काठमाडौँ- पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङको शुक्रबार धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।
गोरखाको लाप्राक निवासी गुरुङको शव बिहीबार उनका सहकर्मी पर्वतारोही मिङ्मा डेभिडले पाकिस्तानबाट नेपाल ल्याएका थिए।
अन्त्येष्टिअघि केही समयका लागि श्रद्धाञ्जली अर्पण गर्न शव राखिएको थियो। त्यसपछि स्वयम्भूमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।
अन्तिम श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले गुरुङको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।
पर्यटनमन्त्रीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, पर्वतारोही तथा शुभेच्छुकहरूले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।
गुरुङ नेपालका अनुभवी र भरपर्दा पर्वतारोहण गाइडमध्ये एक मानिन्थे। उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण १० पटक गरेका थिए भने ८ हजार मिटरभन्दा अग्ला हिमालका २८ वटा सफल आरोहण पूरा गरेका थिए।
उनको असामयिक निधनले गोरखाको लाप्राक गाउँ मात्र नभई समग्र नेपाली पर्यटन तथा पर्वतारोहण क्षेत्रलाई स्तब्ध बनाएको छ।
हिमपहिरोमा निर्मल पुर्जालगायत ६ नेपाली पर्वतारोहीसहित १० जनाको ज्यान गएको थियो।


