
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले देशभरका विद्यालयमा योग्य र सक्षम प्रधानाध्यापक नियुक्ति गर्न कार्यविधि बनाउने तयारी थालेका छन्। साथै विद्यार्थी संख्या अत्यन्त न्यून रहेका विद्यालयहरू मर्ज (गाभ्ने) गर्ने नीति पनि अघि बढाइने भएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका कर्मचारीसँग बुधबार गरिएको छलफलमा मन्त्री पुनले विद्यालयमा दक्ष नेतृत्व र व्यवस्थापन नहुँदा शिक्षा प्रणाली कमजोर बनेको भन्दै योग्यता, कार्यदक्षता र पारदर्शी प्रक्रियाबाट प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्था बनाउन निर्देशन दिएका हुन्।
उनले विद्यार्थी संख्या न्यून रहेका विद्यालयहरूलाई मर्ज गरेर स्रोतको सदुपयोग र शिक्षाको गुणस्तर बढाउनुपर्ने बताए। ‘संसाधन र जनशक्ति दुवै सीमित अवस्थामा छौं, त्यसैले विद्यार्थी संख्या अनुसार विद्यालयहरूको पुनर्संरचना अपरिहार्य छ,’ मन्त्री पुनको भनाइ थियो।
अनलाइन सिकाइलाई प्रभावकारी बनाउन उनले डिजिटल शैक्षिक सामग्री निर्माणमा जोड दिने कार्यक्रम बनाउन निर्देशन दिएका छन्।
यसअघि मन्त्री पुनले पाठ्यक्रम विकास केन्द्रमा पनि विस्तृत छलफल गर्दै सामुदायिक र संस्थागत विद्यालयका पाठ्यक्रम विकासमा गम्भीर हुन निर्देशन दिएका थिए।
उनले मातृभाषाका पाठ्यपुस्तकहरूको विकासमा सहयोग गर्न, पाठ्यपुस्तकमा नैतिक, व्यावहारिक, इतिहाससम्बन्धी शिक्षा समावेश गर्न र कक्षा ९ र १० मा १०० अंकको कम्प्युटर विषय अनिवार्य गरिने भएकाले सोहीअनुसार पाठ्यक्रम परिमार्जन गर्न निर्देशन दिएका छन्।