
चितवन- नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनका क्रममा जनधनको क्षति हुँदा पनि निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमा कुनै पश्चताप नभएको बताएका छन्। बिहीबार बिहान चितवनको भरतपुरमा पार्टीका नेताकार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले भने,‘उनको कारण यति धेरै जनधनको क्षति भयो। तर,आज पनि कुनै पश्चाताप छैन।’
सामाजिक सञ्जालमार्फत संगठित भएका युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’ को संकेतका रूपमा लिँदै विगतदेखि माओवादीले उठाउँदै आएका मागहरूसँग मेल खाने बताएका छन्। ‘युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्। हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो’, प्रचण्डले भने।
संयोजक प्रचण्डले २३ गते राजधानीमा भएको आन्दोलनको क्रममा देखिएको ‘गम्भीर सुरक्षा लापरबाही’ लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री तथा सरकार प्रमुखको भूमिकाको आलोचना गरे। ‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो। तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो। गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो’, प्रचण्डको भनाइ छ।