काठमाडौँ– साहित्यकार तुलसी आचार्यद्वारा लिखित उपन्यास ‘स्वप्नभूमि’को लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रबार भएको कार्यक्रममा महानायक राजेश हमालको प्रमुख आतिथ्यमा लोकार्पण भएको हो।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकमा कार्यक्रममा सहभागी समीक्षकहरूले आप्रवासी बन्न पुगेका नेपालीको सपना र भोगाइलाई समेटिएको बताएका छन्।
कार्यक्रममा बोल्दै अभिनेता हमालले नेपाली समुदायको भोगाइ पुस्तकको विषयवस्तु बनेकोबारे चर्चा गरे। उपन्यासमा पात्रको स्वप्नभूमि अमेरिका रहेको र उसले त्याहाँ भोगेका अनुभवलाई नै पुस्ततको कथा बनेको उनले बताए।
‘धन र सुख प्राप्त हुन्छ भनेर विदेशिएका नेपालीहरूले बाहिर भएपछि नेपालको महत्त्व र आफ्नो खुसी बुझेर देश फर्केको एक युवक कथा भनिएको छ,’ उनले भने, ‘विदेशमा बस्ने नेपालीले भोगेको संस्कृति र नेपाली समाजमा कामको आधारमा विभेदलाई पनि उजागर गर्न खोजिएको छ।’
व्यक्तिले आफ्नो सपनाको देश जन्मेकै ठाउँलाई मान्नुपर्छ भन्ने नभएको उनको तर्क छ। ‘स्वप्नभूमि र जन्मभूमि यहीं हुनुपर्छ भन्ने छैन। यो व्यक्तिको सोचमा भर पर्ने कुरा हो,’ उनले भने। सपनाको भूमि जहाँ भए पनि आफू हुर्केको परिवार, समाज र संस्कार, संस्कृति र राष्ट्रिय धर्मलाई मानिसले भुल्न नहुने उनको भनाइ छ।
स्वप्नभूमिको लागि प्रविधिले सम्पन्न बन्न खोज्दा आफ्नो खुसीलाई नत्याग्न उनले अनुरोध गरे। युवाको कथा रहेको पुस्तकमा अहिलेको नेपालीहरूको सपनाको घर विदेश भएको र उतै रमाउन चाहानेको कथा बोलेको सकालोचकहरूले व्याख्या गरेका छन्। संसारको जुनसुकै कुनामा गए पनि अन्तिममा नेपाल नै फर्केर आउनुपर्ने कथा समेटिएको छ।
नेपालीको सपनाको देश अमेरिकामा पुगेर गरिने दु:ख आप्रवासीको पिडालाई समेटिएको समीक्षक राजकुमार बानीयाँले बताए। साहित्यमार्फत देशमा केही गर्न सकिन्छ भन्ने भाव उपन्यासको सन्देश बनेको उनको बुझाइ छ।
समालोचक कुमारी लामाले लाखौं संख्यामा विदेश पलायन भएका नेपाली युवाको कथा र युवाले बुनेको महत्त्वाकांक्षी सपनाको संघर्षलाई पुस्तकले देखाउन खोजेको बताइन्। महिला पात्रको महत्त्व नभएको र प्रेमिकाको रूपमा मात्र प्रयोग गरेकोमा उनले लेखकलाई प्रश्न गरिन्।
‘महिलालाई सौन्दर्य भोक र यौनिक सुख प्राप्तिको रूपमा मात्र प्रयोग छ। नारी भनेको पुरुषको कठपुतली भएको देखाएको छ,’ उनले भनिन्।
लाखौं नेपाली युवाको प्रतिनिधित्व गरेको पुस्तक सान्दर्भिक भए पनि उपन्यासमा हुनुपर्ने काल्पनिकताको उडान नभएको उनले बताइन्। कथा पुरातन पनि नभएको र नयाँ पनि नभएको उनको भनाइ छ।
समालोचक बानियाँले आफू दुखी भएर परिवारलाई खुसी पार्ने जीवनदर्शनको व्याख्या गर्न खोजेको बताए। ‘पौरखी गर्ने बाटो धेरै छ। तर नेपालीको गन्तव्य खाडी र अमेरिका बनेको छ,’ उनले भने।
उपन्यासमा लालित्य र खराब पात्र कम भएको तर्क उनले बताए। ‘सरल भाषा भएको तर एकोहोरो दीपक नामक पात्रलाई मात्र प्रष्ट्याएको छ,’ उनले भने।
२१ वर्षको उमेरमा स्नातक तहको अध्ययन पूरा गरी अमेरिका पुगेका लेखकको कथा रहेको पनि समीक्षकहरूले आकलन गरे।
लेखक तुलसी आचार्यले डीभी र विद्यार्थी भिसामा अमेरिका गएकाको नेपालीको कथालाई आफूले समेटेको बताए। पाठकबाट आएको सुझावलाई सहर्ष स्वीकार गरी आगामी दिनमा सुधार गर्ने उनले जनाए। उनको यो दोस्रो उपन्यास हो। पहिलो उपन्यास ‘मोचन’ गतवर्ष प्रकाशित भइसकेको छ।