
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवंं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डु पुगेका छन्। नेपाली सेनाको ब्यारेकबाट बाहिरिएर उनी गुण्डु पुगेका हुन्।
जेनजी आन्दोलन चर्किएपछि २४ भदौमा ओली राजीनामा दिएर प्रधानमन्त्री निवास बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर सैनिक ब्यारेक पुगेका थिए। ओली सैनिक ब्यारेकबाट गुण्डुस्थित डेरा फर्किएका हुन्। बालकोटस्थित उनको निजी निवास प्रदर्शनकारीको आगजनीबाट पूर्णरूपले नष्ट भएपछि गुण्डुमा डेरो खोजिएको हो।
पूर्वमन्त्री एवं एमाले नेता महेश बस्नेतले एमाले अध्यक्ष ओली गुण्डुमा डेरा लिएर बसेको सामाजिक सञ्जालमार्फत जनाएका छन्।
भ्रष्टाचारका विरूद्ध र सामाजिक सञ्जाल खुला गर्न भन्दै जेनजीले २३ भदौमा काठमाडौँसहित देशभर प्रदर्शन गरेको थियो। प्रदर्शन हिंसक भएपछि प्रहरीको गोली लागेर ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु भएको थियो।
आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन चर्को दबाब परेको थियो। तर, उनले राजीनामा नदिई आन्दोलनमा जेनजीमात्रै नभएर बाह्य शक्तिको चलखेल रहेको सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा भनेका थिए। राजीनामा नदिने बरू परिस्थितिको सामना गर्ने रणनीति ओलीको थियो।
तर, २४ भदोमा सुरक्षा निकायसमेत पछाडि हटेको र प्रदर्शनकारीले बालुवाटार घेरेपछि ओली सेनाको हेलिकप्टर चढेर ब्यारेक पुगेका थिए।