिरोमा पुरिएका व्यक्तिहरूको खोजी कार्य चुनौतीपूर्ण रहेको जिकिर गरे। ‘वेपत्ता भएकाहरूको खोजीका लागि पहल सुरू भएको छ। हेलीकप्टर पठाइएको छ तर मौसमका कारण भोलि बिहानबाट मात्रै काम गर्न सक्ने देखियो,’ उनले भने।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

                                             
                                             
                                             
                                             
                                             

