काठमाडौँ- पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा बिहीबार हिमपहिरो जाँदा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका छन्।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको विज्ञप्तिअनुसार सम्पर्कविहीन टोलीमा निर्मल पुर्जाको नेतृत्वमा पाँच नेपाली पर्वतारोही रहेका छन्।
टोलीमा हुन्जाका पाकिस्तानी आरोही सोहेल साखी, ओमानकी आरोही नाथिरा, अमेरिकी आरोही म्यालोरी गाइस, चिनियाँ आरोही श्री वाङ र अर्का एक विदेशी नागरिक पनि रहेका छन्।
एसीपीले हिमपहिरोपछि सम्पूर्ण टोलीसँग सम्पर्क टुटेको जनाएको छ। उद्धारका लागि हेलिकप्टरसहित उपलब्ध सबै स्रोतसाधन परिचालन गर्न अधिकतम प्रयास भइरहेको पनि क्लबले जनाएको छ।
ब्रड पिक विश्वको १२औँ अग्लो हिमाल हो। यो पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित छ र ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये प्राविधिक रूपमा चुनौतीपूर्ण हिमालका रूपमा चिनिन्छ।
नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जाले यस सिजन सुरुमा ब्रड पिक आरोहण गर्ने योजना बनाएका थिएनन्। उनले जुलाई २७ मा सामाजिक सञ्जाल एक्समा लेख्दै आफ्नो मुख्य लक्ष्य ग्यासरब्रुम-२ (जी-२) आरोहण रहेको बताएका थिए।
तर, ब्रड पिक सफलतापूर्वक आरोहण गर्न सके अक्सिजनबिनै विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल दुई पटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्ने उपलब्धिबाट आफू केवल चो ओयू हिमालको आरोहण मात्र टाढा रहने भएकाले ब्रड पिक आरोहण गर्ने निर्णय गरेको उनले उल्लेख गरेका थिए।


